मानसिक स्वास्थ्यको समस्या बढ्दै जाँदा आत्महत्याले डरलाग्दो रुप लिँदै

हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिएको छ । यस वर्ष पनि नेपाल लगायत विश्वभर नै बिभिन्न कार्यक्रम गरि विश्व आत्महत्या रोकथाम दिवस मनाइयो ।

 

पछिल्लो समय नसर्ने मानसिक रोग तथा आत्महत्या प्रचुर मात्रामा बढ्दै गइरहेको छ । हरेक वर्ष ८ लाख ४ हजार जनाले आत्महत्या गरेर ज्यान गुमाइरहेका छन् । यसलाई केलाएर हेर्दा हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्याबाट ज्यान गुमाइरहेका छन् । सँगसँगै हरेक एक आत्महत्या बराबर २० देखि २५ गुणा आत्महत्याका प्रयासहरु हुने गरेको पाइन्छ । यसअर्थमा पनि हेर्ने हो  भने विश्वभर आत्महत्या एउटा गम्भीर जनस्वास्थ्य सरोकारको विषय बन्दै गइरहेको छ । 

 

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार सन् २०२० पश्चात हरेक २० सेकेन्डमा एक जनाले आत्महत्याबाट ज्यान गुमाउनेछन् भन्ने प्रक्षेपण गरिएको छ । नेपालको तथ्यांक हेर्ने हो भने नेपाल आत्महत्या दरमा विश्वको सातौं स्थानमा पर्छ । विश्व स्वास्थ्य संगठनले सन् २०१२ मा सार्वजनिक गरेको तथ्यांक अनुसार महिला आत्महत्याको मृत्युदरमा नेपाल तेस्रो स्थानमा पर्छ ।

 

अझै नेपालमा आत्महत्या तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याको दर बढ्दै गइरहेको छ । नेपालमा पछिल्लो समय किशोर किशोरीहरुको आत्महत्याको दर पनि बढ्दै गएको पाइएको छ । नेपालमा गत वर्षको तथ्यांक हेर्ने हो भने ५ हजार ८१९ जना व्यक्तिले आत्महत्याबाट ज्यान गुमाए । यस वर्षको हालसालै सार्वजनिक गरिएको तथ्यांक अनुसार ६ हजार २७९ जना व्यक्तिले आत्महत्याबाट ज्यान गुमाएका छन् । यसरी हेर्दा हरेक वर्ष नेपालमा आत्महत्या बढ्दो क्रममा रहेको छ । 

 

अहिले हामीले कोभिड– १९ को महामारी झेल्नुपरेको अवस्था छ । यस अवस्थामा बिभिन्न खालका समस्याहरु विशेष गरेर आर्थिक गतिबिधिहरु, विपन्नता, रोजगारी गुमेको अवस्था, सामाजिक रुपमा एक अर्कासँग कुराकानी गर्ने मनका कुराहरु साटासाट गर्ने वातावरण नभएको अवस्था, त्यसैगरि पहिलेदेखि नै मानसिक स्वास्थ्य समस्या भएका र उपचारमा आउनुपर्ने तथा मनोविमर्शमा जानुपर्ने व्यक्तिहरुले उपचार गर्न जानुपर्ने कठिनाई छ । त्यसले तिक्तता बढाएको छ । अहिलेको अवस्थाबाट सृजना हुने तनाव मानसिक स्वास्थ्य समस्या आत्महानी तथा आत्महत्याका सोचका भएका व्यक्तिहरुले सजिलै सेवा पाउनुभएको अवस्था छैन । 

 

यसै सन्दर्भमा बहुसांस्कृति मनोसामाजिक संस्था नेपालले अहिलेको प्रकोपको समयमा आत्महत्याको दर कस्तो छ त भनेर एउटा अध्यायन गरेको थियो । अनुसन्धानको प्रारम्भिक नतिजाअनुसार हामीले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको पाएका छौं । आगामी दिनहरुमा यसले निम्त्याउनसक्ने मानसिक स्वास्थ्य समस्या लगायत आत्महत्या अझै प्रवल रुपमा बढ्दै जाने देखिएको छ । यसको लागि अहिले नै हामीले ठोस रुपमा पहल कदम नचालेको खण्डमा यो समस्याले चाँही हामीलाई अझै गाल्नेछ भन्ने नतिजा देखाएको छ । 

 

आत्महत्याका घटनाहरु किन घट्छन् ?

 

आत्महत्याको पछाडि मानसिक स्वास्थ्यको समस्या नै प्रमुख विषयको रुपमा रहेको देखिन्छ । भन्निन्छ ९५ प्रतिशत आत्महत्याको घटना मानसिक स्वास्थ्य समस्याको कारण हुने गरेका छन् । त्यस्तै, ५ प्रतिशतमात्रै आवेगमा आएर गर्ने गरेको पाइन्छ । तसर्थ कुनै पनि व्यक्तिले आत्महत्याको सोच बिचार योजना वा प्रयास गरेको छ भने यो मानसिक स्वास्थ्य समस्याको उपज हो भनेर बुझ्नुपर्छ । अधिकांश आत्महत्यामा मानसिक समस्या विशेष गरि डिप्रेशन (उदासिनता) को रोग यससँग सम्बन्धित रहेको पाइन्छ । तसर्थ, मानसिक स्वास्थ्य सम्बन्धि मनोविमर्श सेवा मनोचिकित्सकसँग सेवा लिएको खण्डमा यसलाई हामीले समयमै पहिचान गर्ने, व्यवस्थापन गर्ने तथा त्यसबाट हुनसक्ने जटिल खालका घटनाहरुलाई न्युनिकरण गर्न सकिन्छ । 

 

हामीले प्रायः आत्महत्यालाई केही कारणहरुसँग जोडेर हेरिरहेका हुन्छौं । साधरण तवरले कुनै गरिवी, बेरोजगारी वा एउटा साधरण एउटा घटनासँग जोडेका हुन्छौं । यद्यपी, आत्महत्या कुनै एउटा साधरण कारणले मात्र नभएर यसमा बहुपक्षीय कारणहरु सम्बन्धित हुन्छन् । जुन मानसिक स्वास्थ्य समस्यासँग जोडिएका हुन्छन् । यसमा कुनै पनि व्यक्तिको मनोवैज्ञानिक अवस्था, त्यसैगरी उसको जैविक कारण (परिवारमा भएका आत्महत्याका घटनाहरु, मानसिक स्वास्थ्य समस्या भएका इतिहासहरु र त्यसैगरि सामाजिक परिवेशहरु बेरोजगारी, आर्थिक विपन्नता, रोजगारी गुमेको) ले त्यस व्यक्तिमा मानसिक स्वास्थ्य समस्या रहेको र आत्महत्यालाई निम्त्याउन प्रमुख भूमिका निर्वाह गरेका हुन्छ । 

 

आत्महत्याको विषयमा हाम्रो समाजमा बिभिन्न खालका गलत बुझाइहरु रहेको पाइन्छ । जस्तै, जुन व्यक्तिले आत्महत्याको प्रयास गर्छ त्यो व्यक्तिले गरेरै छाड्छ, त्यसलाई टार्न सकिदैन भन्ने भनाई पनि छ । यो गलत हो । समयमै हामीले त्यस व्यक्तिको ‘वार्निङ साइन’हरु पहिचान गरे उसलाई हामी उचित सहयोग पुर्याउन सकेको खण्डमा आत्महत्याको घटनालाई रोक्न सकिन्छ । 

 

त्यस्तै, हामीले के बुझ्छौ भने कुनै पनि व्यक्तिले एकपटक आत्महत्याको प्रयास गरेको खण्डमा फेरि गर्दैन भन्ने बुझाइ छ । त्यो पनि गलत हो । किनकी एकपटक कुनै व्यक्तिले आत्महत्याको प्रयास गर्छ भने फेरि पनि भविष्यमा आत्महत्या हुनसक्ने सम्भावना धेरै बढेर जाने भएको हुँदा हामीले उसलाई निरन्तर रुपमा निगरानीमा राख्नुपर्ने र उपचारमा राख्नुपर्ने जरुरत पनि हुन्छ । 

 

