Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKनेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न


लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम रहेको थियो । यस कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मीहरू सहभागी भएका थिए ।

बेलायतको बजारमा नेपाली चलचित्रको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि चलचित्रको अन्तर्राष्ट्रिय बजारको महत्त्व लगायतका विषयमा अन्तर्क्रिया भएको थियो ।

अन्तर्क्रियामा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र चलचित्र बनाउन सुझाव दिए । “विदेशमा बस्ने मेकरले चलचित्र बनाएपछि नेपालमा पनि प्रदर्शनका लागि हल पाइँदैन भन्ने गुनासो सुन्ने गरेको छु । तर, चलचित्र बनाउनुभन्दा अगाडि कसरी बनाउने, किन बनाउने र कसरी चलाउने भन्ने ज्ञान हुनुपर्छ । नेपालमा कति वटा हल छ ? नेपाली चलचित्रको मार्केट कति हो ? दर्शकले कस्तो चलचित्र रुचाउँछन् ? त्यसलाई पनि अध्ययन गरेर चलचित्र बनाउनुपर्छ,” उनले बताए ।

अध्यक्ष केसीले चलचित्रलाई मनोरञ्जनको साधनको रूपमा मात्र लिने नहुने तर्क गरे । चलचित्रले देशको संस्कृतिदेखि पर्यटन प्रवर्द्धनसम्म ठुलो भूमिका खेल्ने बताउँदै चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्ने बताए । नेपाली भाषा बोल्ने प्रवासको समुदाय नै नेपाली चलचित्रको प्राथमिक दर्शक रहेको जनाउँदै उनले भने, “चलचित्रले कला, संस्कृति, भाषा र पर्यटनको प्रवर्द्धन गर्छ । हामीले चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्छ । संसारभरका मानिसले हाम्रो भाषा बोलुन्, हाम्रो संस्कृतिलाई अपनाउन, हाम्रा कलालाई सम्मान गरुन् । अनि बल्ल नेपाली चलचित्रले केही छलाङ मारेछ भन्ने महसुस हुन्छ । त्यसका लागि हामी आफैँले आफ्नो देशको चलचित्रलाई माया गर्नुपर्छ । पहिले हाम्रो चलचित्र हामीले हेर्ने बानीको विकास गर्नुपर्छ ।”

अध्यक्ष केसीले नेपाली चलचित्रको सम्भावना रहेका अन्तर्राष्ट्रिय बजारहरूमा चलचित्र प्रतिनिधि तोकेरै बोर्डले सहजीकरणको काम थालनी गर्ने बताए । यसको सुरुवात बेलायती बजारबाटै गर्न आफूले पहल गर्ने जिकिर गरे ।

अन्तर्क्रियामा बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरूले बोर्ड र समुदायसँग आफ्ना गुनासाहरू राखे । उनीहरूले युकेको बजारमा नेपाली चलचित्रको विस्तारको पहलको लागि रहेका जटिलताहरूका बारेमा प्रस्ट पारे । चलचित्र रिलिज गर्दा दर्शक नपाएको स्मरण गर्दै बेलायतमा रहने नेपाली समुदायले नै नेपाली चलचित्रलाई प्राथमिकता नदिएसम्म नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि सम्भव नहुने उनीहरूले औँल्याए । विदेशी चलचित्रलाई प्राथमिकतामा नराखी नेपाली चलचित्रलाई विश्वमाझ पुऱ्याउनको लागि उल्लेख्य दर्शकको जरुरी रहेको उनीहरूले बताए । अन्तर्क्रियामा चलचित्रकर्मीहरूसहित करिब १५० जना विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पहिलो दिनको कार्यक्रममा यस वर्ष नेपालबाट एकेडेमी अवार्ड (अस्कर)मा सिफारिस भएको तथा विभिन्न अन्तर्राष्ट्रिय अवार्ड विजेता नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शन गरिएको थियो । त्यस्तै, नेपाललाई प्राकृतिक रूपमा नै खुल्ला छायाङ्कन स्थलको रूपमा विश्वव्यापी प्रचार गर्न चलचित्र विकास बोर्डले तयार गरेको श्रव्य दृश्य सामग्री प्रदर्शन भएको थियो । साथमा, चलचित्र विकास बोर्डले एक डेस्क राखी विभिन्न जानकारीहरू प्रदान गरेको थियो ।

कार्यक्रम अन्तर्गत दोस्रो दिन आइतबार बेलायतका लागि नेपाली राजदूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल भएको थियो । सो क्रममा बेलायतमा नेपाली चलचित्रको उपस्थितिलाई बलियो बनाउन गर्नुपर्ने आधारभूत कामहरूको विषयमा छलफल भएको थियो । नेपाली चलचित्र र बेलायतको बजारबिच दूतावासले पुलको रूपमा काम गर्न सक्ने, बेलायतमा नेपाली चलचित्रको प्रवर्द्धनमा दूतावासले गर्न सक्ने सहयोग तथा दूतावासले नेपाली कला र संस्कृतिको लागि सम्पर्क व्यक्ति तोक्ने लगायत दीर्घकालीन प्रभाव हुनसक्ने विषयमा राजदूत आचार्यले सकारात्मक प्रतिक्रिया दिँदै आफूले गर्न सक्ने काम अगाडी बढाउने बताए । राजदूत आचार्यसँग चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा नेशनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीले छलफल गरेका थिए ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमवार ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग नेपाली चलचित्रले ब्रिटिस फिल्म इन्स्टिच्युट (बिएफआई) सँग गर्नसक्ने सहकार्य, नेपाली चलचित्र बेलायतमा छायाङ्कन गर्दा प्राप्त हुने सुविधाहरू, पुरानो प्रविधिमा बनेका चलचित्रहरूको संरक्षण, डिजिटाईजेशन र ती चलचित्रहरूलाई सहज रूपमा सर्वसाधारणमाझ पुर्‍याउन बिएफआईले चालेका कदमहरूको विषयमा जानकारी लिइएको थियो । सो क्रममा बिएफआईका कल्चरल पार्टनरसिपका प्रमुख रोबिन बेकर, एग्निएस्का मूडी, डेल्फिक नेपालका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्डका प्रतिनिधि निराजन गिरी, नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टरका संयोजक सनम कुमार बैरागको उपस्थिति थियो । बोर्ड अध्यक्ष केसीले बिएफआईबाट प्राप्त सुझाव र अवधारणाका आधारमा सहकार्य, डिजिटाईजेशन र सर्वसाधारणको सहज पहुँचको लागि पहल गर्ने बताए ।

नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएलले नेपाली चलचित्रले छ दशकको यात्रा गरिरहेको सन्दर्भलाई लिएर आगामी दुई वर्ष नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न देशहरूमा क्रमशः विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जाने बताए । “बेलायतसँग नेपालको सदिऔँ लामो मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ । जसको कारण यहाँ नेपालीहरूको उपस्थिति पनि बलियो छ । यस कारण पनि डेल्फिकले पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम बेलायतमा गरेको हो । आगामी दुई वर्षभरि अन्य थुप्रै मुलुकहरूमा विभिन्न कार्यक्रमहरू गर्नेछौँ”, बिएलले बताए । उनले यस्ता कार्यक्रमबाट नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि लिने गति बढ्ने र नीति निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए । बिएलले नेपाली चलचित्र, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय विकासको लागि नेपाली डायस्पोराले नै अग्रसरता लिनुपर्ने जिकिर गरे ।

कार्यक्रमको विषयमा बोल्दै नेशनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष जीवन पराजुलीले चलचित्रको प्रवर्धन चलचित्रकर्मीमाझ मात्र गरेर नहुने जिकिर गरे । उनले आम समुदायमा चलचित्रको संस्कृति र चेतना जगाउन आवश्यक रहेको बताउँदै यसको लागि अन्तर्राष्ट्रिय समुदायमा नेपाली चलचित्र हेर्ने संस्कृतिको बानी बसाउन सके मात्र नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउन सक्षम हुने बताए । उनले डेल्फिक काउन्सिलले हरेक क्षेत्रमा कलात्मकता हुन्छ भन्ने अवधारणा राख्ने जनाउँदै बताए, “हामीले चलचित्र, सङ्गीत, चित्रकला जस्ता क्षेत्रहरूलाई मात्र कलाको रूपमा चिन्ने अवधारणा नै गलत हो । कला बिनाको कुनै क्षेत्र हुँदैन । यसर्थ डेल्फिकले सबै क्षेत्रलाई कलात्मक तवरले समेट्छ ।” उनले आगामी दिनमा नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT