पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

लेख्ने विषयको चयन गर्न नसकेर स्रष्टा सधै द्वन्द्वमा हुन्छन् । व्यक्ति लेख्ने कि समस्टी, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने, अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने... यस्ता दोधार सधै उठेका छन्, सबैमा उठेका छन्। नेपाली साहित्यमा यतिखेर यो विषय अत्यन्तै गम्भीर कुइानेटोमा पुगेको छ ।

 

धेरैले ता आँट गरेर लेख्छन्ः  उनीहरू आफैतिर फर्किन्छन् र आफैलाई प्रस्तुत गर्दछन् । अरू कतिले आफ्नै कुण्ठालाई वाणी दिन्छन् केही द्वेष मिसाएर, ईर्श्यामा अहम चोबेर लेख्छन् । त्यसबाट आत्मश्लाघा र आडम्वरको पीरो राग मात्र निस्कन्छ, साहित्य कतै छोपिएर । त्यस्तो सिर्जना अल्पायु हुन्छ, छ महिनामा सुक्ने घाँस जस्तोः भनौ मकैको ढोड जस्तो । धेरैको अभिरुची र क्षमता त्यसैमा हुन्छ । तर युगान्तकारी सिर्जनाको आरम्भ र अन्त्य अर्कै प्रकृतिको हुन्छ। 

 

भारतवर्षको पृष्ठभूमिमा लेखिएको संस्मरण दि “उन्डेड सिभिलाइजेसन” (मर्माहत सभ्यता) को आरम्भमा नोवेल पुरस्कृत भि. एस.  नइपलले अनुभव गरेका छन्— “ महान सिर्जनाको लागि तपाईंको बास पनि महान सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ, पुराकथाले, किम्वदन्तीले, अग्रजहरूका कृत्यहरूले उनीहरूकै आलोकले पनि तपाईंको बाटो उज्यालो हुन्छ ।“

          

तर, कहाँ जन्म हुन्छ त्यो हाम्रो छनौटको विषय होइन, त्यो त संयोगको, भूगोलको, इतिहासको, अझ भनौ लेखान्तको, अर्थात कर्मफलको कुरा हो । उता ध्रुवीय प्रदेशमा पनि सृष्टि रोकिनु भएको छैन, यता उष्ण मरुभूमिमा पनि यसरी जन्मनु आफ्नो वशमा छैन । 

 

विवश स्रष्टा संयोगले जहा पनि जन्मिएको छन । हामी नेपालमा जन्मिनेहरू यतिखेर एक प्रकारको अन्योलमा परेको देख्ता मलाई ज्यादा चिन्ता लागेको छ । हाम्रो सहित्यको गति अवरुद्ध झैँ छ । यो उन्नत भएको देखिएतापनि त्यो केवल शारीरिक वृद्धि हो । यसको आत्मा कुण्ठित छ अब लेख्य विषय निथ्रिएजस्तो पनि लागेर हो कि सिर्जनाभूमि बाझो देखेर हो कि बारम्बार हामी अति सस्तोको मोहमा बेचिन्छौँ । तात्कालिकताले वेष्टित अखबारी भएका छौँ । नेपाली साहित्य त्यतै छ । यसको मूल कारण के हो भने हामी आ आफ्नो अतीत नभएझैँ  ठान्दछौँ, इतिहास बेगरका। हामी आफ्नो भूमिलाई समयरेखामा फिँजाएर पढ्दैनौ, यसको इतिहासलाई शाहकाल, राणाकाल, मल्ल, लिच्छबी, किराँत, गोपाल, महिषपाल आदि गर्दै किम्बदन्तिका पहरामा लगेर ठोक्काउछौ । त्यो भन्दा पर, टाढा भित्र पुग्ने हाम्रो दृष्टि रोकिन्छ । भएको छोटो इतिहास पनि अति धूमिल छ । किरमिर छ । यो देशको भौगोलिक स्वरूप कस्तो थियो, यसको आदिकालीन ज्ञानविज्ञान आध्यात्म र सभ्यतारेखा कहाँसम्म कोरिएको थियो, कुन युगदेखि यसले वर्तमान भूगोलको आकार लिन थाल्यो— ती कुरा अज्ञात वा धूमील छन् । तसर्थ नेपालको अन्यन्तै छोटो इतिहासको चित्र हाम्रो मस्तिष्कमा आउँछ, अरू मेटिन्छन् ।

 

नेपाली साहित्य लेखन पनि त्यसैगरी भर्खर हिजो जन्मिएको कलिलो नेपाली भाषाभरि मात्र फैलिएको छ, भनौँ भानुभक्त भरिको मात्र । भानुभक्तले के कस्तो विद्या आर्जन गरे, त्यसबेलासम्मको ज्ञानशास्त्रको दर्शन के कस्तो थियो होला, तिनको रचना कहिले भएको होला, भन्नेतिर हामी सोच्दैनौँ । के हामी त्यति छोटो इतिहास भएका यायाबर हौँ, अमेरिकाका अफ्रिकी अथवा त्यहाँ पुगेका बेलायती जस्ता मात्र हौँ ? हामीसाग भी एस नइपलले भनेको महान अतीत छ कि छैन ? मलाई यस चिन्ताले छोएको धेरै भो ।

 

यस्तै चिन्ता बोकेर केही वर्ष अघि म यात्रामा निस्केको थिएँ । नेहु विश्वविद्यालयमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने उद्देश्यले म मेघालयको राजधानी शिलाङ शहर पुगेँ । त्यस अवसरमा एक युवा चिन्तक  सलील  ज्ञवालीसित मेरो भेट भयो । उनीमा आफ्ना विद्वान पिता कृष्णप्रसाद ज्ञवालीको प्रभाव, प्ररेणा र रक्त थियो । उनले आफ्नो सम्पूर्ण युवाकालमा नै पौरस्त्य जगतको अतीत गौरवको अध्ययन अन्वेषणमा समर्पण गरेका रहेछन् । उनले धेरै वर्ष लगाएर एकसय जना बडी विश्वविख्यात विद्वानहरूको विचाररउद्धरण संकलन गरिसकेका थिए । ती महान विचारकहरूमा आइन्सटाइन, गेटे, इमर्सन, स्रोडिब्गर, श्रोडीन्गर हिगेल, म्याक्समुलर, सोपेन्हावर, रसेल, फ्रेडरिक, आदि थिए । मैले त्यो ‘ग्रेट मान्ड्स अन इंडिया” नाम शीर्षक प्रकाशोन्मुख सङ्कलन पढेँ । त्यत्रो ठूलो समूहमा अति मूर्धन्य चिन्तक, श्रष्टा, वैज्ञानिक, दार्शनिक, कवि सबैसबैले पूर्वी जगततर्फ फर्केर प्रार्थना गरेका रहेछन, यसको श्रद्धापूर्वक पूजा र आराधना गरेका छन् । पूर्वको अलौकिक ज्ञानको र विद्याको स्वरूप देखेर ती अभिभूत छन् । उनीहरू कोही वेदान्त दर्शनबाट प्रभावित, कोही गीतावबाट, केही उपनिषदबाट, कोही खगोलशास्त्र, तत्वमिमांशा अथवा योगबाट, गणितबाट, र अनि पूर्वको सहिष्णुता, धैर्य, शान्तिप्रेम, कल्याण कामनाबाट, उदात्त विश्ववन्धुत्वबाट  मुग्ध भएका रहेछन।

 

संकलन पढेपछि मैले बुझेँ — “ ग्रिसेली सभ्यता पनि पूर्वको तुलनामा ती महान विद्वानहरूलाई धूमिल लाग्छको रहेछ।“  यति महान् सभ्यता अरू छैन । विश्वका सबै सभ्यता जोड्दा पनि त्यो पूर्वीय सभ्यता र यसको दर्शन, चिन्तन र ज्ञानको सामुन्ने एउटा पिलपिले बत्ती मात्र लाग्छ । म पढ्दै गएँ, आश्चर्यचकित हुँदै गएँ । सो शोध सङकलन पुस्तककोरूप तयार भएर दिल्लीबाट छापिए पछि यो भारतवर्षभरि पुग्यो।  सलील भाई अति उत्साहित भए । त्यस उत्साहले ह्दय भरिएको बेला एकदिन सलीलले भने “दाजु, यसको नेपाली भाषामा अनुवाद गर्न पाए हुने । यसबाट धेरै नेपाली जातिलाई आफ्नो अतीतको गौरवभूमिको दर्शन गर्ने अवसर मिल्थ्यो होला।” मलाई पनि त्यो विचार उचित लाग्यो । नभन्दै आर्को वर्षको हिउँद लागेपछि म त्यो सङकलनको अनुवाद गर्न लागेँ । बिस्तारै एकपल्टमा एउटा छोटो अनुभूति मात्रै । सर्वप्रथम उदाहरणको लागि आइन्स्टाइनबाट थालेँ ।  उनी बोले— ‘ हामी पूर्वीय जगत  प्रति चिर ऋणी छौ, किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्यो बिना कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार सम्भव हुने थिएन ।‘

 

आइन्स्टाइन महानताको बारे नजान्ने को छ होला र ? यसरी सम्पूर्ण विश्व पूर्वतिर नतमस्तक भएको देखो । नइपलले महान् अतीतले तपाईंलाई गौरवान्वित गर्दछ भनेको त्यसैले होला, मैले ठाने ।

          

म पनि पूर्वीय भएँ, भारतीय भएँ । भारतीय आजको संकीर्ण अर्थमा होइन, ‘इन्डिया’ शाब्दिक अनुवाद ‘भारत’ मात्र होइनस यो भौगोलिक भारत होइन । म भारवर्षको नागरिक भएँ । त्यो भारतवर्ष जो हिमालय पर्वतदेखि श्रीलङ्कासम्म पुग्छ, उताको गान्धारदेश अफगानिस्तानदेखि वर्मा, थाइल्यान्डसम्म पुग्दछ । रामायण गाथा फैलेका भूमिहरू हेरौँ — थाइल्याण्ड, मलाया, भियतनाम, चीन, जापानसम्म पुगेका छन्।  पश्चिमेलीहरूले सम्वोधन गरेको भारत यही भौतिक, आध्यात्मिक एवम् सांस्कृतिक भारत एउटा विशाल स्वरूप हो । यो भौगोलिक ‘इन्डिया’ होइन न आजको राजनीतिक भारत हो । हाम्रा महाकविले पनि यही विशाल आध्यात्मिक एकाइलाई सम्झेर बोलेका छन्— “हाम्रो भारतवर्षको उदयको हैम प्रभा सारको।“

              

