साँच्ची तपाईं झुट बोल्नुहुन्छ र गुरु ?

Norvic Hospital

चिनारी जरूरी छैन त्रिभुवन विश्वविद्यालय मुलुककै जेठो विश्वविद्यालय हो । रुचिकर सत्य हो कि , आम मानिसको उमेर र शैक्षिक संस्थाहरुको उमेर बिच लगभग विपरित सम्बन्ध हुन्छ । हामी मानवहरु उमेर बढ्दै जाँदा शारिरिक अनि मानसिक रुपमा बिस्तारै स्खलित हुँदै जान्छौं । तर, शैक्षिक संस्थाहरु जति छिप्पिँदै जान्छन् , कर्मको हिसाबमा उतिनै जवान, स्फुर्त अनि प्रभावकारी हुँदै जान्छन ? हुनुपर्छ । 

 

बिडम्बना ! त्रिभुवन विश्वविद्यालय यो सत्यको अपवाद जस्तो भैदियो अथवा हुने प्रयासमा भए झै देखिन्छ । आफ्नै सिको गर्दै जन्मिएका अरु भाइ / छोरा /  नाति विश्वविद्यालयहरु ( त्रीवि को तुलनामा ) चुस्त देखिन्छन । उसो त समस्या अरु संस्थाहरुमा पनि नभएका होईनन । तर त्रीवि समस्यै समस्याको जालोमा यसरी बेरिँदै गयो वा बेरिँदै छ , कि यस्तो लाग्छ यो मुलुककै अग्रणी सस्था नभई समस्याहरुको माकुरे जालो हो । आग्रह / पूर्वाग्रहको चस्मा नलागाई खुला नजरले हेर्ने हो भने , सारा रस चुसेर फालिएको कुरुप अस्थिपन्जर जस्तो देखिन लाग्यो हाम्रो पूज्य संस्था ।

 

देख्न नचाहेको हो अथवा हेर्ने नजरमा दोष छ ? सस्थाको बागडोर सम्हाल्ने कसम खाएका आदरणीयहरु , आफ्नो कुर्सी देखि दायाँ / बायाँ /अघि / पछि जता घस्रीए पनि समस्याको चाङ्गमा ठेस लाग्ने अवस्थामा हुनुहुन्छ । र पनि देख्नुहुन्न वा अनदेखा गर्नुहुन्छ ? जवाफ भेट्दिन म जति प्रयास गरे पनि । सारा समस्याको पोको यहि एउटा आलेखमा समेटिन असम्भव छ पक्कै । तसर्थ मेरो विषयमा प्रवेश गर्छु म । उसो त त्रीवि को दैनिक ज्यालादारीमा श्रम साट्ने कर्मी भएको त्यति लामो समय भएको छैन । तर शैक्षिक मजदुर भएकै दिन अन्तस्करणमा कतै च्वास्स घोचेको हो , अन्तर्वार्ता लिने एकजना गुरुले महिनाभरको ज्याला दर्खास्त दिनै खर्चिनुभएछ , कसरी जिउनुहुन्छ ? भन्ने सवाल गर्दा । उति खेर त्यति वजनको लागेन सवाल अनि हासेरै दिएथेँ जवाफ पनि, तपाईं जसरी जिउनु हुन्छ  उसरी नै जिउला नि गुरु ।  मेरो जवाफमा मात्रै हल्का मुस्काए झैँ गरेथे गुरु । तर समय गुज्रीदै जादा धिमा गतिमा बुझेझैँ मान्दैछु , त्यो कुटिल मुस्कानको भित्री रहस्य ।  

 

सायद क्याम्पसमा फेरि अर्को  ‘बकरी हलाल हुन आयो’ भन्ने सम्झेर मुस्काउनु भएको हुनुपर्छ गुरुदेव त्यो बेला । म अनविज्ञ नै थिए उ बेला कि मुलुककै अग्रणी शैक्षिक सस्थामा यो सम्मको शोषण हुन्छ भनेर । आफू नमरी स्वर्ग नदेखिने नै रहेछ । जब मजवूरिमा गरिने मजदूरिमा फसे तब थाहा लाग्यो , हेर्दा अस्थिपन्जर मात्रै देखिने यो संस्थाले कति मज्जाले चुस्ने रहेछ म जस्तै मजवूर मजदूरहरुको रगत/पसिना । 

 

यो अवधिमा एउटा सत्यसँग साक्षत्कार भयो मेरो कि विश्वविद्यालयको दैनिक ज्यालादारीमा भर्ती हुनु भनेको देशको नागरिकको दर्जादेखि च्यूत हुनु हो । मजदूर अरु क्षेत्रमा पनि छन् थुप्रै तर खुशिकै कुरो मान्छु म उनिहरुको नागरिकको दर्जा खोसिदैन मात्रै मजदूर हुदा । म जस्तै अरु आशिंक शिक्षकहरू आम नागरिकले देशको नागरिक भए बापत उपभोग गर्न पाउने अधिकार देखि बन्चित छन् दशकौं देखि । म जस्तैका लागि शनिबार , सार्वजनिक बिदा बनेर आउँदैन । कुनै चाडपर्व मनाउने अधिकार छैन हामिलाई । विश्वविद्यालयका आशिंक शिक्षकहरूलाई जाडो र गर्मी दुवैले छुनै सक्दैन । यहि मान्यता मगजमा भरेर कुनै जल्लादले आशिंक शिक्षकको परिभाषा निर्माण गरिदियो अनि त्यही परिभाषाको रटानमा रम्नु भयो मेरा आदरणीय गुरुहरु पनि ।

 

आज सबै गुरुहरु प्रती ससम्मान केही प्रश्न गर्ने अनुमती चाहन्छु । प्रत्येक शनिबार तपाईं सपरिवार सप्तहान्त मनाउन घर बाहिर निस्किँदै गर्दा कुनै दिन झुक्किएर पनि म जस्ता मजदूरको खयाल आउँछ कि आउदैन ? जाडो याममा शितलहर अनि तुसारो छल्दै हिटर तापेर तातो चिया / कफि पिउँदै गर्दा म जस्ताको जमेको हाल सम्झिनु हुन्छ ? दशैँ तिहार मनाउने तरखरमा देशले दिएको चाडमनाउने बक्सिस , महिनाभरको भत्ताले खल्ती भरेर घर लम्किने वेला , नूर गिरेको मेरो अनुहारको तस्बिरले कहिल्यै दुख्नु भो तपाईं ? पक्कै दुख्नु भएन । कुनै पनि पल म अनि म जस्तैको याद झुक्किएर पनि आएन । र त अझै वेखबर हुनुहुन्छ म अनि मै जस्ता मजबुरहरुप्रती ।

 

तर गुरु तपाईंकै जस्तै हाम्रा पनि परिवार छन् । शरीर मेरो पनि रगत मासु कै हो , निर्जिव ढुङ्गाको होइन । तपाईलाई जाडो लाग्दा त्यही महसुस हुन्छ मलाई पनि । गर्मी हुदा मेरो पनि छुट्छ पसिना । तपाईं अनि तपाईं कै परिवारलाई झैं म अनि मेरो परिवारलाई पनि आफ्नो भागको खुशी सङ्गै चाड मनाउने रहर जाग्छ गुरु । लगभग म जत्तिकै खट्नुहुन्छ तपाईं पनि । तपाईले पढाउने कक्षाकोठामै पढाउँछु म पनि । तपाईलाई चिन्ने विध्यार्थिले मलाई पनि चिन्छन गुरु । तर परिश्रमको पारिश्रमिक हेर्नुहोस गुरु , त्यति नै खटे बापत तपाईलाई शनिबार आउँछ , जाडो अनि गर्मी दुवै याममा आराम गरे बापत तलब पाउनुहुन्छ , चाड मनाउन भत्ता लिनुहुन्छ । तर तपाईं जत्तिकै खट्ने मेरो गाँसहरु काटिन्छन् ती पलहरुमा । अब यो पनि जवाफ दिनुहोला हप्ताको प्रत्येक शनिबार छाक टार्ने मेसोमा कहाँ भट्किउ म ? ज्याला बिनाको मजदूर बन्नु परेपछि कसरी काटुँ जाडो अनि गर्मी ? अनि कसरी मनाउनु मैले चाडपर्व ? तपाईको नजरले यसलाई अन्याय देख्छ कि देख्दैन ? जवाफ चाहन्छु गुरु ।

 

