Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक

‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक


भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ ।

पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।

भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भीमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताए । ‘दैनिक करिब आठ सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । यो भीड दुई सातादेखि बढेको हो’, उनले भने ।

पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ थियो । उनका अनुसार दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ । ‘यहाँ आउने पर्यटक जलकुम्भीको फुल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि’, उनले भने ।

अध्यक्ष चापागाईँका अनुसार वन प्रवेश गरेको एक जनासँग २५ रुपैयाँ लिने गरिएको छ । पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उनले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताए । उनले पानी बग्ने क्षेत्रमा भन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पूरै ढाकेको बताए ।

दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताए । ‘पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ । जलकुम्भीका फुल पहिले पनि फुल्थ्यो । अहिले फुल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ’, उनले भने । जलकुम्भीले ताललाई विनास गरेको उनको भनाइ छ । ‘अहिले जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ’, न्यौपानेले भने, ‘हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौँ ।’

बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फुल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताए । ‘प्रत्येक दिन यहाँ आएर सयौँले जलकुम्भीबारे सोध्नुहुन्छ । हामीले तालमा फुल्ने झार हो भनेर जानकारी दिने गरेका छौँ’, उनले भने । जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए । उनले भने, ‘यसले तालतलैया सुकाउँदै छ । जहाँत्यही यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।’

बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिए । ‘मान्छे प्रकृतिमा रमाउन चाहान्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ’, उनले भने ।

जलकुम्भीको फुल फुल्ने, बाक्लो हुँदै जाने र ताल माथिमाथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो । उनका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ । ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै यादवले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताए ।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताए । उनले जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै ध्यान यसतर्फ सबैको जानुपर्ने बताए । ‘डढेलो लाग्ने ठाँउमा जलकुम्भी बढी फैलन्छ र ताल तलैया ढाक्छ । आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ । यसले दीर्घकालीन रुपमा असर गर्छ, बेलेमा सबैको पहलमा समाधनतर्फ लाग्नुपर्छ’, अधिकृत घिमिरेले भने ।

निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले ताल नै नरहने जोखिम बढ्ने बताए । उनले यहाँका ताल यस क्षेत्रको सिँचाइको स्रोत समेत भएको जानकारी दिए । ‘यहाँका ताल अनुसन्धान केन्द्र ९रिचार्ज सेन्टर० हुन् । यिनको संरक्षण विना सिमसार जोगाउने कुरा सम्भव हुँदैन । जलकुम्भीले तत्कालका लागि पर्यटक भित्रिए पनि दीर्घकालीन रुपमा यसले वातावरण र तालतलैयामा असर गर्छ’, समितिका अध्यक्ष ढुङ्गानाले भने । उनले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग दुवै स्थानीयले गर्ने भएकाले पर्यटक भित्राउन अन्य दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताइन् । उनले यसको दीर्घकालिन समस्या समाधनका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्राउने भन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले तालहरू यहाँको कृषि प्रणालीसँग जोडिएकाले तालको संरक्षण गर्दा कृषि उत्पादनमा टेवा पुग्ने बताए ।

घिमिरेले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरे । पत्रकार रमेशकुमार पौडेलले समस्या ल्याउने बनस्पतिलाई समस्याका रुपमा हेर्नुपर्ने भन्दै पर्यटकीय आकर्षणका लागि अन्य विकल्प खोजी जलकुम्भीको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट

नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक

Techie IT