 ‘नेपाल’ धेरै पछिको नाम हो, पछिको भूगोल हो, हिजोको, त्यसपूर्वका इतिहासप्रति हामी अनभिज्ञ छौँ । त्यो अनादिकालको महिमाण्डित अतीत हाम्रो थियो आज हाम्रा सङ्कल्पहरूमा त्यो सीमाहीनता प्रतिध्वनित छः  भारतवर्षे भरतखण्डे...इत्यादि । तर त्यो आज छोपिएको छ यद्यपि हाम्रा उदात्त ह्दय भएका कवि बोलेका छन्— ‘भारत मूल हाँगाको फूल नेपाल देश हो।‘

 

यो भारतवर्षका सम्पूर्ण पुराकथामा हाम्रो उत्तिकै सहभागिता छ, अधिकार छ । पश्चिमाहरू आएर पहिले भारतमै पसे, नेपाल बन्द थियो । त्यहीँबाट उनीहरूले शाकुन्तल अनुवाद गरेर पूर्वीय काव्यको विश्वरूप देखे । त्यसपछि जर्मनहरू पसे, उपनिषदहरू अनुवाद गरे, वेदका अनुवाद गरेर त्यस्तै प्रशंसा गरेका छन् । फ्रान्सेली पसे, गीता र अरू ग्रन्थ अनुवाद गरे । गीताको महिमा उनीहरू आज गाउँदैछन् । जर्मन दार्शनिक हुम्वोल्टले  भन्छन् “कुनै मानव भाषामा उपलब्ध मानव जातिले गौरव गर्ने संसारलाई देखाउन मिल्ने अत्यन्त गम्भीर र महिमाशाली वस्तु नै गीता हो ।“  यो कुनै पनि मानव भाषामा उपलब्ध भएको एक मात्र दार्शनिक गीत हो । सत्रौँ शताव्दीमै भोलटेयरले भनेका थिए—  ‘म विश्वस्त छु— हाम्रोमा सबै कुरा गङ्गाको तटबाटै प्राप्त भएको हो — खगोलशास्त्र, ज्योतिषशास्त्र, आध्यात्मविद्या सबैसबै। यो विशेष उल्लेख्य कुरा छ — पच्चीस सय वर्ष अघि ग्रिसको समोस टापुका पाइथागोरस ज्यामिति सिक्नका लागि गंगाजीसम्म पुगेका थिए । ब्राह्मणहरूका विज्ञानको यश धेरै अधि युरोपमा स्थापित भइनसकेको भए उनले कदापि त्यो लामो यात्राको कष्ट उठाउने थिएनन् होला ।‘   अठारौँ शताब्दीका विद्वान् अनुवादक सर विलियम जोन्सले भनेका छन् —  “ जब(जब हामी पूर्वीय साहित्यतिर ध्यान दिन्छौँ, त्यसवेला हाम्रो सामू अनन्तताको भावना स्वतः खुल्दछ। “  शाकुन्तलको अनुवाद अनि त्यसले सम्पूर्ण युरोप रसाएर आयो, उनीहरू साँच्चै छक्क पर्दै गएँ । वशिभूत हुँदै गएँ ।

        

फेरि मैले अर्को अंश अनुवाद गरेँ, फेरि अर्को गरेँ । मलाई एक प्रकारको नयाँ ज्ञानले चकित पार्दै लग्यो । पूर्वीय जगतको सार तत्व के हो, किन यी भूमि महान् छिन्— ममा यो घाम लाग्दै गयो। म क्रमशः  सोपेन्हावर, हिगेल, वर्डस्वर्थ, मार्कट्वाइन, कार्ल युब, हर्मन हेस्स, लर्ड कर्जन, रोमा रोलाँ, आरनोल्ड टोयन्वी, सर विलियम जोन्स, म्याक्सम्युलर, अरबिन्दो  पढ्दै गएँ, एकएक अंश अनुवाद गर्दै गएँ । एउटा झ्याल उघ्रियो रत्नगर्भको झल्झलाकार उज्यालो देखन थालेँ  । जर्मनी पुगेपछि फ्रेडरिक शिलरले पूर्वीय साहित्यबारे बोलेको सुनेँ — ‘सम्पूर्ण ग्रिसेली पुराकालदेखि आजसम्ममा अत्यन्तै सुन्दर प्रेमको काव्यात्मक प्रस्तुति गर्नमा शाकुन्तलको नजिक पुग्ने कुनै कृति रचिएको छैन ।‘

 

मनमनै मैले यस पुस्तकको नाम आर्यावर्तको आलोकमा राखेँ । पछि सल्लाहले अर्को होला । मलाई आध्यात्मिक रूपले एक विशाल भूमिमा छु भन्ने ठान्दा अत्यन्तै गहिरो आनन्द लाग्यो, कतिबेला यो आनन्दलाई कोसित बाँडौं जस्तो भएको थियो ।  हाम्रा अग्रजहरू हिमालय पर्वतको नजिकनै ज्यादा थिए, उत्तराखण्डमै योगी, तपस्वी, ज्ञानी, ऋषीहरू ज्यादा थिए । गण्डकी तटदेखि गंगासम्म, ब्रह्मपुत्रदेखि सिन्धुसम्म थिए । पाणिनीको तपोभूमि यतै थियो भन्छन्, वेद व्यासको जन्म दमौली भएको हो । विराटनगर, जनकपुर, मुक्तिनाथ जस्ता हजारौँ होइन, लाखौँ स्थान छन् जहाँ आर्य सभ्यताको आदिम वस्ती अनादिकालदेखि बसिरहेको छ । बौद्ध सभ्यता, किरात सभ्यता यहीँ थिए— आज तिनै सभ्यताले यो पवित्र भूमि सिञ्चित छ ।

 

त्यसपछि टि एस एलिअटमा पुगो । उनको द वेस्ट ल्यान्ड  जस्तो अमर काव्यमा वेदान्त र उपनिषदको प्रभाव पढेको थिए । एक वाक्यमा उनी बोले—  भारतीय दार्शनिकको विलक्षणताको तुलनामा महान्तम युरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता  देखिन्छन् । यस्ता अभिव्यक्तिले मभित्र आत्मसम्मान बढ्दैगयो, गौरव थपिदैँ गयो । त्यसैबेला “प्रतिभा निकेतन” दमकको प्रकाशन पूर्वीय चिन्तन परम्पराको पनि सम्पादन गर्ने अवसर मलाई मिल्यो । मैले त्यसमा एक वर्ष लगाएँ। मेरो लेखकको निमित्त यो आभ्यान्तरिक यात्रा थियो म एउटा अर्धविस्मृत जगतलाई अर्को दृष्टिले हेर्न लागेको थिएँ । सलील भाइको संकलन अनुवाद प्रकृयामा झन् गहिरो भएको अनुभव गर्न थाले ।

         

बिस्तारैबिस्तारै क्रमैसित भित्री मनले छाम्दै एक अंश अनुवाद गर्दै, कहिले ती उक्तिबाट तानिएर सम्पूर्ण कृति पढ्न थालो— फ्रित्जोफ काप्राको ताओ अफ फिजिक्सझै ।, अथवा स्वामी परमहंश योगानन्दको आटोबायोग्रा्फी अफ योगेगी झौ, टिएस एलिअटको द वेस्ट ल्यान्डझै  ।

        

तिनीहरूका लेखनमा पूर्वको प्रभाव कहाँ  छ, त्यो हेर्न थालेँ — जर्ज वनार्ड शा, एच जी वेल्स, लिङ युताङ, लिन्डा जोन्सेन, हु शी, सर विलियम जोन्स, जवाहरलाल नेहरु — यस्ता रत्नहरू सलीलले कसरी चिने होलान्, खोजे होलान् कसरी यी अमर वाणीहरू टिपे । लेखक, दार्शनिक चिन्तकहरुको यो विशाल जङगलमा यी इन्द्रकमल, सुनगाभा, कटरचम्पा, वेली, चमेली, गोदावरी कसरी छाने होलान्। एक दिन सलीललाई मैले भने — भाइ, तपाईंको ह्दय कति सुवासित भयो होला, आत्मा कति पुलकित, त्यो जीवन धन्य छ । उनि भन्छन्... दाजु, उपनिषद पढिसक्ता र त्यसको गहिराइमा डुब्दा ता म सारा सृष्टिलाईनै एकै तत्वमा अडिएको अनुभव गर्न थाले।  अहिलेको अधुनिक विज्ञान ‘क्वानटम फिजिक्स’ ले पनि उपनिषदको एकत्व धाराणालाई नै स्विकार गरिसकेको छ।  

         

म त्यसबेला उपनिषदको महत्व बुझ्दै थिएँ । प्रसिद्ध जर्मनेली विद्वान् पौल डुसेनले भन्छन्— ‘वैज्ञानिक मस्तिष्कको आविष्कार जेसुकै होस्, उपनिषदले प्रतिपादन गरेको अनन्त सत्यमाथि कसैले विवाद गर्न सक्तैन ।‘

        

मेरो ध्यानलाई पूर्वीयशास्त्रले आकर्षित गर्न लाग्यो । विद्यार्थी पुस्तक भण्डारबारा प्रकाशित केही आध्यात्मिक धार्मिक कृतिहरू पढेँ । तर अङ्ग्रेजीले खनेको कुवामा आफ्नो पौरस्त्य ज्ञानगंगा अटाउला ? चारै वेद निस्किए, स्ंस्कृत तत्सम शव्दकोष प्रकाशित भयो, प्रशन्नचन्द्र गौतमद्वारा सम्पादित ऋग्वेद संहिता जस्तो महान ग्रन्थको नेपाली अनुवाद प्रकाशित भयो । ३६ सय पृष्ठमा पदपाठ अन्वय, अर्थ र आशय सहित । हाम्रै बारीको अमरलता पाश्चात्य जगतमा पुगेको चार सय वर्षपछि फेरि फर्काएर ल्याइयो । नेपाली भाषा नै धन्य भइन् । आफ्नी आमाको स्वरूप र हंसलाई अनुकृतिमा भए पनि प्राप्त गरिन् । वर्षको एउटाका दरले गीताको अनुवाद आइरहेछन्— प्रेमविनोद नन्दन, भिम विराग, रामहरि शर्मा, पुरुषोत्तमप्रसाद गोर्खाली, मेरा गुरु प्रा। भूचन्द्र बैद्यग् यसरी नेपालीमा अनूदित भाषान्तरित गीताको सङ्ख्या चालीस नाघ्यो होला ।

 

०००००००००

          

म अन्योलमा उभिएको थिएँ । दोबाटामा पुगेर रोकिएँ । यसरी निरन्तर लेख्तैछु तर मेरो लेखनश्रोत के हो, म के लेख्तैछु, म आफ्नो सृजनाको उर्जा कहाबाट प्राप्त गर्दछु, आज लेखन तम्सिरहेका मेरा हजारौँ नव आगन्तुकलाई, अनुयायीलाई के सल्लाह दिनु होला, मलाई यस चिन्ताले छोप्यो ।

          

अलमलिएको बेला मैले गान्धीको अनुवाद गरेँ । गान्धीवचनको अङ्ग्रेजीबाट नेपालीमा त्यति होसियारीले, त्यति श्रद्धापूर्वक, त्यत्रो तन्मयतासाथ मैले कुनै काम गरेको थिइन । दुई वर्ष लगाएर पूरा नवजीवन ट्रस्ट इलाहावादको प्रकाशनको नेपालीकरण भयो । किसनसिंह धामीले त्यसलाई उत्कृष्ट स्वरूपमा (कता जाने पब्लिकेशेनबाट) प्रकाशित गराए । त्यसले समेत ममा पूर्वीय जगतको प्रकाश थप्यो। फेरि अध्यात्मतिर फर्किंदा धर्मले तानेर, कर्मकाण्डमा अल्झेर साधु, जोगी फकीर हुइन्छ कि भन्ने डर पनि थियो किनकि मेरो सारा शरीर ता पार्थिव चिन्ताले नै चलिरहेको छ। मैले खोजेको त्यो पथ होइन । मैले खोजेको पथ ता अबको स्रष्टालाई हिँडाउनु हो । मलाई शरीर र आत्मा दुवैलाई स्वस्थ राख्ने उर्बरक आवश्यक थियो । आफू र परिवारलाई । दैनिक भौतिकी र अगम्य आध्यात्मिक दुवै पथमा कसरी सहयात्रा गराऔँ भन्ने चिन्ता थियो । अकल्पनीय भौतिक उन्नतिले आकाशिएको पश्चिमी जगत् किन आज यसरी कुनै डढेलो सल्केसरी छटपटाइ रहेछ – त्यो कुरा बुझ्नु थियो । 

 

यो प्रष्ट भयो— भौतिक प्राप्ति तृप्तिकर वा सन्तुष्टिकारक होइन रहेछ । मानिसलाई अरू असन्तुष्टि र तृष्णा थप्ने रहेछ । पश्चिमीह।ले नै आफ्ना महान् उपलब्धीलाई तुच्छ देख्न थालेका छन् । नत्र सन १९३३ का नोबेल लरेट अर्विन श्रोडिब्गरले किन यस्तो भन्थेः ‘पाश्चात्य विज्ञानलाई आध्यात्मिक रक्ताल्पताबाट बचाउन पूर्वबाट पश्चिमतिर केही रक्तआधान आवश्यक भएको छ ।‘

          

पूर्वका गरिब मुलुकबाट, तेस्रो संसारका अल्पविकसित र अविकसित दुनियाँबाट अर्थात् हिजोसम्म उनीहरूद्वारा उपनिवेषित भूमिबाट पश्चिमले के पाउला ? किन पूर्वको उनीहरू यसरी मुक्तह्दयले प्रशंसा गर्दछन् ? फूलको आखामा आनी छोइङ डोल्माले भनेकी छन्—  “मानौ यी सब चिल्ला, अग्ला र गोरा पश्चिमाहरू पागलपनको घोडा चढ्न छाडेपछि सामान्य जीवन बिताइरहेका व्यक्ति खोज्दै मेरा गुरुको दर्शन गर्न आएका हुन् ।“

       

थाहा हुँदैछ उनीहरूमा सच्चै सैतान चढेको छ । आत्माको शान्ति त्यसले चबाएको छ । उनीहरूले बुझिसके हामीले जुन कुरा आविष्कार गर्यो भन्दैछौँ, हजारौ वर्षअघिका पूर्वीय ग्रन्थले, वेद र उपनिषदले तिनको बयान गरिसकेका छन् । त्यसैले  अल्फ्रेड नर्थ ह्वाइटहेडले भन्छन् —  ‘वेदान्त मानव मस्तिष्कले परिकल्पना गरेको सर्वाधिक प्रभावशाली तत्वमीमांशा हो ।‘  महान अमेरिकी कवि राल्फ वाल्डो इमर्सनले भने — “वेदहरूले मलाई पछइाइरहन्छन्, मैले त्यहा अनन्त अनुकम्पा, अगम्य शक्ति र अविच्छिन्न शान्ति प्राप्त गरेको छु ।“

       

पूर्वीय जगत्मा धर्म छ, त्यसमा आवेष्टित अध्यात्म सगै विज्ञान छ । त्यहा ज्ञानका अनेक हागा पुष्पित पल्लवित छन् । पश्चिम अझै त्यहा पुग्न सकेको छैन । रहेनछ, पुग्ने कुनै सम्भावना पनि रहेनछ किनकि उनीहरूसग त्यो अनादिकालदेखिको ज्ञानविज्ञानको विपुल राशी रहेनछ ।

         

उनीहरूले पूर्व(ज्ञानको, विज्ञानको, पदार्थको, आत्माको, मानवताको, उदात्त कल्याण पथको— साराको अनुभव गरे । त्यो शूक्ष्म अनुभव अनेक प्रकारले बोल्यो— वैशेषिकी र न्याय जस्ता हिन्दू ग्रन्थमा ‘पदार्थको’ आणविक संरचनाको उल्लेख छ। योगवाशिष्ठले भन्दछ—  “ प्रत्येक अणुको रिक्तताभित्र अरू विशाल विश्व छन्स ती एउटा सूर्य किरणमा विद्यमान विन्दुझैँ वहुविध छन् । आज आएर विज्ञान त्यो तथ्यलाई नै स्वीकार गरिसक्योँ । ‘ हामी सधौँ अनन्तताको छेउमा छौँ , उनीहरू अन्त्य भेटयौँ भन्ने भ्रान्तिमा ।

          

त्यसैगरी फ्रेडरिक भोन स्लेगेल बोले ...  “यो संसारमा संस्कृत भाषाको जस्तो नियमनिष्ठा भएको र त्यति दार्शनिक सुस्पष्टतालेयुक्त अन्य कुनै भाषा छैन, ग्रिसेली पनि छैन । “ यस्तो आदिम कल्पवृक्ष हिजोसम्म हाम्रै भूमिमा फल्दै थियो तर आज हाम्रै जडमित्रहरूले त्यसको जरा उत्तानो पारेस उग्र भौतिकता त्यसमाथि घोडा चड्यो, काँटी ठोक्यो, मरणाशन्न छ आज । यो हाम्रो सभ्यतामा आएको सबैभन्दा ठूलो ह्रासोन्मुख यात्रा हो । यस दुष्कर्मको लागि हामीलाई समयले सराप्ने छ । हाम्रा अन्धवेग र उत्तेजनाहरूको महगो मूल्य भोलिले तिर्नु पर्नेछ । उतिबेला स्वयम् कार्ल युङ बोलेका थिए— “मेरो ज्ञानमा विचार वा शरीर नियन्त्रणका निमित्त योगभन्दा बढी व्यापक रूपले परिचि कुनै प्रणाली छैन ।“ अर्का क्वान्टम फिजिक्सका विद्वान ज्याक सर्फातीले भनेका छन्— ‘भारतवर्षको साङख्य दर्शननै सम्पूर्ण सृष्टिको आधार हो ।‘

 

यस्ता धेरै छन् — प्रत्येक विषयका । ती प्राचीन साहित्यमा  धर्म मात्र होइन विज्ञान र दर्शनको योग पनि । कसैले नसुने पनि कति नेपाली अझै पुकारा गर्दैछन्, जस्तै २०६८ साल पुस ३० गतेको गोरेरखापत्रमा योगको उद्गमस्थल नेपाल नै हो भन्ने शीर्षकमा डा हरिप्रसाद पोखरेल (मानसाग्नि) ले भनेका छन्— “वर्तमान अवस्थामा नेपाल सुनको थाल हातमा बोकेर चौबाटोमा सुख्खा रोटी मागिरहेको मुलुकझै बनेको छ ।“ म नेपालमा जन्मेको भएरमात्र होइन, नेपाल योगको उद्गमस्थल भएको प्रशस्त प्रमाण इतिहासले सिद्ध गरेको अवस्था छ ।

 

यसैगरी पूर्वीय साहित्यको कुरा गर्दा शाकुन्तललाई विश्वको एकमात्र अनन्य सिर्जना भनिएको छ । आज यी उदाहरणको अनन्ततापट्टि म जान  चाहन्नँ । विश्वका महान् द्रष्टा, दार्शनिक, चिन्तक र वैज्ञानिकले हाम्रो आगनतिर औँल्याएर बोल्दैछन्— हेर, त्यो टिपेर राख, त्यसको श्रद्धा गर, प्रेणा लेऊ। तर हामी त्यसलाई लात्तीले हानेर रछाइनतिर हु्र्याउँदैछौँ, कत्रो विडम्बना 

  

यसबेला हाम्रा लेखकलाई सल्लाह दिन मन लागेको थियो— प्राचीन साहित्यका अमर सिर्जना पढौँ र त्यहाँ जीवन खोजौँ, त्यसको गौरवगान गरौँ, त्यसलाई वर्तमानको आगनमा ल्याऔँ... तर दुःखको कुरा छस स्वर्ग चढ्ने भर्याङ भौतिकवादीहरूले खुस्काइदिए, जलाइदिए, त्यता तार्ने माझीलाई पछारेर लडाइदिए । अनि कसरी त्यहाँ पुग्नु ? मलाई लागेको छ, नेपालमा पचास वर्षको भौतिकवादी डढेलोले गरेको विनाशलाई केसित तुलना गर्नु रु धेरै कुरा खरानी बनायो सबैभन्दा बढी ता अनुभूति गर्ने आत्मा डढायोस मूल्य मापन गर्ने ह्दय डढायो आध्यात्मिक मूल्य र संस्कृतिप्रेम डढायो, अनेकौँ नास्तिक, बर्बर पुस्ताहरू जन्मायो । पचास वर्षको बाढी पहिरो, डढेलोपश्चात् पनि प्रकृति बरु फेरि पलाउाछिन् तर जडतामा बद्ध भएको मानव आत्मालाई केले फर्काउने ! त्यो ज्वालामुखीको खरानी मात्र हो ।

            

मैले तीनवर्ष लगाएर उक्त भाई सलीलको सङकलनको अनुवाद सम्पादन गँरे, त्यो गरिसकेको दिन कोटीहोम (झापा) मा एउटा कार्यक्रम थियो । त्यो दिन मैले सम्बोधन गर्दै भने – “ नेपालको शैक्षिक प्रणाली अत्यन्तै शुष्क र यान्त्रिक भएको छ । यसले कारखानाले झैँ ह्दयसून्य शरीरहरूको उत्पादन गर्दैछ । यसले आफ्नै मूल्यको निन्दा गर्न सिकाउँछ । प्रमाणपत्रका खोष्टा स्युरेर हाम्रा विद्यार्थी खुब नाच्छन् तर तिनीहरूको आत्मा टालिइसकेको हुन्छ । किनकि यो पाठइक्रम नै विषाक्त छ । शिक्षाको कुनै तहमा हाम्रो महान अतीत चिनाउने पाठ छैन । बरु त्यसको अवमानना गराउने विचारशून्य केही नक्कलहरू छन् । हामी आफ्नो जगमा झम्पल हान्दैछौँ । वस्तवमा सम्पूर्ण अतीतवैभवको प्रवेशबार संस्कृत भाषा हो । त्यस ज्ञानरूपी गंगा बन्द गराइयो । अझै पनि सर्वनाश हुन बाँकी छ । अबको शिक्षा प्रणालीमा संस्कृत भाषा अनिवार्य गर्नुपर्दछ नत्र हामी अतीत बेगरका मुडकट्टा हुनेछौँ, जरा बेगरका हाँगा र पात मात्र हुनेछौँ ।“

             

धेरै अनर्थ भैसकेको छ । रानीतिक जडताको भयले, जातिवादको भयले, आफ्नै घरको गहना फुकालेर फ्याँक्तै छौँ । संकीर्ण सोचले प्राचीन ज्ञान श्रोतमा वञ्चरो हान्दैछौँ । तर सधै  बिलाप र पश्चात्तापले हुदैन । अब प्रेमले सबै उध्रेको टाल्नु परेको छ । पूर्वले सधै  बोलिरहेको छ— ज्ञान र विज्ञानसगै चलौँ, तर दुस्खको कुरो त्यस्तो अतीतप्रति हामीले समयलाई घृणा गर्न सिकायौँ, अपहेलना र निन्दा गर्न सिकायौँ । यो हाम्रो दुर्गतिको यात्रा हो। यसको अग्रगामी त्यो ह्दयशून्य राजनीति हो जसले जडता सिकाउँछस केवल जडता जन्माउछ ।

            

विश्वले नै पूर्वलाई हिन्दू भनेर सम्वोधन गर्छन, हिन्दूइजम्लाई चिनेको छ, चिनाउछ, उसले केवल यसैको गीत गाउँछ, यसैलाई हामीले सनातन भनेका छौ । यसैले करुणा, अनुकम्पा, प्रेम र सदभाव जस्ता गुणहरू बोकेको छ, यसले मानवतालाई सर्वोच्च स्थानमा राख्तछ । तर ‘हिन्दू’ शब्द भिर्नै हामीलाई शरम लाग्यो र एक उत्तेजनामा त्यो शिरको ताज फुकालेर झोडीमा फ्याँक्यौँ। त्यसो गराउने केवल भावावेश थियो, अन्ध भौतिकता थियो, राजनीतिक उत्तेजना र अविवेक थियो । हाम्रो सभ्यता अब कहिल्यै नजोडिने गरी खुडे भइसकेको छ ।

         

पूर्वीय धर्म, दर्शन एवं साहित्य हाम्रो अतीत हो । यो हाम्रै हो अथवा हाम्रो पनि हो भनी बुझाउनु पर्ने बेला छ । दाबी गर्नु पर्ने बेला छ । प्रत्येक नेपाली श्रष्टाले प्रथम पाठशालाबाटै ज्ञान आर्जन गर्न थाल्नु पर्छ । पूर्वीय परम्पराको ज्ञान नै प्रथम पाठशाला हो ।

        

नेपाली विद्वानले अतीतका स्रष्टा, ऋषिमुनि र देवीदेवताका कार्यस्थल क्रिडाभूमिसित जोडेर आ(आफ्ना सम्पदाको दावी गर्नु पर्दछ । धेरै कुरा अनादिकालमा पुगेकाले ऐतिहासिक समयले निक्यौर्ल गर्न नसक्ने भएकाले प्राग्इतिहास, पुरातत्वशास्त्र तथा पुराकथाको पूर्ण उत्खनन् गर्नुपर्ने बेला भएको छ । वेद न आजको नेपालमा रचियो न इन्डियामा । पाणिनी, पतञ्जली, कालीदास न यहा थिए न त्यहा, रामायण र महाभारत न यो भूमिका न त्यो भूमिका, बुद्ध भगवान् न यो भूमिका न त्यो भूमिका । सम्पूर्ण प्राचीन हिन्दू धर्म, दर्शन, चिन्तन, भारतवर्षले जन्मायो । त्यो भारतवर्ष तिम्रो र हाम्रो सबैको बराबर हो ।

        

