नागरिक बिहिन राष्ट्र

Norvic Hospital

२०६२/६३ सालको राष्ट्रव्यापी अग्रगामी आन्दोलन पश्चात् निर्माण भएको एउटा राजनैतिक परिवर्तनको सतही र अपुरो विश्लेषण हुनेछ सायद यो आलेख । परिवर्तनका निम्ति लडिएका सम्पुर्ण संघर्षहरुको विश्लेषण गर्ने न मेरो ल्याकत छ । न त तपाईलाई मेरो विश्लेषण पढेर बस्ने फुर्सद नै । तसर्थ यो आलेख भित्र पछिल्लो जनान्दोलनले निर्माण गरेको एकखाले राष्ट्रिय चरित्रलाई सतहमा खोस्रीन खोज्दैछु । यो चरित्रको सतह खोस्रीदै गर्दा एउटा अजिव सत्य थाह लाग्यो  तपाईं हाम्रो देश नागरिक र जनता बिहिन भइसकेछ ।

 

झट्ट सुन्दा विश्वास लाग्दैन पक्कै । मात्रै शिर्षक हेरेर कुलेलाम ठोक्नेहरुले यो आलेख लोक सेवा घोक्नेहरुको खुराकी हो भन्ने अनुमान पनि गर्लान् । किनकि यो आलेखले विश्वमा नागरिक बिहिन कति राज्यहरु होलान , भन्ने जानकारी पो देला कि ? भन्ने अनुमान उब्जाउन सक्छ । तर हाल यी सबै शङ्का र उपशङ्काहरुलाई थाती राखौं । र , आउनुहोस् तपाईं र म मिलेर यो आलेखको शिर्षक प्रामाणिकरण गर्न तिर लागौं ।

 

यतिन्जेल तपाईको पनि मन अनि मगज दुवैतिर शङ्का जागिसक्यो पक्कै । कतै लेखकमा मानसिक असन्तुलन त छैन ? मेरो तर्फको अति स्पष्ट जवाफ छ मित्र । स्वयम् अनुशार म पुरापुर होसहवासमै छु । अब लागौ खास जिज्ञासा तर्फ, कि देश ६२/६३ को परिवर्तनपछि कसरी नागरिक बिहिन भयो ?

 

तथ्य जगजाहेर छ । ६२/६३ को परिवर्तन पश्चात् पनि केहिथान नाम मात्रैका राष्ट्रिय आन्दोलन उठाउने प्रयासहरु भए । र , परिणाम पनि देखि सक्यौँ; सबै आन्दोलनहरु बिचैमा कतै बिलिन भए । आन्दोलन त्यति निर्मम रुपले तुहिनुको एकमात्र अनि महत्वपूर्ण कारक यहि हो कि , ती आन्दोलनहरुमा जनसहभागिता नगन्य रहन पुग्यो । फलस्वरूप आफ्नै झोलिका अन्धो कर्याकर्ताहरुलाई त्यो अभियान बोकि कुद्ने समय र जाँगर दुवै भएन र आन्दोल बिसर्जन भयो ।

 

अब मात्रै एक अनि आधा दशक अघी फर्केर जाउ तपाईं र म । एकपल्ट स्मरण गरौँ जनआन्दोलनको त्यो जादुयी दृश्य । उ बेला तपाईं र म सङ सङ्गै लाखौं भूइमान्छेहरु सडकमा थियौँ । त्यो बेला हामी सबैमा न राज्यद्वारा बन्दी हुने चिन्ता थियो स न त सडकमै गुमनाम मारिन्छौँ कि भन्ने डर । थियो त केवल मन भरिको निकट भविष्यको सुन्दर परिकल्पना र आफ्नै राज्यद्वारा आफैमाथी गरिएको ज्यादती बिरुद्दको आगो । आफ्नै मुलुकभित्र अनागरिकको बिल्ला भिरेर बस्न न तपाईं राजी हुनुभो न त म । तसर्थ जनसागर उत्रीयो । र त्यही बलमा निरङकुशता टाङमुनी पुच्छर छिराएर कतै दमपच भइदियो ।

 

स्वभाविक हो , त्यति बिघ्नको जन उभारले कयौं परिवर्तनहरुका बिजारोपण गरिदियो । तर उति नै बेला तपाईं र मैले भूली गएको तितो यथार्थ के पनि हो भने स सत्य हो , बिजारोपण निकै महत्वपूर्ण हुन्छ । तर बिजारोपण पछिका चरणहरु पनि उति नै महत्वका हुन्छन् भन्ने सत्य निकै कमजोर भइदियो । अथवा यो सत्यलाई भुल्यौँ तपाईं र म दुवैले । परिवर्तनका उपलब्धिहरु जोगाउने पलमा बिभाजित मानसिकताले अल्मल्यायो हामिलाई । फलस्वरूप नाम / पहिचान / जात / धर्म / संस्कृती जे अनुकुल छ उही अघि सार्दै बिभाजनमा उत्रियौँ हामी । जसको प्रत्यक्ष फाईदा नवसिर्जित छावाहरुको भागमा पर्न गयो । तपाईं र म बिभाजनको नमिठो / अपुरो / दयालाग्दो दौडमा सामेल भएको मौका छोपेर छावाहरु जवान भै गए । दुर्भाग्य मात्रै तपाईं र मेरो शिरमाथी पर्न गयो । किनकि यो बेला चाहना हुदा हुँदैपनि जवान हात्तीसँग जोरि खोज्ने ल्याकत तपाईं र म दुवैसँग छैन । उ बेला हामी बिभाजित नभइदिएको भए । कष्टपुर्ण संघर्षबाट जन्मिएको परिवर्तनको मुना झ्याङ्गिएर लगभग हामी सबैलाई शितल प्रदान गर्ने हैसियतमा पुगेको हुन्थ्यो सायद । तर हाम्रै कमजोरिको फाइदा उठाउँदै उर्जावान/स्वाधिन / स्वार्थरहित / निश्कलङ्क हज्जारौं नागरिकहरु आफैले पत्तो नपाउने गरि अन्धो कार्यकर्तामा परिणत भए । यहि जगमा उभिँदै मैले यो उद्घोष गरे ; हाल मुलुकमा कि त पक्ष को उपस्तिथि छ कि त बिपक्षको । तपाईं र म जस्ता आम नागरिकको कहिँ कतै उपस्थिती नै छैन । मतलब अहिले देश नागरिक बिहिन छ ।

 

विश्वका अन्य मुलुकहरुसँग तुलना गरि हेर्ने हो भने नेपाली जन तुलनात्मक रुपमा अन्य मुलुकका नागरिकहरुभन्दा सहनशिल पाउँछौ हामी । आफ्नो वर्कतले धान्ने जतिको उत्पिडन / अन्याय / अपमान सबै सबै चुपचाप सहन गर्न सक्छौँ । तर त्यही उत्पिडनको सिमा पार हुने बेला हामी जतिको उग्र समूह अन्य मुलुकमा खोजेरै पनि नभेटिएला । त्यही विशाल आन्दोलनका उपलब्धिहरु मात्रै एक अनि आधा दशक कै उमेरमा छ । नामोनिशान मेटिनुपर्ने उत्पिडन / अन्याय / अपमान / असमानता पुरानै स्वरुपमा छन् तर हामी चुपचाप र गुमनाम छौ । मतलब यी सबै कुराहरु स्विकार गर्न मिल्ने र सक्ने परिधी भित्रै सिमित पो छन कि सायद ? होईन भने फुच्चे हात्ती बा र आमा भन्दा ठूलो भएर राष्ट्र दोहोनमा उत्री सक्यो तर तपाई र मलाई बाल छैन । हामी मस्त निन्द्रा मै छौँ । तपाईं र मेरो यो प्यारो निन्द्राको पछि केही राजहरु र कारणहरु छन् पक्कै ।

