बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ  । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो सडक पुनःनिर्माणको प्रगति भने निराशाजनक छ । 

 

बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन र  दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । सडक विस्तारको ९० प्रतिशतभन्दा बढी काम सक्नुपर्ने समयमा बल्ल करीब १० प्रतिशत काम सकिएको छ ।  

 

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले दुवै खण्डको ठेक्का पाएर काम अगाडि बढाइरहेको छ । 

 

सडक विस्तार सुरु भएदेखि नै कामले गति लिन सकेको छैन । कछुवाका गतिमा अगाडि बढेको सडक विस्तारको काम सुरु भएदेखि यात्रुले सास्ती खेप्दै आइरहेका छन् । सडक विस्तारको काम भएसँगै गैँडाकोट क्षेत्रमा साना पक्की पुल (माइनर ब्रिज) निर्माणका लागि सडक डाइभर्सन गर्ने काम सुरु भएको थियो । सडक विस्तारको काम सुरु भएपछि बिग्रिएको –भत्किएको बाटो मर्मतको कामसमेत ठप्प भयो । 

 

सडक भत्किएका ठाउँमा मर्मत नहुँदा यात्रु मात्रै नभएर स्थानीयवासीले समेत सास्ती खेप्दै आएका छन् । यस खण्डमा दैनिक सवारीसाधन चलाउने चालक तथा साना व्यवसायी बाटाको कारण दिक्क भएको स्थानीय व्यवसायी विवेक थापाले बताउनुभयो । नारायणगढबाट अटोमा सामान ल्याएर मुकुन्दपुरमा व्यवसाय गर्दै आउनुभएका उहाँले सो सडकका कारण दैनिक आवतजावतमा निकै समस्या परेको गुनासो गर्नुभयो । “यो सडक दैनिक हिँड्नुपर्छ, सामानसहितको अटो डाइभर्सनमा बिगिँ्रदा समस्या पनि हुने गरेको छ”, थापाले भन्नुभयो, “सडकको दुरवस्थाका कारण मेरो अटोसमेत पटक पटक बिग्रिन थालेको छ ।” 

 

बुटवल– नारायणगढ सडक खण्डको वन क्षेत्रमा सबैभन्दा बढी समस्या भएको उहाँको भनाइ छ । खाल्डाखुल्डीमा सवारीसाधन गुडाउँदा चाँडै बिग्रिने तथा सवारीसाधनमा समस्या आइरहने थापाले बताउनुभयो । कामका लागि मोटरसाइकलमा यात्रा गर्न नै अप्ठ्यारो हुने गरेको स्थानीयवासी शङ्कर आचार्यले गुनासो गर्नुभयो । “नजिकै नारायणगढ बजार भएका कारण किनमेलमा निस्कन तथा कार्यालय जानका लागि सधैँ मोटरसाइकल प्रयोग गर्ने गरेको छु”, आचार्यले भन्नुभयो, “धुलाका कारण मोटरसाइकलमा यात्रा गर्नै समस्या हुने गरेको छ ।” विस्तारको क्रममा रहेको सडक चाँडै निर्माण भएर सहज यात्रा गर्न पाउने दिन आशामा आफूहरुको दिन बित्ने गरेको आचार्यले बताउनुभयो । 

 

“यो सडक भएर दैनिक हिँड्नुपर्छ, जङ्गल क्षेत्रमा त बिग्रिएको सडकमा पानी समेत हाल्दैनन्”, आचार्यले भन्नुभयो, “जसका कारण धुलो उडेर मोटरसाइकल चलाउनै समस्या हुन्छ भने शरीरमा लगाइएको लुगा पनि मैलो हुन्छ ।” निर्माणाधीन सडक भएर यात्रा गर्ने यात्रका साथै स्थानीयवासी धुवाँ र धुलोका कारण आजित भएका छन् । सडक विस्तारका क्रममा केही स्थानमा पानी हालेर धुलो उड्न नदिइने गरेको भए पनि सबै ठाउँमा पानी नहाल्दा समस्या हुँदै आएको छ । 

 

पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उड्ने समस्याले राजमार्ग नजिक घर हुने बासिन्दा तथा व्यापारीलाई धेरै असर गर्ने गरेको गैँडाकोट–१० का व्यवसायी विष्णुप्रसाद पौडेलले बताउनुभयो । सडकबाट उडेको धुलो पसलमा गएर थुपिँ्रदा व्यापार व्यवसायमा समेत प्रत्यक्षरुपमा असर परेको पौडेलको भनाइ छ । “जङ्गल नजिकै हाम्रो पसल छ, यही ठाउँमा धेरै स्थानमा डाइभर्सन निर्माण गरिएका कारण पनि असाध्यै धुलो उड्ने गरेको छ”, पौडेलले भन्नुभयो, “सडकमा उडेको धुलो पसलमा आउँदा ग्राहकसमेत पसलमा किनमेलका लागि आउन छाडिसकेका छन् ।” 

 

सडक विस्तारको काम सुरु भएको केही महिनापछि नै कोभिड–१९ को महामारीका कारण सडक निर्माण प्रभावित बन्न पुग्यो । पहिलो लहरका बेलामा सडक विस्तारको काम निकै प्रभावित भएको थियो । सडक विस्तारमा खटिएका मजदुरले बेलाबेलामा विभिन्न माग पनि राख्दै निर्माणको काम नै ठप्प पारे । राष्ट्रिय गौरवको आयोजना बुटवल–नारायणगढ सडक विस्तारमा ढिलाइ हुँदा बर्खामा बाढीका कारण डाइभर्सन बग्नाले समेत यात्रुले निकै दुःख पाएका थिए । पटक–पटक डाइभर्सन नै बगेर  राजमार्ग बन्दको सास्ती पनि धेरै बेहोर्नुपरेको छ ।  समय हुँदा काममा आलटाल र ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले अब निर्माणको म्याद थप्नुपर्ने भन्दै हारगुहार गरिरहेको छ । 

 

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुने क्रमको सुरुआत गरिएको थियो । एसियाली विकास बैंक९एडिबी०का ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी छ । दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट–दाउन्ने सडकखण्डमा पर्ने ६५ किमी खण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ । 

 

नेपालको पूर्वपश्चिम फैलेको ‘महेन्द्र राजमार्ग’ले  रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तीन जिल्लालाई छोएको छ । सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, निकास निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको नारायणगढ –बुटवल सडक योजनाका प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो । सडकको पूर्वी खण्डमा हालसम्म  रु ६५ करोड तीन लाख लाख मात्रै खर्च भएको जनाइएको छ । “समयमा निर्माणको काम नसक्ने भएपछि निर्माण कम्पनीले म्याद थपको माग गरेको छ”, योजना प्रमुख दिष्टीले भन्नुभयो, “म्याद थपका लागि सम्झौतामा भएको प्रावधानअनुसार निर्माण कम्पनीले म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरेको छ, यसबारे हामी अध्ययन गरिरहेका छौँ ।” 

 

सियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गरिने दिष्टीले बताउनुभयो । सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको हो । सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने होङ्सी जंक्सनमा वन्यजन्तु वारपार गर्ने गरी ओभर पास निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको दिष्टीले जानकारी दिनुभयो । “यहाँ ओभर पास निर्माण भयो भने यो नेपालमै पहिलो ओभर पास हुनेछ”, दिष्टीले भन्नुभयो, “सो क्षेत्र वन्यजन्तु हिँडडुल गर्ने महत्वपूर्ण मार्गका रूपमा रहेकाले ओभरपास निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको हो ।” 

 

नारायणगढ –बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ ।  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गल महाभारत पर्वत शृङ्खलासँग जोडिएका स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको उहाँको भनाइ छ । यहाँ उत्तर दक्षिण हुँदै बग्ने पानीको बहाबलाई राजमार्गले काटेको छ ।  भूबनावटका कारण राजमार्गका विभिन्न ठाउँमा साना कल्भर्ट (सेतुमार्ग) निर्माण भएका छन् । पछिल्लो समय सहरीकरणसँगै राजमार्गका छेउमै घर बन्दा कल्भर्ट तथा राजकुलो पुरिएका कारण बर्खामा समस्या थपिएको दिष्टीले बताउनुभयो । 

 

नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तर्गत पूर्वी खण्डमा १२ ठूला पुल (मेजर ब्रिज) र साना २२  (माइनर ब्रिज) बन्ने छन् । साना पुल सबै नयाँ बन्ने गरी निर्माणको काम अगाडि बढेकामा अहिले १५ वटाको काम भइरहेको छ । “ठूला पुलको बेसमेन्टको काम सुरु भएको छ । त्यस्तै साना पुलमध्ये सात वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ”, दिष्टीले भन्नुभयो । त्यसैगरी सडकका विभिन्न स्थानमा २१५ कल्भर्ट निर्माण हुनेछन् । अहिले १०० भन्दा बढी स्थानमा कल्भर्ट निर्माणको काम भइरहेको छ । सडक विस्तारका लागि करिब ३५ हजार रुख कटान हुने दिष्टीले बताउनुभयो । 

 