हाम्रो प्राचीन ज्ञान र विद्वत्ताको यो विपुल राशीलाई दूषित गर्ने र मेट्ने तीन तत्तव छन्— कर्मकाण्डले सँघुर्याउदै ल्यायो, संस्कृतविरोध भनौ आफ्नै अमूल्य संस्कृतिविरोधले त्यसलाई सुकाउदै ल्यायो, उग्र भौतिकवादले यसको प्राण लियो । भौतिकवादले केवल जडतामा विश्वास गर्दछ । यी सारा मिलेर हाम्रो अतीतको कल्पवृक्ष काट्तै छन्, धेरै हागाविगा ठुटयाइसके, जराहरू उधिनिसके अब ढाल्न मात्र बाकी छ, त्यो ढल्नु भनेको पूर्वी जगत्मा रहेको धर्म, दर्शन र चिन्तनले रहित हुनु होस महान् शिक्षा उपदेश र अनुभवरहीत नाङगो हुनु हो, एउटा रुटलेस बुङ्गो हुनु हो। पाश्चात्य स्रष्टाहरूको जन्म यस्तो भूमिमा भएको भए उनीहरूसग चिन्तन र सिर्जनाको सामग्री कति हुन्थ्यो, स्रोत कति हुन्थ्यो होला । ग्रिसेली सभ्यता र बाइबल सम्झेर उनीहरू तिनै परिपरि लेख्तै छन् । मायान, इजिप्सिअन र चिनिया सभ्यतामा अडिएर लेख्तै छन् । हामीसाग हाम्रोमा गंगा र ब्रह्मपुत्र बग्दैछन् । उनीहरूले ससाना खोल्सीको पानी उघाएको हेर्नूस् ।

          

यतिबेला मलाई पनि ठूलो पश्चात्तापले छोप्न थालेको छ । मेरो शिक्षारम्भ यही महान् अतीतको विशाल आगनमा भएको थियो तर मेरो शिक्षाको अन्त्य बेलायत र अमेरिकाको सागुरो आगनमा पुगेर टुङ्गियो । यतिखेर पाश्चात्य विश्व नुहेको देखेपछि सानामा बा(आमाका लागि कण्ठ गरिदिएका गीताका श्लोकहरू ह्दयमा बज्न थाले, पछि पिताजीले वाचन गरेका अथवा गाएका श्रीमद्भागवतमका कथाहरू गुन्जिन थाले । उहिले अध्ययन गरेका उपनिषदहरू, सानामा देखेसुनेका यस्ता पौरस्त्य संस्कृति–चित्रहरू आउन लागे । समय धेरै बितिसकेको छ, उत्तरार्धको आगनमा नाच्तैछु तर अङ्ग्रेजीको जो भारी बोकेर हिडे त्यो असवाफ छ । कतिबेला ता कहा बिसाऔ कता फ्याकौ जस्तो पनि हुन्छ । अर्कातिर म विश्वविजयी पाश्चात्य वाङमयप्रति पनि त्यतिकै चिर ऋणी छु । कारण मैले आफूलाई अर्थात् पूर्वलाई हेर्ने जुन दृष्टि पाए त्यो अङ्ग्रेजी साहित्यबाटै प्राप्त गरे । मेरो अङ्ग्रेजीमा बितेको पचास वर्ष आज धन्य भएको छ ।

       

अन्तमा म हाम्रा पाठक र स्रष्टालाई आह्वान गर्छु— आफ्नै लेखौ, पूर्व लेखौ, त्यो विपुल भण्डारबाट उघाएर लेखौ । त्यसो त नेपाली साहित्यको आरम्भ यही महान् अतीतसाग जोडिएको थियो— कवि शिरोमणि लेखनाथ पैड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता केही नेपाली स्रष्टाले यो महान यात्राको आनन्द लिएका थिए, हामीलाई त्यो बाटो देखाएका थिए । पछि पनि माधवीले, नरसिंह अवतारले, उर्वसीले, देवयानीले, कर्णर्ल, राधाले,  द्रपदी आदि अनेक त्यो महानपथको यात्रा गरेका थिए।

 

म सबै आउने युगका नेपाली स्रष्टाहरूलाई अनुरोध गर्दछु— आफ्नो प्रचीन घरतिर फर्कौस यो जडपथ छाडेर अध्यात्म र विज्ञान सागै बग्ने गंगातिर लागौ । हाम्रा सिर्जनाले तिनै भण्डारबाट उघाएर प्रतीक र बिम्वहरू पुराकथा र गाथाहरू दर्शन र चिन्तनहरू फेरि पढेर समयसापेक्ष बनाउदै लान सिकौ । 

 

मेरो यो प्रयत्नको उद्देश्य नेपाली साहित्यमा सिर्जनाको धरातल देखाउनु हो, असीमित आकाशमुनि हामी कसरी गरीब हुदैछौ भन्ने देखाउनु हो ।

 

अन्तमा विचारनूहोस यो एक महान वणीमाथिः

 

आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धी हासिल गरेने छौ, त्यो कुरा सबै प्राचीन हिन्दु विद्वताको प्रतिपादन, समर्थन र परिष्करण मात्र हो ।

 

जुलिअस रोबर्ट ओपेनहाइमर विश्वका एक महानतम भौतिकशास्त्री जो फादर अव् अटोमिक वम् (अणुवमका पिता) भनेर जानिनछन्।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी २९ राष्ट्रबाट संविधान दिवसको अवसरमा शुभकामना

  • 30 minutes ago
यी २९ राष्ट्रबाट संविधान दिवसको अवसरमा शुभकामना

काठमाडौँ । संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् ।

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

  • 40 minutes ago
यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

यो पढेपछि रिसाउन छोड्नु हुनेछ

  • 53 minutes ago
यो पढेपछि रिसाउन छोड्नु हुनेछ

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।