ड्राइभरको नैतिक संकटः बाइरोडको बाटोमा धुलो उडाउँदै

Norvic Hospital
  • शुक्रबार, २० चैत, २०७७
  • 6 months ago
  • बिचार

खोइ नैतिकता ? बिरालोले खायो ।  ......खोलो खोई ? भुतक्कै सुक्यो । 

 

सरकारः राज्य संचालन गर्न राज्यका हरेक पक्षले आफ्नो अधिकार सुम्पिएको शक्तिशाली सर्वभौमशक्ति हो । उस्को बाध्यकारिता भनेको नैतिकता नै मुख्य हो । सर्वशक्तिमान सरकार, राज्यको हरक्षेत्रले अनुसरण गर्ने आदर्श पनि हो । सरकारको आदर्शीकरणले राज्य संचालन हुन सरकारमा हुनु पर्ने नैतिकता नै यस्तो अस्त्र हो, जस्को कारण सरकारमा स्वतःस्फूर्त मार्गनिर्देशन भएको हुन्छ । अझ लोकतन्त्रमा त नैतिकता नै लोकतन्त्रको प्राण हो । नैतिकता त्यागेपछि जुनै किसिमको शासन व्यवस्थाले राज्यलाई सिंगारे पनि त्यहाँ अन्त्यमा निरंकुशता नै जन्मिन्छ । फरक यति हो, समय र अवतार फरक हुन्छन ।

 

लोकतान्त्रिक कानूनी राज्यमा नैतिकवान संस्कार विकास भएको सरकार भए देश नर्कलोकबाट स्वर्गलोक नै नभए पनि यो धर्तीमाथिको  स्वर्ग भने हुन्छ । त्यसरी भएका देशहरु हाम्रा सामु रमाइरहेको हामीले देखेका छौ । मुसा खान नपाएको भोको बिरालोले खाजा खान राखिएको बासीभात चप्काए झै सरकारले नैतिकताको प्रश्नमा बालक उत्सुकताले सोधिएका अन्तिम प्रश्नको जवाफमा झै “....खोलो खोई ? भुतुक्कै सुक्यो” भन्दै नैतिकता चप्काउदा समाज अनि राज्यभित्रको जनचेतनाले पनि स्वीकार्न वा लाचार हुन थालेपछि स्वर्गको सपना देख्ने राज्य यही धर्तीमाथि नर्कलोकमा परिणत हुँदोरहेछ । राज्यमा बेथिती, विसंगति र विकृतिको माहोल खडा भई दिमाग खुस्किएको पागल जस्ता गफाडी बकवेदान्ती तथौराहरुको राज्य चल्दोरहेछ । राज्यमा शासन चलाउने सर्वशक्तिमान सरकार नभएको  महसुस हुनु भनेको राज्य जीवित नहुनु जस्तै हुँदो रहेछ । 

 

जीवित प्राणी जस्तै बाचेको देशमा, कानूनले शासन गरेको आदर्श राज्य, जहाँ स्वाभिमानी सर्वभौमशक्ति सम्पन्न नैतिकवान सरकार खडा भए जनधनको सुरक्षा र शान्ति कायम हुदोरहेछ । शान्त देशमा बिकासको मुल फुट्दो रहेछ । कानूनी राज्य भन्दा रहेछन । जहाँ हरेक कुरो कानूनले व्याख्या गरेको हुँदो रहेछ र मान्दा रहेछन् । थिति हुँदो रहेछ । संगतिमा विश्वास हुदोरहेछ । कृति आकृति दृढ हुँदो रहेछ । समुदाय, समाज, परिवार र व्यक्ति आपसमाः  नैतिक अनुसाशन, मूल्यमान्यता, ईज्जत र मानसम्मान हुँदो रहेछ । अरुको कुरा सुन्ने र विचारलाई कदर गर्ने बानीपरेको हुँदो रहेछ । मत र विमतले तथ्य केलाउदा रहेछन । अरुको अवस्थालाई आफ्नो जस्तो गरेर महशुस गरी प्रतिक्रिया जनाउने हाउभाउबाटै थाहा पाइदो रहेछ । नकरात्मक र सकरात्मक सोचमा फरक मूल्यांकन गर्दारहेछन । चोर र साधु, भावनात्मक र यथार्थतामा फरक देख्दा रहेछन । आफ्नो दायित्व र नैतिकतामा ठूलो सम्मान र इज्जत रहेको विश्वास गर्दा रहेछन ।