तपाईको मौनता असह्यै भै सक्यो । अब चुप बस्न पाउनुहुन्न तपाईं । हो वा होईन ? व्याख्या बिनाको जवाफ चाहन्छु म ।मेरा सवालहरुको एकमुष्ट जवाफ बेलाबखत सुनेको पनि हुँ मैले । ‘हुति हुनेले आयोग लडेर मै बराबर भए भै गो नि’ भन्ने । तर जवाफ चित्त बुझ्दो भएन गुरुदेव । तपाईं आफै भन्नुहोस्  ! तपाईको निर्देशनमा खुलेको कोटा बराबरको जनशक्तिले विश्वविद्यालयको बोझ थेग्न सक्छ ? तपाईं आफैले कोर्नुभएको शैक्षिक क्यालेन्डरभित्र कति समयको अन्तरालमा आयोग खोल्ने वाचा गर्नुभएको छ ? वाचा पूरा गर्नु भयो कि , कोरेर मात्र वेवारिसे छोड्दिनुभो आफ्नै वाचा ?  अरु पक्षको त कुरा कोट्याउन पनि लाज र ग्लानिले छोपिन्छु म । तपाईले लिने परिक्षामा कालूले गरेको परिश्रमको मूल्य भालुको भाग परेको ईतिहास भुल्नु भो कि याद छ ? कालूलाई भालु अनि भालूलाई कालू बनाउन खटिएको तपाईका कारिन्दाहरु भकाभक छतबाट फालहानेर इतिश्री भएको ईतिहास पनि याद होला भयो, कि भुल्नुभो ? अनि यत्तिका बितण्डा आफूले मच्चाएर हाम्रो क्षमतामा प्रश्नचिन्ह लगाउनु अघि बिचार गरिबक्सियोस एकफेर । र पनि जाचिन खुट्टो कमाएको हुँदैहोईन । निस्पक्ष वा तपाईं सापेक्ष नै किन नहोस तपाईले नै तोकेको समयमा जाचिने अवसर दिनुहोस सके जाचिन्छु नसके जाचिन सक्नेलाई फूलमाला पहिर्‍याएर स्वागत गर्दै मैदान छाडुँला । तर यो अवसर पनि झुक्याए झैँ गरि ल्याएर हामी माथि परेड खेल्ने तपाईको रहर अब सहन सक्दिनँ गुरु ।

 

चित्त नबुझ्दो अर्को जवाफ पनि दिदै हिँड्नुहुन्छ तपाईं चिया पसलतिर; विश्वविद्यालयले नियमानुसार ज्याला तिरेकै छ भन्ने । नियाम  विनियम कै तपाईं कै दलिल पनि अपुर्ण छ गुरु । विश्वविद्यालयको कुन नियम / विनियम / धारा / उपधारामा लेखिएको छ , सस्थाले ज्यालादारी मजदूर पाल्न पाउँछ भनेर ? फेरि देशको मूल कानुन संविधानमै उल्लेख भएको बिषय हो , समान कामको समान ज्याला हुनुपर्छ भन्ने । देशको मूल कानुन मिचेर प्रस्तुत हुने तपाईको दलिल आफैमा बिरोधाभाष पुर्ण छ । सामन्ती सोचले भरिपूर्ण र पूर्वाग्रही छ । स्विकार गर्छु , प्रत्येक संस्थाहरुमा कामदारको क्षमता परिक्षणको निश्चित अवधी हुन्छ । तर कहिल्यै नटुङ्गिने तपाईको परिक्षण अवधी कति अन्यायपूर्ण छ बिचार गर्नुहोस् । परिक्षण अवधी पाँच / छ महिनाको , एक वर्षको वा दुई वर्ष कै होस् , स्विकार्न सकिन्छ । तर डेढ दशक वा सो भन्दा लामो परिक्षण अवधी कसरी न्यायपूर्ण हुनसक्छ ? सवाल कार्यक्षमता कै हो भने , नढाँटी भन्छु । आजभोली लाग्दै छ , तपाईं झुट बोल्नुहुन्थ्यो ? बोल्नुहुन्छ । म अनि मै जस्ताको अघि पर्दा गोहिको आँसु झारे झै गर्नुहुन्छ । मन नलाई/नलाई स्विकार पनि गर्नुहुन्छ , त अनि तै जस्ता कारिन्दा बिना विश्वविद्यालय चल्न सक्दैन । हाम्रो भोको पेट आन्दोलित हुँदा , सरकारी खर्चमा क्याम्पस/क्याम्पस चहार्नु हुन्छ । सम्झौतामा हस्ताक्षर पनि गर्नुहुन्छ तर सम्झौतामा गरिएको हस्ताक्षरको मसि सुक्न नभ्याउँदै भुल्नुहुन्छ वा भुले झै गर्नुहुन्छ , कि सम्झौता के कुरामा भएको थियो । यदि तपाईं झुठो हुनुहुन्न भने प्रमाणित गर्नु पर्‍यो । कार्यन्वयन गराउनु पर्‍यो आफैले गरेका सम्झौताहरु । अब मलाई तपाईं माथी नै शङ्का हुन लाग्यो कि तपाईं झुठो हुनुहुन्छ र तपाईं आफैलाई पनि विश्वास भईसक्यो अब मेरो विश्वास गर्न छाडिसक्यो जगतले । त्यसो नहुदो हो त तपाईं अनि तपाईं जस्तै धुरन्धर विद्वानले मानेको सत्य कार्यन्वयन नहुने भए तपाईहरुको बिज्ञाताको के अर्थ भो ? कि तपाईं आफैलाई पनि शङ्का छ आफ्नै ज्ञान/अनुभव/अनुसन्धान प्रती ?

 

निश्चित अवधी पछि संस्था छोडेर जाने मार्ग प्रसस्त किन गर्न सक्नुभएन ? यहाँनेर तपाईको नियतमाथी शङ्का भयो । म जस्तै आशिंकहरुले संस्थाको अधिकतम बोझ उठाईदिए बापत , चिया पसलमा गफिने समयको मायाले पो हो कि , हामिलाई जाने बाटो थुन्न लालयित बनाएको ? यसैसँग जोडिएको कुरुप सत्यसँग कहिले साक्षतकार हुन्छ तपाईको ? धेरै अघि फर्किनुपरेन । मात्रै दशक अघि पुगेहुन्छ । दशक अघि राष्ट्रको परिभाषा कस्तो थियो , सार्वभौमिकता कसरी परिभाषित थियो ? देशको झण्डाको व्याख्या कस्तो थियो ? मुलुकको जाती/जनजाति कसरी परिभाषित थिए ? मौलिकहक अधिकारहरु के कस्ता थिए ? यहि अवधिमा देशमा आमूल परिवर्तन भयो । पुर्वस्थापित मूल्य मान्यताहरु स्खलित भए । देश सञ्चालन गर्ने मूल कानुन अपुर्ण भयो अनि मूल कानुन परिवर्तनसँगै सबै क्षेत्रहरूको नयाँ परिभाषा जन्मियो । तर बिडम्वना ! मूलुकको हर क्षेत्रको परिभाषाहरु परिवर्तन हुँदै गर्दा , हिजो कुनै निरङ्कुश सामन्तिले स्थापित गरेको आशिंक शिक्षकको परिभाषा बदल्नु पर्ने बेला तपाईको ज्ञान कसको बारी चर्न गयो ? कि यो परिभाषा ढुङ्गाको लकिर या ध्रुवसत्य हो जुन परिवर्तन हुनै सक्दैन वा परिवर्तन गरिनु हुदैन । होइन भने यो असमान , अन्यायपूर्ण परिभाषा बदल्न तपाईं आफैले मोर्चा कस्नुको बदला उही धुजाधुजा परेको क्रूर परिभाषाको फेरो समातेर हामी माथिको दमनमा उत्रिन तयार हुनुहुन्छ भने , हेक्का होस गुरु परिणाम प्रत्युत्पादक बन्ने छ ।

 

 

तसर्थ सबिनय अनुरोध छ । तपाईको बोली झुठो नठहरियोस अब । होईन भने कार्ल मार्क्स को भनाई साक्षी राख्दै एउटा भविष्यवाणी म पनि गर्छु आज । मार्क्स भन्छ्न ‘मान्छेको बुद्धि पेटको भाडो भएर हिड्छ’ रे । बुद्धि कुन बाटो हिड्ने गर्छ ? ठ्याक्कै ज्ञान त भएन गुरु मलाई तर मेरो बुद्धि मेरै खाली पेटको बाटो हुँदै हिड्दै गर्दा फेरि पनि तपाईले झुट बोल्नु भो भने मेरो मति बिग्रन सक्छ । मति बिग्रीएपछि हिजो विश्वविद्यालयमा भएको अग्नि काण्ड दोहोरिन सक्छ । ईतिहास दोहोर्‍याउँदै , झुट बोल्न माहिर तपाईको मुख बोक्ने चिल्लो अनुहार र पीडा बोक्ने मेरो खस्रो हातको कालो एक आपसमा मिले भने , मलाई दोषी नमान्नुहोला ।

 

 अस्तू !!!

(लेखक पृथ्वीनारायण क्याम्पस , पोखरामा अध्यापनरत छन् । )

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 2 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 7 minutes ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 26 minutes ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।