 

राजहरुको सवालमा मेरो मगज बोल्छ ; परिवर्तन पश्चात् जागा भएका तपाईं हाम्रा आशाहरु हठात मुर्छित भए वा गराईयो । सबै जनलाई कर्मी माहुरी बनाउने अभियानमा निस्किएका मित्रहरु रातारात श्वेत हात्ती बनेर निस्किएपछि । आजकल आफ्नैप्रती विश्वास गुमेको छ । तर जिम्मेवारीको अदृश्य साङ्लोले तपाईं र मलाई यति नमिठो गरि बाँधिदियो कि आफ्नैहरुका बिरोधमा बोल्ने आट भएन हामिलाई । तसर्थ हाम्रो मौनतालाई स्वीकृति करार गर्दै देश भक्षणको यात्रामा निस्किए हाम्रा बिगतका मित्रहरु । अहिले हेर्नुहोस् ; रणाको र नाटक र बिरोध जे सुकै नाम दिनुहोस् । सबै घटना र परिघटनाहरु तैले मात्रै खाईस् , मैले खान पाईन भन्नेमा सिमित छ ।

 

ब्रम्हाण्डकै सर्वश्रेष्ठ प्रजाती भएर पनि सबै खाले अपमान / अन्याय / असमानता / उत्पिडनहरुलाई मौनता बिच साचेर राख्न सक्ने अजिवको क्षमता सायद हाम्रै पुर्खाहरुबाट तपाईं र मलाई मुफ्तमा मिलेको हुनुपर्छ । वा हामिलाई पनि हाम्रैहरुप्रती रत्ती भर विश्वास रहेन । जुनसुकै स्वरुपको संघर्षमा उत्रिएपनि संघर्षका उपलब्धिहरु संस्थागत गर्ने बेला पाक्न नपाउदै भागबन्डाको रोईलो झिकेर भाँडो घोप्ट्याउने संस्कारदेखि माथी उठ्नै सकेनौ हामी ।

 

जन आन्दोलनकै थोरै अघिको नेपाली राजनीति वा समाजको परिदृश्य सटिकमा चिहाउने हो भने पनि तस्बिर अझै ताजै देख्न सक्छौँ हामी । कति नमिठो र पिडादायी क्रुर काटमारको बिचमा जिउदै थियौँ । समानता प्राप्तिको दूत बनेको हाम्रै आफ्नै संघर्षले हाम्रो आफ्नै जीवन स्वाहा भएको टुलुटुलु हेर्न वाध्य थियौँ । र पनि , सबैखाले अन्यायहरुको समुल अन्त्य हुन्छ भने जाबो नाशवान एकथान शरिरको पर्वाह गरेनौँ । परिणामस्वरुप हजारौं प्राणहरु उडेर कतै पार्श्वमा बिलिन भए । उनै दिवङ्गत प्राणहरुले पनि जन आन्दोलनको पृष्ठभुमि कोर्न महत्वपूर्ण सहयोग गरेको तथ्यलाई नकार्दिन म ।

 

पुनः त्यो पृष्ठभुमिको आधार निर्माणमा केही शब्दहरु खर्चिन चाहेँ  । युद्धको पृष्ठभुमि पनि स्वत निर्माण भएको थिएन । त्यही अवस्था निर्माण गर्ने क्रममा पनि केही ज्ञात / अज्ञात प्राणहरुको कुर्वानी भयो । संघर्षको दौरान मुश्किलले प्राण बचाउन सफल भएकाहरु मुलतः परिणामको उपयोगबाट कोषौं टाढा दूर दराजमै छुटिगए । हिजो संघर्षलाई सर्वेसर्वा ठानेर होमिएका लाखौं जन आज आफैले उचित ठानेको संघर्षप्रती धारेहात लगाउदै पुर्पुरो समाएर बस्न वाध्य छन् । समग्रमा जन आन्दोलनको पृष्ठभुमि निर्माणमा खर्चिएका सम्पुर्ण प्राण र पसिनाको हाम्रै आँखा अघि अपमान भयो र हुदैछन् ।

