Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री प्रचण्डले बुधबार बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने

प्रधानमन्त्री प्रचण्डले बुधबार बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने


काठमाडौँ। लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय भोलि उद्घाटन गर्ने तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए । त्यसका लागि आवश्यक तयारी पूरा भएको उनको भनाइ छ । भोलि हुने कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणा गरिएको छ ।

कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसकेका छन् ।

“राष्ट्रिय गौरवको आयोजना सुरु भयो भनेर सन्देश दिन लागिएको हो”, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, “यसले आम रुपमा पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्दछ र विश्वासको वातावरण पैदा हुन्छ ।”

सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । यस्तै, घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजना प्रभावितले अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गर्दै आएका छन् । यस्तै, मुआब्जा वितरणको काम शीघ्र सम्पन्न गर्न तथा अन्य व्यवस्थापकीय कामलाई गति दिनसमेत उनीहरुको माग छ ।

स्थानीयवासीले उठाएका जायज मागलाई सरकारले सम्बोधन गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । आयोजनाको दिगोपनका लागि पनि स्थानीयवासीको माग सम्बोधन हुने तथा आवश्यक निर्णय गरिने उनले स्पष्ट पारे ।

आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आएका थिए । चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने बताउँदै आएका छन् । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् ।

सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ । आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । केही दिन पहिले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वाधार करमार्फत उठेको रकम मुआब्जा वितरण लगायतका काममा खर्च भएको जानकारी गराएका थिए ।

सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइलाई नै कम्पनीमा रुपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा इकाइकै प्रमुख श्रेष्ठलाई नियुक्त गरेको थियो । इकाइको कार्यालय रहेको गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा कम्पनीको कार्यालय स्थापना हुनेछ ।

आयोजनाबाट धादिङ र गोरखाका करिब ५० हजार मानिस प्रभावित हुनेछन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सन् २०१४ मा नै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारिसकेको छ । लामो प्रतीक्षापछि आयोजना निर्माण हुने विश्वास बढेर गएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्थानीयवासीले समेत सकारात्मक रुपमा सहयोग गर्ने बताए ।

आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ । त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ । धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ । बढी बिजुली माग हुने काठमाडौँ, पोखरा, नारायणगढलगायतका ‘लोड सेन्टर’ नजिकको सो आयोजना आफैँमा महत्वपूर्ण मानिएको छ ।

सरकारले २०७९ साल असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । लामो समयसम्म स्वदेशी वा विदेशी लगानी भन्नेमा आवश्यक निर्णय लिन ढिलाइ हुँदा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । नेपालको ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण मानिएको सो आयोजना निर्माणका लागि सरकारले रु ६० अर्ब अधिकृत पूँजी रहने गरी कम्पनी स्थापना गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा केही दिन पहिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले आयोजना स्थलको निरीक्षण गरेका थिए । कम्पनीमा प्राधिकरणको नै शेयर हिस्सा बढी रहनेछ । त्यसका लागि अध्ययन समितिले काम गरिरहेको र आवश्यक निर्णय लिइने बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT