गुणात्मक शिक्षाको विकास कहिले गर्ने ?

Norvic Hospital

शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षामा गरिएको लगानी तत्काल हैन, दीर्घकालमा प्रतिफल पाउनाका लागि हुनुपर्छ । पूर्वाधार निर्माणमा खर्च गर्न राज्यले सहजै देखिने बाटोघाटो, पुल, हवाइमैदान आदि बनाएर मात्र हुँदैन शिक्षामा कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्दछ। कुनै राज्य आफू समृद्धिको मार्गमा अघि बढ्नु छ भने शिक्षामा गुणात्मक विकास गर्ने रणनीति अख्तियार गर्नुपर्दछ।

 

यी र यस्ता भनाइ हामीले बारबार सुन्दै आएका छौं, सुन्दै जाने छौं। तर ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेजस्तै राज्यले शिक्षालाई बेवास्ता गरिरहँदा धेरै आयोगहरूका प्रतिवेदनहरू र्व्यर्थ भए, राज्यको लगानी बालुवामा पानी भयो, भविष्यको बाटो बिचैमा बिलय भयो। फेरि आयोग बनेको छ, प्रतिवेदन आउला, शिक्षा आयोग लडेर सेवा प्रवेश गर्न इच्छुक युवा शक्तिलाई पाठ्यक्रममा बोझ थपिएला तर राज्यको शिक्षामा केही होला जस्तो अपेक्षा गर्न सकिन्न ।

 

स्थीर सरकार, समृद्धिको सपना साकार पार्न अहोरात्र खटेको भनिएको सरकारले केही गर्छ कि भनेर आशा गरिरहेको बेला यस्तो निराशावादी निष्कर्ष निकाल्नु अलि नहुने हो कि ! तर समग्र शैक्षिक अवस्था, नीति नियम, कार्यान्वयनको तह, कार्यान्वयनको शैली, जिम्मेवारी र उत्तरदायित्वको वहन सबै उदेकलाग्दा छन्। जतासुकै बेथिति मात्रै छन्, सबै अर्कालाई चोर औंला ताकेर आफू पानीमाथिको ओभानो बन्न किञ्चित मान्दैनन्।

 

शिक्षा सही बाटोमा हिंडाउन कतैबाट पनि कुनै ठोस कदम चालिएको छैन। संविधानमा शिक्षाको हक मौलिक हकको रूपमा स्थापित भयो तर कानून बनाउने क्रममा त्यसको खिल्ली उडाइयो। नागरिकको संविधानप्रदत्त हकमाथि अंकुश लगाइयो। निजी क्षेत्र मैत्री शैक्षिक वातावरण कानूनी रूपमा स्थापित गरी सामुदायिक शिक्षाबाट आफू पन्छिने प्रावधानको पक्षपोषण सरकारले गर्यो।

 

राज्यका नागरिक उत्पादन गर्ने शिक्षा एकैनासको नबनाई विभेदकारी बनाउन कानून निर्माण गरियो। सामुदायिक विद्यालयप्रति विश्वास गिदो छ, निजी विद्यालयमा गएर निःशुल्क शिक्षा लिन सरकारले करकाप कसरी गर्न सक्छ ? कि निजी विद्यालयमा पनि प्रति विद्यार्थी निश्चित लगानी राज्यले गर्ने र त्यो सीमाभित्र ती विद्यालयले बालबालिका पढ्न पाउने वातावरण निर्माण गर्न बाध्यकारी व्यवस्था गर्नुपर्दछ।

 

रित्ता हुँदै गएका सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्यहाँ खटाइ सामुदायिक विद्यालयमा गर्ने प्रति विद्यार्थी लगानी सरकारबाट हुनु पर्दछ। जुनसुकै विद्यालयमा भर्ना भए पनि विद्यार्थीका अभिभावकलाई कुनै नामको शुल्क तिर्नुपर्ने अवस्थाको तत्काल अन्त हुनुपर्दछ। सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थालनी गरेका सही कार्यक्रमहरू र तिनको निरन्तरलाई दृष्टिगत गरी ती कार्यक्रमहरू सफल बनाउन विद्यालयले गर्ने जायज मागको आधारमा सरकारले नीतिगत तथा बजेट व्यवस्था गर्नुपर्दछ ।

 

अहिलेको नेपालको शिक्षा चरित्रवान, गुणवान र ज्ञानवान नागरिक उत्पादन गर्न भन्दा विदेशका लागि श्रमिक उत्पादन गर्ने कारखाना भइरहेको छ। नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यहरू पूरा गर्ने शिक्षा नेपालको लागि कामयावी नभएर यहाँका हजारौं युवाहरू विदेश जान मात्र तम्सिरहेका छन्। समृद्धिको सपना र उन्नति विदेशी भूमिमा पूरा गर्न उनीहरू नेपाल छाडी जान परराष्ट्र मन्त्रालयमा राहदानीको लागि लाम लगाइरहेका छन्।

 

दिनहुँ सयौं समृद्धिको नेपाली सपनाहरू जेट विमानबाट विदेशिएका छन्। यहाँको शिक्षा पद्धति अनुसार उनीहरू यहाँ कामयावी नहुँदा अर्काको देशको शिक्षा पद्धति अनुसार अवश्य पनि कामयावी हुन सक्दैनन्। अनि आर्थिक रूपमा कमजोरहरू अधिकांश त्यहाँको थ्री डी (र्डर्टी डेन्जरस र डिफिकल्ट) काम गर्न र केही क्षमतावालाहरू त्यहाँको विश्वविद्यालयले तोकेका स्तरीय परीक्षाहरू पास गरी विदेशी विश्वविद्यालयमा महंगो ट्यूशन शुल्क तिरी भर्ना भई सोही आधारमा आधिकारिक रूपमै उड्छन्। यता कतिपय युवाहरू मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई आफैं मोटो रकम बुझाई मलाई यो देश र्पुयाइदेउ भनेर मानव तस्करका सञ्जालमा पसेर भए पनि विभिन्न बाधा, कष्ट र झमेला व्यहोर्दै विदेशिरहेका छन् ।

 

पहिलो कारण त उनीहरूले पाएको शैक्षिक प्रमाणपत्र र उनीहरूले अपेक्षा गरेको काम अनि कमाइ नेपालमा हुने सम्भावना नभएर हो। यहाँ जतासुकै शोषण मात्र छ, नेता र उच्च पदस्थको भनसुन मात्र चल्छ, योग्यता अनुसारको काम र काम अनुसारको दाम यहाँ जीवनभर कहिल्यै मिल्दैन, आफ्नो उन्नति एवं प्रगति विदेशमा गए मात्र सम्भव हुन्छ भन्ने उनीहरूको ठम्याइले हुनुपर्छ।

 

कथंकदाचित यहाँ रोजगार मिलेपनि यहाँ प्रतिभा प्रस्फुटन हुने अवसर मिल्दैन र निराशामा डुब्न भन्दा विदेशै भासिनु जाति भनेर विदेशिने जनशक्ति पनि यहाँ नभएको होइन। यहाँका प्रतिभा आफ्नो कदर र पाखुराको मोल उचित नपाएर विदेशिएको हुनुपर्छ। उदाहरणको लागि लिउँ न पूर्व प्राथमिक तहमा कार्यरत शिक्षकहरूलाई जसलाई सरकार आफैंले सुक्का मासिक रु ६ हजार रूपैया प्रदान गरेको छ। यति न्यून रकममा काम गर्न बाध्य सरकारबाट प्रतिभा र श्रमको सही मूल्याङ्कन कहिलेसम्म गर्ने – अनि कसरी नभासिउन् नेपाली युवाहरू विदेश !

 

दोस्रो कारण त यहाँ प्राविधिक तथा व्यावसायिक भन्दा सैद्धान्तिक शिक्षामा जोड दिइयो। शिक्षालाई प्रविधि र रोजगारीसँग जोड्न ढिलाई गरियो। प्राविधिक तथा व्यावसायिक धारको शिक्षा लिएकालाई राष्ट्रको प्रविधि र रोजगारीको सेतु बनाउन वस्ती वस्तीमा परिचालन गर्न कुनै ठोस नीति तथा कार्यक्रम ल्याउन सकिएन।

 

विश्वविद्यालयका स्नातक तहका अन्तिम वर्ष वा सेमेष्टरका विद्यार्थीलाई काम गर्दै, कमाउँदै र सिक्दै गर्ने अवसर र स्नातकोपाधी हासिल गरेका जनशक्तिलाई राष्ट्रिय प्रविधि विकास दल मार्फत देशका विभिन्न भूभागमा खटाउने र उनीहरूलाई सोही अनुसारको पारिश्रमिक र अन्य बृत्ति विकासका सुविधाको व्यवस्था गर्न नसकेर पनि हुनुपर्छ। अझ स्नातकोपाधीपश्चात कम्तीमा तीन वर्ष यहाँ सम्बन्धित क्षेत्रको काम नगरीकन विदेश जान आवेदन दिन नपाउने बाध्यकारी कार्यक्रम सरकारले ल्याउन सक्ने हो भने र यहीं आकर्षक रोजगार तथा उद्यमका अवसर दिने र कागजी झण्झटले कार्यालयहरूमा दिक्दारी नपारी सुशासनको अनुभूति, भ्रष्टाचारको गन्ध नआउने व्यवहार गरिदिने हो भने युवाहरू विदेश भासिन र आफ्नो उन्नति देशसँग यहीं बसी हासिल गर्ने थिए। यसको लागि प्राविधिक तथा व्यावसायिक धारका जनशक्ति पलायन हुन नदिन सरकारले जतिसक्दो चाँडो उनीहरूको व्यवस्थापन गर्ने नीति निर्माण गरी लागू गरिहाल्नु पर्दछ।

 

तेस्रो कारण त यहाँ राज्यले यहाँको भेषभूषा, भाषा, धर्म, संस्कृति, परम्परा, इतिहास, जातजाति, सम्पदा, साहित्य, कला आदिसँग यहाँको शिक्षा जोड्न नसकेर हो। विदेशी शिक्षाको अन्धानुकरण गर्दा हामीले आफ्ना यी राष्ट्रिय इतिहास र गौरवसँग जोडिएका कुराहरूलाई अवमूल्यन गर्दा नेपाल देश एक तुच्छ देश र यहाँका नागरिक तुच्छ नागरिक र यहाँ जे जति सम्पति र सम्पदा छन् ती सबै तुच्छ ठर्हयाउने काम हुन पुग्यो। वास्तवमा हाम्रो नेपाल सम्बन्धी ज्ञानको स्थिति र त्यसको शैक्षिक क्षेत्रतर्फको पाटो हेर्ने हो भने एकातिर आँधी र अकोर्तिर झोलुङ्गो जस्तो छ।

 

नेपाल र नेपाली भएवापत दण्ड पाउने अवस्था यहाँको शिक्षा पद्धतिले निम्त्याइरहेको छ। नेपालको आफ्नो भाषा, संस्कृति, परम्परा, भेषभुषा, साहित्य, इतिहास आदि चिनाएर नेपाली हुनुमा गौरब गर्ने र नेपाल बनाउन पौरख गर्ने शिक्षा दिनका लागि विदेशी इतिहास, भूगोल, परम्परा, संस्कृति, भाषा आदिको बढावा दिने शिक्षा पद्धतिको तत्काल अन्त गर्नुपर्दछ।

 

यसका साथै पाठ्यक्रममा नैतिक मूल्य मान्यता, नेपालीपन झल्काउने वैदिक, पौराणिक एवं मौलिकता सम्बन्धी ज्ञान नेपालकै राष्ट्र भाषामा दिने कार्यको थालनी गर्नुपर्दछ। आफ्नो भूगोल, भाषा, भेषभूषा, धर्म, परम्परा, संस्कृति, वाङ्मय, कला, इतिहास, सम्पदा आफ्नै भाषामा अध्ययन अध्यापन गरी बालबालिकालाई आफ्नो महानता र महापुरुषहरूको जानकारी दिने व्यवस्था भन्दा बढ्दो अंग्रेजी मोहले हाम्रो उर्वर पुस्ता नेपाल अनि यससँग जोडिएका धेरै राम्रा र महत्वपूर्ण विषयहरूलाई अवमूल्यन गर्ने शृङ्खलावद्ध आक्रमण हामीले आफैं निम्त्याइरहेका छौं। यसै कारण हामी आफैं हारिरहेका छौं, अरु प्रतिस्पर्धी्बिनै आफैंसँग !

 

नेपालले समृद्धिको सुगारटान गरेर समृद्ध हुने भए उहिल्यै भइसक्थ्यो, आजसम्म यस्तो विपन्न अवस्थामा गुज्रनु पर्ने थिएन। आर्थिक कार्यसूचि सफलीभूत तुल्याउन नेपालले पहिला यहाँको शिक्षा पद्धतिमा आमूल परिवर्तन ल्याउन जरुरी छ। जसको लागि नेपाल र नेपालीको आवश्यकता अनुरूपको शिक्षाको राष्ट्रिय उद्देश्यहरूको निर्धारण, नेपाल र नेपाली धेरै चिन्ने पाठ्यक्रमको निर्माण र सोही आधारमा आफ्नै भाषामा सिक्ने सिकाउने वातावरण निर्माण गर्दै व्यवहारमै प्राविधिक तथा व्यावसायिक शिक्षाको थालनी गरी गाउँ वस्ती, सहर बजार जहाँसुकै भएपनि समानरूपमा शिक्षा पाउने अवसरको सिर्जना, शिक्षित जनशक्तिलाई उद्यम तथा रोजगारको लागि आवश्यक व्यवस्था, यहाँ कमाउने र यहाँ नै काम गर्दा रमाउने वातावरणको निर्माण, योग्यता र क्षमता अनुसारको काम अनि कामप्रति समपण भए अनुसारको दाम पाउने सुश्चितता, कतैबाट पनि शोषणको गन्ध नआउने र राजनीतिकरणको शिकार नहुने अवस्थाको सिर्जना गर्नुपर्दछ। शिक्षालाई व्यवहारिक ज्ञानशून्य कागजी प्रमाणपत्र मात्र ग्रहण गर्ने र विदेश पलायन हुने माध्यमको रूपमा लिने वर्तमान खराब संस्कार तोड्दै व्यवहारमै परिवर्तन ल्याउने एक मन्त्रको रूपमा ग्रहण गर्न नेपाल राम्ररी चिन्ने र नेपालमा बसी नेपालमा काम गरेकोमा गर्व महशुश गर्दै समृद्धिको आधार तय गर्ने शिक्षा पद्धतिको थालनी गर्नुपरको छ। के वर्तमान सरकार यो विषयप्रति संवेदनशील होला ?

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 1 hour ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 1 hour ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 1 hour ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।