 

अब तात्तातो बहस तिर लैजान्छु म तपाईलाई । सबैलाई मान्यहुने विधि निर्माणमा सँगसँगै हिँडेकाहरु अहिले आ-आफ्नै गाड कोराकोर गर्न व्यस्त छन् । नाम मात्रैका प्रतिपक्षहरु यहि रमितामा मस्त छन् । प्रत्येक दिन जसो पक्षबिपक्षमा गरिने बहस पैरवी , सडकछाप नारा जुलुस , जिन्दावाद - मुर्दावादले सामाजिक संजाल र मिडियाहरु रङ्गिएका छन् । एक पक्ष विधि मिचियो । लोकतन्त्र धरापमा पारियो भनेर बिलौना गर्दैछन् । उतिनै खेर अर्को पक्ष सबै प्रक्रिया लोकतन्त्र सुदृढ बनाउन चालिएको कदम हो भनेर बचाउमा उत्रिएका छन् ।

 

अचम्मको बात ; परिवर्तनका खास हिस्सेदार , आवाज बिहिन भूईमान्छेहरुलाई के मिचियो / के खतरामा पर्‍यो / कसले धेरै खायो र कस्लाई भागसम्म बस्न दिएन ? सबै घटना र परिघटनाहरु देखि वेखबर छन् । जसको सहजता / उन्नती / प्रगती / समृद्धि र सम्मानको लागि जिन्दावाद र मुर्दावादको नारा जोड जोडले घन्किएको छ , उनै मान्छे बेखबर बनेको यो पक्ष बिपक्षको बहस पैरवी वा जिन्दावाद र मुर्दावादको नाटक पुर्ण रुपले आफैमा खारेज भएको छ । किनकि यी सबै प्रक्रियामा उनै कतै पार्श्वमा छाडिएका हरुको न सहमति छ । न असहती । न त चाख नै । परिवर्तनले छुनुपर्ने खास मान्छेको चासो नभएको बिषय मात्रै आफ्ना अन्धो झोलेहरु बोकेर धेरैबेर उत्कर्षमा टिक्न सक्दैन । न त यसले खास परिणम भित्र्याउन सक्छ । तपाईलाई ठोकुवा गरेर भनु ? यो जिन्दावाद - मुर्दावादको प्राण अबको केहिदिनमा फुस्स उडेर जानेछ ।

 

सेतो हात्तिका छावाहरुलाई लोकतन्त्र / समानता / समान अवसर / समान हैसियत त्यति प्यारो लाग्दो हो त सडक अहिले होईन धेरै पहिले तातेको हुनुपर्थ्यो । यसलाई मात्रै गाली नसम्झनु मित्र । यदि यी कुराहरु सत्य हुन्थे भने अरुले बनाईदिएको जाबो केही मिटरको पुन्टे पुल उद्घाटन गर्न अवरोध गरेको रिस फेर्न रामचन्द्र बाले देशभरका आफ्ना झोलेहरुलाई सडकमा उतार्ने थिएनन् । हैन भने पुल उद्घाटन गर्न नदिएको झोकमा रोडमै बस्छु भनेर अड्डि कस्ने रामचन्द्र बा उखु किसानले पसिनाको मोल मागेर राजधानिको चिसो सडकमा पलेटी कस्दा कता हराउनु भाथ्यो ? आफ्नो उत्पादनको मूल्य हराउनु कुन हदको अराजकता हो ?

 

नाम मात्रैको प्रतिपक्षले किन बुझेन यो ? यसलाई पनि छाडौं केहिबेरलाई । आफ्नो अभियानको मुख्य आधार तराई र मधेस लाई मान्ने मधेश केन्द्रीत दलहरु कता गुमनाम थिए ? आफ्नो पद खोसिँदा सडक उत्रिएर गला सुकिन्जेल समानता / लोकतन्त्र र बिधिको वकालत गर्नेहरु गरिब किसानले आफ्नो पसिनाको मोल मागेर बिलौना गर्ने बेला किन लुकि बसेको ?

 

आफ्नै प्रजातिले घचेटेर सडक पुर्‍याए भनेर सत्तो सराप गरि बसेका सडकछापहरुले भूईमान्छेहरु माथी गरिएको अपमान र अपराध र अन्यायलाई कहिले देख्ने हुन् ? हामी माथी अन्याय भयो , देश दुर्घटनामा जान लाग्यो , हाम्रो कुर्सी जवर्जस्ती खोसियो जे सुकै भनेर रोईलो गरेपनि अब तपाईहरुका पछि एक जना नागरिक उभिनेवाला छैनन् । किन कि अप्ठ्यारोमा नागरिकलाई गुहार्ने नैतिक हैसियत गुमिसक्यो तपाईहरुको । फेरिपनी तपाईहरुलाई लाग्ला अझै हजारौं कार्यकर्ता सडकमा छन् । हाम्रो समर्थन अनि बिरोधिहरुको बिरुद्द हातमा फोहोरा  उठ्नेगरी ताली बजाउँदैछन् । यो यथार्थ सत्य नै होला । तपाईहरुका भाषणमा अझै गगनभेदी तालिका फोहोराहरु बज्लान् । तर होसियार यति मात्रैले तपाईलाई सुरक्षित राख्न सक्दैन । तपाईको पछिलागेर बेकारको ताली बजाएर आफ्नै हातमा फोका उठाउने जिवहरु मान्छे होईनन् मेशिन हुन् । जसको दिमागमा तपाईले आफ्नो मर्जिको सफ्ट्वेर भरिदिनुभएको छ । वा यी भाडाका कामदार हुन् । जस्लाई तपाईं आफ्नो आवश्यकता अनुशार उपयोग गर्न सक्नुहुन्छ । तपाईले रिसाउ भन्दा रिसाए झैं गर्छ्न् । हाँस भन्दा हाँसे झै गर्छन् । दकुर भन्दा बेतोडले दकुर्छन पनि । तर कामदार न हुन् । कुनै दिन तपाईं भन्दा बेसि ज्याला दिने मालिक भेटिदा तपाईलाई चिन्दैनन तिनले । तपाईं पनि त तिनका गलामा बाधिएको पट्टा हेरेर पहिचान गर्नुहुन्छ नि तिनलाई । त्यही भएर गलाको पट्टा फेरिने दिन चाल चलन र बानी व्यबहार र नैतिकता सबै हराउँछ । अब भन्नुस् यस्ता मेशिन बोकेर तपाईको आन्दोलन कति पर सम्म पुग्ला ?

 

आलेखको बिट मार्नु अघि केही कुरा सत्ताधारी प्रती नकोरिए मै पनि पट्टाधारी बन्छु पक्कै । तर मैले यो पाटो उप्काउनुको आशय म मेशिन होईन भन्ने पुष्टि गर्नलाई हो भन्ने तपाईको बुझाई हो भने तपाईको बुझाई अलि अपुरो होला कि ? भन्ने मान्छु म । किन कि तपाईं मलाई के ठान्नुहोला भन्ने डर मनै भरी बोकेर लेख्दै छुईन म यो आलेख । यो अर्थमा मलाई जुन सुकै कित्तामा लगेर उभ्याउनुहोस् त्यो तपाईको मर्जी ।

 

अ त म केही कुरा सुरु गर्दै पो थिए हैन ? हो ! जरुर हो भन्नू भो होला तपाईले मन मनै । हैन र ? अब हो भने कुरा सुरु गरौं । हालको सत्तापक्ष मतलब ओलि बा एन्ड कम्पनी मिलेर सबै खन्चुवा हरुको निद हराम गरिदिए । सरसामान जुटाउने समयमा निकै मेहनत खर्चिएको कारण । मन र पेट दुवै भरिन्जेल ज्युनार गर्न पाउनुपर्छ भन्ने कम्पनिको आशय होला । यसमा मेरो खास आपत्ती पनि छैन । तर धेरथोर सबैको मेहनत मिस्सिएर पाकेको पकवानको भाँडो आफूले खान नपाएको रिसमा घोप्ट्याउने जुन मुर्खता गर्नुभो त्यसमा भने पुरापुर असहमति छ । तर पनि असहमति पोख्ने ठाउँ र चाह दुवै छैन मसँग । सायद मैलाई जस्तो अप्ठ्यारो तपाईलाई पनि छ कि ? छ भने कुनै दिन फेरि बहस गरौँला यसमा । अहिलेलाई थप केही छलफल गरौँ ओलि एन्ड कम्पनी मै केन्द्रीत रहेर ।

 

बा ले हाँडी घोप्ट्याउनु भो । यो सत्य तपाईं र म दुवै बाट लुकेको छैन । बहस भाडो घोप्टिनु ठिक कि बेठिक भन्ने मात्रै हो । अहिले बेठिक हो भन्नेहरु र खुच्चिङ खाईस् भन्ने बिचको जुहारी छ सडकमा । बेठिक भो भन्नेहरु आफ्नो अभिमत स्थापित गर्ने काममा कन्दानी देखिको बल खर्चिदै छन् । त्यसकै हाराहारिको बल अर्को तिर पनि खर्च भएको छ । र पनि निर्णय आउन सकेको छैन । आ-आफ्नो पक्षमा जन समर्थन जुटाउने काममा लागेको लाग्यै छन् दुवैथरी । तर परिणाम गुमनाम छ । जहाँसम्म मलाई लाग्छ चित्तबुझ्दो निष्कर्ष निस्कँदैन पनि । किनकी यस्ता दुविधाको निर्णय दिन सक्ने महत्त्वपूर्ण पक्ष स आम नागरिक र सोझा जन र उत्पिडन र अभाब झेल्न बाध्यहरुलाई तपाईको पक्ष बिपक्षमा आफ्नो अभिमत जाहेर गर्ने फुर्सद सम्म छैन । अथवा यी बिषयमा अभिमत जाहेर गर्ने वातावरण तपाईंले कहिल्यै सिर्जना गर्नै सक्नुभएन ।

 

ठिक गर्नु भो बा ! भन्नेहरु पनि कम छैनन् सडकमा । झन् सत्तामा पनि हुँदाखेरी बिरोधिहरु भन्दा तपाईको वजन त्यसै गह्रौं हुने भै गयो । तर तपाईं पनि भ्रममा नबाँच्नुहोला । बा भनेर जतिखेरै मुखा आ आ गरेर बस्नेहरु पनि मात्रै तपाईंका समर्थक होईनन् । यी पनि उनै भाडाका कामदार नै हुन् , अन्त ज्याला बढी मिलेको दिन बेठिक गरिस् तैँले भनेर औला ठड्याउछन् पक्कै ।

 

तपाईको अहिलेको मुख्य तर्क भनेकै बिरोधिहरुले भाडो नघोप्टाई सुखै दिएनन भन्ने नै हो । तपाईको भाडाको कामदार मात्रै किन सबै नागरिकहरु भाडो घोप्ट्याएर ठिक गरिस् । बेईमान हरुलाई पोस्नु भन्दा भाँडै घोप्ट्याएको जाती भनेर तपाईकै पक्षमा उभिने थिए । यदि तपाईले पनि देशमा नागरिकहरु पनि छन् भन्ने हेक्का राखिदिनुभएको भए । तर बडो दुखका साथ लेख्न वाध्य छु म । देशमा आम नागरिक पनि बस्छन् । उनिहरुका पनि समस्याहरु छन् । अन्याय अझै बिलाएको छैन । असमानता मौका मिल्यो कि शिर उठाई हाल्छ भन्ने सत्य याद नै भएन तपाईलाई । तसर्थ जन समर्थनको गुहार माग्दै गर्दा तपाईको गुहार सुन्नै चाहेनन निमुखाजनले पनि ।

 

हिजो खानपानलाई केहिबेर थाती राखेर । भूईमान्छेहरुसँग जोडिने प्रयास गर्नुभएको भए । आज यो कुराको आह्वान नै गर्न जरुरी हुने थिएन । मात्रै महिना दिन जति अघि किसानको पसिनाको मोल दे भनेर आफ्ना कारिन्दालाई हकार्नुभएको भए न त ती बृद्द किसानको ज्यान जान्थ्यो । न त मृत्युपश्चात गरिएको सम्झौतामा शङ्का हुन्थ्यो । यो त मात्रै एउटा दृष्टान्त भयो । यस्तै प्रकृतिका कयौ असमानता र अन्याय र अपमानहरु जस्ता का तस्तै छ्न बा । नजरको घेरो अलि फराकिलो पारेर हेर्नुहोस् । छर्लङ्गै देखिन्छ ।

 

अन्त्यमा सत्तामा हुनेलाई केहिथान सुझाव दिएर यो आलेखको बिट मारौ होला मित्र । हुन्छ ? हुन्छ भने बिट मार्न तिर लागे ल म । बा ! तपाईले बोल्नुभएको एक वाक्य कहिल्यै नमेटिने गरि मेरो मगजमा बसिगो । त्यति मीठो वाक्य चाहेर पनि भुल्नै मान्दैन मेरो मनले । तपाईले आँखाभरी ओज बोकेर , पुरापुर विश्वासका साथ घोषणा गर्नुभएको थियो  'अब कोहि नेपाली भोकै बाँच्नुपर्दैन । ' त्यो पल अनायसै मेरा हत्केलाहरु एक आपसमा जोडिएछन् । म आफैले थाह नपाउने गरि मेरा एक जोर हत्केलाले तपाईको उद्घोषको सम्मान गर्‍यो । अहिले घरी घरी आफ्नै हत्केलालाई धिक्कारौं कि जस्तो पनि हुन्छ । तपाई देख्नुहुन्छ कि देख्नुहुन्न कुन्नी ? म त दिनै जस्तो अखबार अनि काँचको भित्तामा देख्दैछु । तपाईकै नाक अघिल्तिर बिहान बेलुकिको छाकको जोहो नहुनेहरु । आफ्नो इमान बन्धकी राखेर दालभात बाँड्ने कुरुप पङ्तिमा टुप्लुक्क हाजिर छन् । यदि ती पनि नागरिक हुन् भने तिनको खाना पाउने अधिकारको रक्षा गर्ने दायित्व कसको हो बा ?

 

सबैले खाना पाउनु पर्छ भनेर त भन्नू भो । तर भान्सामा प्रयोगहुने खानकी को मूल्य कति छ थाह छ तपाईलाई ? मैले यो प्रश्न गर्दै गर्दा कहि कतै मेशिनहरुलाई लाग्न सक्छ । चामलको भाउ सोध्दै हिँड्छन र बा ? तसर्थ यो प्रश्नलाई सतहमा मात्रै नलिनुहोला ।

 

अर्थ के हो भने भारतलाई दोषी देखाएर रातारात आकाशिने बजार भाउ प्रती बा बेखबर हुन पाउनुहुन्न भन्ने मेरो निजि बिचार हो । मित्र अब तपाईलाई पनि अचम्म लाग्ला सायद । भारतले सामान नदिँदा सामानको अभाव पो हुनुपर्ने हो । रातारात मूल्य किन बढ्छ ? नाकाबन्दी कै समयमा पनि रकम खर्चिन सक्नेले दाउरा बालेनन् , सवारी थन्क्याएर पैदल हिँडेनन् । भन्नाले कृत्रिम अभाव देखाएर मुनाफा उठाउनेको कठालो समाउन सुरु गर्नुहोस् तपाईले गुहार माग्नै पर्दैन । किनकि सर्वसाधारणलाई मानव बिकास सुचाकाङ्कमा देश कती माथी उक्लियो र आर्थिक बृद्दिदर कति छ र दूरगामी सन्धी सम्झौता के के भए ? जस्ता कुराहरुले छुनै सक्दैन । बरु सधै अस्थिर बस्ने सेयर बजार जस्तो बजार भाउले सातो खाएको छ ।