अर्को कुरा, हामीले के भन्ने ठान्छौं भने आत्महत्या गर्ने व्यक्तिहरुले कुनै संकेत दिँदैनन् । तर, उपलब्ध अध्यायन अनुसन्धानका अनुसार करिब ८० प्रतिशत व्यक्तिहरुले आत्महत्या अगावै करिब कम्तीमा २ हप्ता अगावै कुनै न कुनै खालका आत्महत्या गर्ने संकेत (मृत्युको बारेमा कुरा गर्ने, मर्ने बेलामा कस्लो हुन्छ होला) छोडेका हुन्छन् । यसलाई पहिचान गर्न सकेको खण्डमा हामीले आत्महत्या न्युनिकरण गर्न सक्छौं ।

 

त्यसैगरि, आत्महत्यासंग जोडिएका केही जोखिम तत्वहरु पनि हुन्छन् । जसले कुनै व्यक्तिलाई आत्महत्या  गर्नलाई उक्साउँछ । विशेष गरि कुनै पनि आत्महानीसँगको सोच बिचार वा प्रयास भएको त्यस व्यक्तिको अन्तिम विकल्पको रुपमा प्रस्तुत हुने घटना हो । तसर्थ, अन्तिम समयसम्ममा पनि त्यस्तो व्यक्तिले कुनै न कुनै खालको सहयोग खोजिरहेको हुन्छ । र हामीले आत्महत्याको बारेमा खुलेर कुरा गर्ने । त्यस व्यक्तिको मन र भावनालाई बुझ्ने । र उसलाई उचित मनोपरामर्श गर्दा उक्त व्यक्ति आत्महत्याबाट पछि हट्न सक्छ ।

 

कस्ता व्यक्तिले आत्महानी गर्न सक्छन् ?

 

विशेष गरि एकल रहेका व्यक्तिहरु, सम्बन्ध विच्छेद भएका व्यक्तिहरु, शारीरीक तथा यौन हिंसाबाट ग्रुजिरहेका व्यक्तिहरु, दीर्घ रोग भएका व्यक्तिहरु त्यसैगरी मानसिक समस्याबाट प्रभावित व्यक्तिहरु, लागू औषध दुव्र्यसनी, मादक पदार्थ सेवन गर्ने व्यक्तिहरु विशेष गरे आत्महत्याको जोखिममा हुन्छन् । यस्ता खालका व्यक्तिहरुले अन्तिम विकल्प भन्दै आत्महत्यालाई रोज्न सक्छन् ।

 

आत्महत्या गर्न लागेकाहरुले कस्ता संकेतहरु दिन्छन् ?

 

आत्महत्या गर्ने व्यक्तिहरुले आत्महत्या पूर्व केही संकेतहरु दिने गर्छन् । यदी सो संकेतको पहिचान गर्न सकेको खण्डमा र ती व्यक्तिलाई सहयोग गर्न सकेको खण्डमा आत्महत्या न्युनिकरण गर्न सकिन्छ । कुनै पनि व्यक्तिले आत्महत्या गर्नुपूर्व आत्महत्या वा मृत्युको बारेमा कुरा गर्न सक्छन् । त्यस्तै, मृत्युपूर्व गर्नुपर्ने कृयाकलापहरु घरको चाँजोपाँजो मिलाउने, सम्पत्तिको भागबण्डा गर्ने जस्ता कृयाकलाप पनि गरिरहेका हुन्छन् । हालको दिनमा आएर मादक पदार्थ वा रक्सी अत्यधिक मात्रामा सेवन गरेर पनि समस्यासँग जुध्ने गरेको पाइन्छ । 

 

केही व्यक्तिहरुले भने आत्महत्या गर्नुपूर्व ‘सुसाइड नोट’ पनि लेख्ने गरेका छन् । जसले निकट भविष्यमा यस्तो खालको प्रयास गर्न लागेको थाहा हुन्छ । यसका अलाव त्यस व्यक्तिले आत्महत्या गर्नुपूर्व यसको लागि चाहिने औजारहरु (धारिलो हातहतियार, झुण्डिन प्रयोग गर्ने डोरी, विषादी) जस्ता कुराहरु किनेर ल्याउने गरेका हुन्छन् । यस्ता खालका संकेतहरु हामीले पूर्वानुमान गर्नुपर्छ । 

 

यस्तो अवस्था देखिए के गर्ने ?