सरकारसँग भएको सम्झौतानुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले आगामी २०७९ साउन २२ सम्म सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गरिएको एक वर्षसम्म सडक बिग्रिएमा निर्माण कम्पनीले बनाउनुपर्नेछ । त्यस्तै एक वर्षपछि थप चार वर्षसम्म सडक बिग्रिएका अवस्थामा ‘परफमेन्स बेस मेन्टिनेन्स’ (काम गरेअनुसार सम्भार करार)का आधारमा सडक निर्माण गर्नुपर्ने र सडक मर्मतको रकम ठेक्का सम्झौता भएको समयका आधारमा भुक्तानी हुनेछ । 

 

दोस्रो लहरको कोरोना सङ्क्रमणपछि भने सडक विस्तारको कामले तीव्रता पाएको छ । पछिल्लो तीन महिनाका अवधिमा सडक विस्तारको कामले गति लिएको नवलपरासी–बर्दघाट–सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । सडक विस्तारको काम गुणस्तरीय हुनेगरी गर्न दबाब दिइएको घिमिरेको भनाइ छ । पहिले काम गरेको अवस्था र अहिले भइरहेको अवस्था देख्दा चाहिँ कामले गति लिनेमा आशावादी हुन सकिने उहाँको भनाइ छ । 

 

सडक विस्तारका क्रममा पुल बनाउन गरिएको डाइभर्सनलाई निर्माण पक्षले पिच नगरे पनि पानी हालेर धुलो उड्न नदिने वातावरण सिर्जना गर्नुपर्ने भए पनिसडकमा कहिले धेरै पानी हालेर हिलो बनाउने अनि कहिले पानी नै नहालेर बुङबुङ्ती धुलो उडाउने गरेको छ । “धुलो उड्ने स्थानमा पानी हालेर उड्न नदिने भन्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौतालाई खासै चासो नदिएको गुनासो आइरहेको छ”, घिमिरेले भन्नुभयो, “डाइभर्सन गरिएका स्थानको धुलो बाटामा पानी नै नहाल्ने र हालेका अवस्थामा धेरै पानी हाल्दा सवारी साधन गुड्नै अप्ठ्यारो हुने गरेको समेत हामीले देखेका छौँ ।” सबै समस्या समाधान हुने गरी चाँडो निर्माणको काम सम्पन्न गर्न निर्देशन दिइएको घिमिरेले बताउनुभयो । 

 

चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीच हरियाली हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात–सात मिटर हुनेछ । बजार क्षेत्रमा ६÷६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । बजार क्षेत्रको १७।६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२।७ किमी खण्ड चार लेन तथा दाउन्ने खण्डको चार किमी सडक तीन लेनको हुनेछ । दाउन्ने खण्डको उकालामा थप एक लेन सडक निर्माण हुनेछ ।

 

चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कन्ट्याक्ट म्यानेजर राजेश झाले आगामी २०२४ अगस्टसम्म म्याद थपका लागि निवेदन दिएको बताउनुभयो । “हामीले सन् २०२४ अगस्टमा काम सक्ने गरी म्याद थपको माग गरेर निवेदन दिएका छौँ”, झाले भन्नुभयो, “निवेदन दिइएको एक महिना बढी भयो, परामर्शदाता कम्पनीले हाम्रो निवेदन र कामको मूल्याङ्कन गर्दैछन् ।” दुई वर्ष म्याद थप भएका अवस्थामा सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ । 

 

“कति म्याद थप हुन्छ भन्नेबारे अहिले अध्ययन भइरहेको छ भन्ने हामीले बुझेका छौँ”,  झाले भन्नुभयो, “बीचमा विभिन्न कारणले काममा ढिलाइ भए पनि अहिले तीव्र गतिमा काम अगाडि बढिरहेको छ ।” विस्तारको काम भइरहेका सडकमा धुलो उड्न नदिन बाटामा नियमित पानी छर्किने काम भइरहेको झाको भनाइ छ । “अहिले होलीका कारण ट्याङ्कर ड्राइभर बिदामा भएकाले सडकमा पानी छर्किने काम कम भएको हो”, झाले भन्नुभयो, “हामी दैनिक बिहान र बेलुका सडकमा पानी छर्केर धुलो नउड्ने वातावरण गराउन लागिपरेका छौँ ।” गर्मी बढेको र  सडकमा अत्यधिक सवारी साधन गुड्ने भएकाले ट्याङ्करबाट पानी हाल्नेबित्तिकै पानी सुकेर धुलो उड्ने गरेको जनाइएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानडा जाने नेपाली टोलीको बिदाइ

  • 2 minutes ago
क्यानडा जाने नेपाली टोलीको बिदाइ

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लि

आचार्य गैह्रआवासीय राजदूत नियुक्त

  • 9 minutes ago
आचार्य गैह्रआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैह्रआवासीय राजदूत पदमा सोमबार नियुक्त गरेकी छन् ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

  • 13 minutes ago
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।