 

लाचार, लालच र लैलैले देश नबाचेको अवस्थामा विश्वास, विचार र विवेक पनि लहै–लहै, लालच र लाचारमा नै हामफाल्दो रहेछ । मान्छे कुकुर बिरालो कुखुरो सबै एउटै जस्तै नै व्यवहार हुँदो रहेछ । प्राण त्यागिएकोे लासका जहाँ सिनु बढी हुन्छ त्यहाँ गिद्ध, स्याल र कागहरु जस्तो जन्तु फैलाउदा रहेछन् ।

 

संसारमा देखिएको कुरो हो, देश मर्नेक्रम अति भएपछि विश्वजगतमा गन्हाउनु पनि छाड्दो रहेछ । अनि देशमा राज्य बोकेको बस हाक्ने सरकार पनि सडक सडकको बिसौनीमा ससुरालीमा ज्वाईलाई झै दिइएको मेजमानी खाएर यात्रुहरु बोक्ने बस हाँक्ने ड्राइभर जस्तै हुँदै जाँदो रहेछ ।

 

अरुहरुको देश पनि हाम्रै देश जस्तो थियो । यस्तै नै लाग्छ । अरुहरुकोमा जस्तै नै हाम्रोमा पनि सबै छन् । नेता छन् । मान्छे छन् । जनावर छन् । भूगोल छ । दिमाग छ । वौद्धिक विज्ञ, वैज्ञानिक, राजनीतिज्ञ, व्यापारी, उद्योगपति, शिक्षक, कर्मचारी आदि अरुहरुका देशमा भएको जस्तै सबै नै छन् । मर्ने, जीउने र जन्माउने प्रकृया पनि एउटै नै हो । हेर्ने आँखो, बोल्ने मुख र सुन्ने कान पनि अरुहरुको जस्तै नै छ ।  ज्ञानविज्ञानको सारफेर पनि बेस्सरी भएको हो । प्रकृति र विज्ञानले केही फरक देखाएको छैन । अरुहरु बिगतलाई नविर्सिई विश्वलाई हेर्दै वर्तमानलाई भोगेर भविष्यमा आउने पुस्ताको लागि राष्ट्रियता, राज्य र स्वाभिमान अनि प्रभुत्वको लागि आफुलाई बलिदान गर्ने स्वाभिमानी हिम्मतले विश्वको दौडमा बाजि मार्न प्रयत्नरत हुदा रहेछन् । अनि मरेर पनि बाच्दारहेछन, सजाउँदा रहेछन् । 

 

देखिएको फरक हाम्रो देश गरीबबाट कंगाल भयो । अरुका देश धनि अनि धनि भए । हाम्रो संस्कार र सोच फरक रहेछ कहिले नसुध्रने । अरुको संस्कार सोच सुध्रिएको रहेछ । हामी थोरैलाई धेरै देख्दारहेछौ । अरुहरु धेरैलाई थोरै देख्दा रहेछन । हामी कृतिम जात र धर्मको भर्यांगबाट मान्छेमाथि चढेर अग्ला हुन खोज्दारहेछौ । अरुहरु सवै बराबर हुने मन्त्रको खोजमा लखतरान हुदा रहेछन् । 

 

हामी शताब्दीयौ स्वतन्त्र र सर्वभौमशक्ति सम्पन्न थियौ । इतिहास यसै भन्छ । राज्य सधै बलियो, हिम्मति र तागतिलो नै थियो । तर राज्यमा जनताको अधिकार र शक्ति मुठीमा लिएर राज्यको स्टिअरींग हातमा लिएको सरकार रक्स्याहा बकवेदान्ती तथौरो खलासी र चोट्टा कन्डक्टरहरुको साथमा रहदा बस्ता, खति भएको मतिले नैतिक पतन भएको बैरोडको बाटोमा ज्यान लिने ज्यानमारा बसको ड्राइभर झै अनियन्त्रित रहेछन ।  यी बारबार देखिएका चाखिएका राज्य हाक्ने सरकाररुपी ड्राइभरहरुमा इतिहासको गर्वबाटै असफल रक्त पिपासु सामन्ती आर्धआत्मिक मृत शेषान्तरहरु बारबार जाग्दारहेछन । आजतक  हामीमाथि भएको सत्य भने बैरोडको बाटोमा बस चलाउने ड्राइभरहरुले जनताको ज्यान सडक सडकमा लिइरहेका हुन्छन । राज्यको सरकाररुपी छदमभेपी छविलाले ड्राइभरहरुले बल्लतल्ल जनताले बचाएको ज्यान र जीउने आसा दुवैलाई बिकास र समृद्धिको मिठो बोलीको लोलोपोतोले लट्याउदै निमोठी निमोठी बेपरवाह मारीरहेका हुदारहेछन ।

 

छिमेकहरु कोही फिरंगीेले लुट्न स्वार्थका लागि लतमा पार्न ल्याइदिएको गाँजा तान्दै टन्न थिए । कोही लात खादाखादा आजित थिए । देख्दादेख्दै सुन्दासुन्दै पछिल्लो दिन वि. सं. २००७ पछिलाई मात्र हेरे पनि उनीहरुमा ज्ञान विज्ञान जन्मियो, फुल्यो फल्यो । दुनियाँदारी सरह सुध्रिए । नागरिक भए । देश भए । हामीकहाँ बिज्ञान जन्मनै पाएन ।

 

वेद र पुराणको भुँडी लाग्यो । टुप्पि फूल्यो र खुइलियो । कन्दनी छिनो । परिवर्तन अझ पनि केही आएन । एउटै खाले एकपक्षिय एकलौटीमा देश आजित भयो । प्रतिकुलको प्रतिफल विभाजन मात्र भयो । विकासको नाममा भौगोलिक बिभाजन, राजनीतिको नाममा मानसिक बिभाजन, मानसम्मान र हैकमी मालिक्याई छाट्न स्वार्थ र मनोकांक्षामा बिभाजन आदि ।

 

विश्वपरिवेशमा भएको प्रगति र परिवर्तनले हाम्रामा पनि केही अकाट्य परिवर्तित  विकास घिसारीए । यति बेलाको मदेश उती बेलाको हाम्रो तराई थियो । घिसारीएको विकास मदेशतिर मात्र डोर्याइयो । अहिले मदेश सवैले सुन्छन देख्छन । पहाड देख्दैन सुन्दैन । पहाडमा स्वर, सुर र सुर्याई मात्र ठूलो अनि गतिलो तयार भयो । आवश्यकता अनुसार जस्ले पायो उसैले प्रयोग गर्यो । यसरी विकास भएपछि बलियो मदेश भयो । पहाड र हिमाल सदियौ बाहिर बलियो भित्र खोक्रो पहिलाको जस्तो उस्तै रहेकोछ । बोक्सी अझै जति पिसाव ख्वाएर मारेपनि जीउदै छे । छाउपडीहरु उति बेला झै नै कोही छाउघरभित्रै मर्छन कोही धर्मसंस्कार र रीतिथितिका ठेगेदार जन्माउन हुर्कदै नै छन । धेरैले नबुभ्ने वेदका ठेली पढने त्रिवेदी चतुर्वेदी विद्वान र चेतनशीलहरु जे जति यीनै छाउपडी पहाड र हिमालले जन्मायो अनि बनायो तीहरु काठमाडौँ भए , मदेश भए । बाँकी छाडिएका यीनै ठूला र गतिलाहरु सवै ई.सं. १८१६ ले खोलीदिएको मुगलानीया वा लाहुरे गोहो पछ्याउन बाध्य भएका छन । पहाड र हिमाल, यस्तै मदेश, काठमाडौ र लाहुर जन्माउने बुढी भैसी र बीउ उमार्ने केही दिनको लागि बनाइएको ब्याड मात्र भएको छ । उत्तरतिर नाका खोलेर मोटर गाडी गुडाउन सके पहाड र हिमालकाहरुले पनि विकास देख्थे, रमाउथे । उन्का पनि कुरा ठूलो हुन्थ्यो । तर त्यसो हदै भएन, हुन किमार्थ दिनै दिइएन । घिस्रिएको बिकास डोर्याउन कहिले काही पहाड र हिमालमा जागेको राष्ट्रियता तुहाउन बारबार दक्षिण तीरबाट बाह्रै महिना कहिले लू कहिले मनसुनको आधि र सितलहररुपीे अग्रेजी शब्दमा काचो अर्थ आउने रभित्र पश्चिमी स्वर्थको विल्ला रुमलिएर भित्रिन्छ । अनि त्यही बिल्ला छातिको भित्र गोजीमा टाँस्नेहरु पहाडले जन्माएको मदेश र काठमाडौ नै हुन् ।

 

छिमेकीको आँखो फुटाई माग्न बरदान माग्ने जमना अब रहेन । कोही असल छिमेकी हुन्छन । कोही खराब हुन्छन । असल छिमेकीले छिमेकमा के कसो हुदैै छ ? सुख, सन्चो र समृद्धिको लागि चासो राख्छ । छिमेक असल भए आफू असल हुँला भन्ने विचार राख्छ । आपत बिपद देखिए सहयोगको हात फैलाउछ । खराब छिमेकी छिमेकमा चासो राख्छ र छिमेकी दुःखमा पर्दा रमाउछ र मौका हेर्छ अनि सकिन्ज्याल लुट्छ । त्यस्तै अवस्था भयो गएका केही सालहरुमा । देश प्राकृतिक प्रकोप र भईचालाले महा आपदविपदमा थियो । त्यही समयमा छिमेकले कहिले जानिजानि कहिले नजानेकोे थाहा नपाएको जस्तो नाटक रचना गर्दै आधा वर्षको समयसम्म नाकाबन्दी लगायो । उत्तरतिरको विकट भूबनोटमाथिको संरचनामा  र विकम्पित आवस्थामा समेत उत्तरी छिमेकीले सहयोगको हात अघि बढायो । राज्यमा आकलझुक्कल झुल्कने राष्ट्रियता गएको केही साल अच्चानक झुल्किेको के थियो । दक्षिणमा मनसुन मराडीयो । लू राक्कियो । यता काठमाडौ र मदेशको पेटमा परेको चौलानीले चुर्ना सलबलियो । झुल्कनै लागेको राष्ट्रियतामा ग्रहण लगाउन हेर्दाहेर्दै मुखिन्जेल चतुर्वेदी बकवेदान्तकारी तथौराहरु, त्रिवेदी रोजीवेटीका विचारक र विश्लेषकहरु अनि जमीनमुनिका स्वर्णप्रेमी शिष्य वैश्यावादीहरुको कथन र तर्कनाहरुः दक्षिण र पश्चिम दिशाबाट आएको स्वर्थ अनि ररुपी मनसुनको अाँधी र लूको प्रवद्र्धन, प्रयोग र प्रशोधनका लागि कवचको रुपमा पत्रपत्रिका र सामाजिक संजालमा छ्यापछयाप्ती सग्बगाए ।

 

चतुरेलाई पछिल्लो निर्वाचनताका राष्ट्रियताको भेलमा दाउ मार्दा ठूलो माछाको मासुसित मार्सी चामलको भात हसुर्ने सुअवसर मिल्यो । पहाडी भेगको खहरे खोलामा झै राष्ट्रियताको भेलले छाडेको बगरमा अहिले आएर टुप्पि, कन्दनी र टायरी खराउको सिनु भिरेको तानाशाही भुतको पहिलो सिकार निर्मला पन्त जस्ता युवति र महिलाहरु अनि गरिव बेरोजगारी युवाहरु भएका छन । शहरबजार, गाउँघरमा भुसको आगो ध्वाउनथालेको जस्तो छ । सर्वभौेमशक्ति हात लिएको अवतार मात्तिएर पात्तिएर इतिहासमा कुहिएको जंगे र छदमभेषी लेन्डुप मुखुण्डोमा लाखे नाच देश विदेशभरी सडक, चियापसल, संचार र सामाजिक संजाल जताततै नाच्दो छ । लाखे नाचका दर्शक र दीर्घाहरु कोही विचित्रको लाखे नाचेको तालमा नाचेका छनः छिनीछिनी । कोही हाँसेका छन्ः खितिति । कोही रोएका छन्ः धुरुधुरु । कोही चोरले देखाएर छाडेको पींजडाभित्रको सुगा जस्तै तीन छक्क परेका छन । विदेशतीर अहिलेको एनआरएन उहिलेको मुगलाने उनीहरु त उनीहरु नै भए तर अस्तित्व र पहिचान विर्सिएर थपुवा एनआरएन हुने बेलायती भुपु लाहुुरेहरु सपनामा नुन नलागेको अलिनु खोले खादो छ । विपनामा नै देखिएको भुटानी सरणार्थीहरुको जरो नदेख्ने मस्तिष्कले फेसबुकमा नाकको साइज हेरी आप्mनै नाकमाथि औलो ठड्याएर सुरीदो छ ।