 

यसको लागि घर परिवार, साथीभाई, स्वास्थ्यकर्मी, संचारमाध्याम, अन्य सबै व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुन्छ । व्यक्ति आफैले पनि समस्याबाट बाहिर आउनको लागि केही क्रियाकलाप गर्न सक्नुहुन्छ । जस्तै, नियमित रुपमा शारीरीक व्ययाम गर्ने, स्वस्थ रहन गरिने क्रियाकलापलाई सुचारु गर्ने, मनमा लागेका कुराहरु साथीभाई समक्ष साटासाट गर्ने वा केही भएन भने आफ्नो डायरीमा आफ्ना मनका कुरा लेख्न सकिन्छ । त्यसैगरी योग ध्यानको अभ्यास गर्नाले पनि मनोवल बढाउन मदत पुग्छ । कुनै पनि समयमा मेरो केही अर्थ छैन, म केही पनि गर्न सक्दिन भनेर निराशा पैदा भयो र जीन्दगीको अन्त्य गर्नुपर्छ भन्ने सोच पैदा भयो भने त्यो अवस्थामा त्यस व्यक्तिले यो साधरण अवस्था होइन मैले तुरुन्तै तालिमप्राप्त स्वास्थ्यकर्मी, मनोचिकित्सक वा चिकित्सामनोविद्बाट आवश्यक सेवा लिनुपर्छ भन्ने हेक्का राख्दै सेवा लिनुपर्छ । 

 

यसका साथसाथै घरपरिवाले पनि उक्त व्यक्तिलाई समस्याबाट बाहिर ल्याउनको लागि सहयोग गर्ने गर्नुपर्छ । लकडाउन वा निषेधाज्ञाको समयमा नियमित स्वास्थ्य सेवा लिन गाह्रो भए घर परिवारले सहज वातावरण बनाउनुपर्छ । हामीले पनि के थाहा पाएका छौं भने बिभिन्न खालका आत्महत्याको घटनाहरु संचारमाध्याममा आउँदा पनि कतिपय समय केही खालका आत्महत्याका घटनाहरु बढेको पाइएको छ । संचारमाध्यामबाट पनि यस्ता खालका समाचार सम्प्रेशण गर्दा बढाइचढाई नगरि सम्वेदनशिल भएर प्रस्तुत गर्नुपर्छ ।

 

कसरी सेवा लिने ?

 

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिभिन्न सरोकारवाला निकायहरुसँग मिलेर मानसिक स्वास्थको बारेमा बिभिन्न खालका कार्यक्रमहरु गरिरहेको छ । यदी कसैले जिन्दगी अन्त्य गर्ने सोच बनाउनुभएको छ भने यो साधरण अवस्था होइन । यो भनेको मानसिक स्वास्थ समस्याको उपज हो । यसको लागि हामीले समयमा नै आवश्यक सेवा लिनुपर्नेहुन्छ । अहिलेको समयमा बिभिन्न खालका क्राइसिस हेल्पलाइन सेवाहरु संचालमा रहेका छन् । विशेष गरि त्रिभुवन विश्वविद्यालय मनोचिकित्सा विभागले हालसालै एउटा सुसाइट हटलाईन १६६०–०१–२१६०० नम्बर संचालनमा ल्याएको छ । त्यस्तै, मानसिक अस्पताल पाटनबाट पनि ११६६ को हटलाइन सेवा सेप्टेम्बर १० बाट संचालनमा ल्याएको छ । यदी कुनै पनि व्यक्तिलाई यस्तो खालको सोच आएको छ भने उहाँले अहिले आफैले घरमा बसेर पनि निःशुल्क रुपमा सेवा तथा सहयोग लिन सक्नुहुन्छ । यसरी सहयोग लिएको खण्डमा आत्महत्यालाई निरुत्साहित गर्न सकिन्छ । बाँचे संसार जितिन्छ तसर्थ  आवश्यक सेवा तथा सहयोग लिनुहुनको लागि म सम्पूर्णमा अनुरोध गर्न चाहान्छु ।

डा. गौतम बहुसांस्कृतिक मनोसामाजिक संस्थाका कार्यकारी निर्देशक तथा वरिष्ठ मनोचिकित्सक हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेश ब्रिफिङमा डा. गौतमले प्रस्तुत गरेका भनाईहरु हामीले प्रस्तुत गरेका हौं ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 1 hour ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 2 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 2 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।