 

अब निर्देशन दिनुहोस् बा । उड्यायन मन्त्रीले प्रत्येक दिन भविश्यको खोजिमा खाडी भासिनेहरुको जानाकारी राखोस् । आफ्नो भाग्यसँगै परिवारको भाग्य पुर्न बाध्य अभागी भरिएर आउने काठे बाकासको पुरापुर गन्ती राखोस् । कम्तिमा मृत्यु गुमनाम भए पनि अन्तेष्ठि गुमनान नहोस् । स्वास्थ्य मन्त्रीले निर्धक्क भन्न सकोस् गरिबका सन्तानहरुले कति खर्चिँदा डक्टर बन्न पाउँछन् ? धन नहुनेजतिले निशुल्क उपचार कुन अस्पताल जादा पाउँछन् ? दुर दराजको स्वास्थ्य संस्थामा कति थरी औषधि पुग्छ ? सिङ्गै स्वास्थ्य चौकी पालेको हातबाट कहिले खोसिन्छ ?  शिक्षा मन्त्रीले भन्न सकोस् माध्यमिक तह सम्मको गुणस्तरीय शिक्षा कुन कुन सरकारी बिध्यालयमा उपलब्ध हुन्छ ? फाटेको ड्रेसमा खाली खुट्टा विध्यालय भित्रीने बालबालिकाहरुले शिक्षामा समान हैसियत र अवसर कहिले पाउँछन् ? शिक्षा प्राप्तीपछि प्रतिस्पर्धी समाजमा बिक्न सक्ने नागरिक उत्पादनका योजना के छन् ? डाकेर सोध्नुहोला । सरकारी अड्डै पिच्छे मुख आँ गरि बस्ने अगस्तिहरुको मुखमा तेजाव कहिले हाल्नु हुन्छ ?

 

यहि सवालहरु सडकबासिहरुलाई पनि गरेँ । जवाफ मनैदेखि फुरेको दिन तपाईको सडकबास अन्त्य हुनेछ । तसर्थ बा र बिरोधिहरु दुवै तर्फले जवाफ दियोस् यी सवालहरुको । तत्काललाई यति नै काफी हुन्छ भन्ने मेरो विश्वास हो । तर यो सत्य भुलेर खानपान मै मात्र व्यस्त हुनुभो भने । सुतेका भोका नाङ्गाहरु जाग्ने दिन शिर लुकाउने ठाउको अभाव सत्तासिन र सडकछाप सबैलाई हुनेछ । चेतना भया !

(लेखक पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापनरत छन्)

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

म किन गरीब ?

  • 3 minutes ago
म किन गरीब ?

सुखको लागि मानिस सबै थोक बदल्छ । भेष बदल्छ, देश बदल्छ, घर, जागिर, मित्र बदल्छ, श्रीमान्÷श्रीमती बदल्छ तर पनि दुःखी हुन्छ । किनकि ऊ आफू भित्रको स्वभाव र संसारलाई हेर्ने दृष्टिकोण बदल्न सक्दैन । अरू कुर

एमाले अधिवेशनः बाँकेमा ६ पालिकामा सर्वसम्मत

  • 4 minutes ago
एमाले अधिवेशनः बाँकेमा ६ पालिकामा सर्वसम्मत

नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले

गाडीको ठक्करबाट निलगाईको मृत्यु

  • 13 minutes ago
गाडीको ठक्करबाट निलगाईको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो ।



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।