 

एक पटक भएको दुर्घटना त्यही प्रकृतिमा दोश्रो पटक हुनु अरुहरुकोमा निको मानिदैन । सम्बन्धितमा जिम्मोवारीप्रति कानून लागु मात्र हुदैन हरेक व्यक्तिमा नैतिकताको ठूलो ख्याल हुन्छ । जुन सुकै काम होस, त्यस्को सन्मान हुन्छ । आफ्नो कामप्रति आफूले गरेका दक्षताप्रति गर्भ हुन्छ । काममा हाँसिल गरिएको दक्षतामा अन्यले सन्मान र इज्जत गर्छन, हस्तक्षेप गर्दैन । कुरा बंग्याउन ठीक मानिदैन । कसैले स्वीकार्दैनन ।  

 

सडकमा यात्रु बोकेर बस चलाउने ड्राइभर र देशमा राज्य बोकेर बस चलाउने ड्राइभर उनीहरु आफैमा सम्मानित आदरणीय हुदा हुदै पनि आफ्नो जिम्मेवारीमा गम्भिरता नलिदा आफै जनमानसमा हाँस्यपात्र भएको देखिदो रहेछ । वास्तवमा अन्यको सुरक्षा, सम्मान र समृद्धिका जिम्मा लिएका ड्राइभर वा पाइलट अन्य जो सुकै हुन, उनीहरुमाथि भएको जिम्मेवारी र त्यो जिम्मेवारी बहन गर्नु सक्ने दक्ष क्षमतामा उनीहरुले पाउने आदर सम्मान भर पर्ने हुन्छ, हुदोरहेछ । यदी कुनै न कुनै जिम्मेवारी पाएकाले आफ्नो दायित्व बोध गराउन नसके उनीहरु समाजमा उपहेलित र अनादरको पात्र भएर जीउनु पर्छ । पर्दोरहेछ । यसैको उदाहरण होला हाम्रामा बाइरोडको बाटोमा धुलो उडाउने वसको ड्राइभर भनेपछि समाजमा उस्कालागि जे जति मान्यता र इज्जत साचिएको हुन्छ र त्यसो हुदाहुदै पनि दृष्टिकोणमा भने अलिक पतित र कलंकित पातकी भाव भने घोलमेल भई नै रहेको हुन्छ । राज्य बोकेको बस चलाउने पतित ड्राइभरको त राज्यको शक्ति नै हातमा भएकाले, बाध्यता र स्वार्थले  पाएको सम्मान बाहेक अन्य सवै भन्दा बढी घृणाका पात्र  हुन्छन र हुदारहेछन । 

 

आज भोलि संचार र सामाजिक संजालले एकैबाजी एकैक्षणमा संसारभर न नंग्याएको त दिनै छैन । र भए पनि खोइ ? यी ड्राईभरहरु अग्रेजीमा लेखिएको प्रसिद्ध कथा एम्पअर्स न्यु क्लोथ्समा जस्तै सीरमा प्रत्यक्ष्य मुकुट पहिरीएका बाँकी शरीरको अन्य भाग दर्शकले जे देखे पनि नदेख्ने आँखोले हेरेर कतैबाट अह्राइएको प्रसंशा र तालिबजाईको महोत्सवमा आफूलाई जान्दाजान्दै हाँसीखुसी दर्शक र दीर्घातिर फर्किएर हात हल्लाउने राजा झै उत्साहित, उमति र उन्मुख छन । 

 

देशभित्र मात्र होइन संसारको जुनै कुनबाट जुनसुकै आँखोहरुले हेरे पनि यस्तै देखिन्छ । इति ।

 

कुम्ब्रान, साउथ वेल्स, यु.के. ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

  • 11 minutes ago
रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् रश्मिका मन्डान्ना । दक्षिणमा सबैभन्दा व्यस्त अभिनेत्रीका रुपमा उनी परिचीत छिन् । उनको बलिउड एन्ट्रीसँगै रश्मिकाले छोटो समयमा नै आफ्नो स्टारडम बनाउ

प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

  • 16 minutes ago
प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका कु

आज सुनको भाउ कति ?

  • 35 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।