प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुखको कडा चुनौती

Global IME
Mega Bank
Norvic Hospital

जेरुसलेम । इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसकेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन् । 

 

भ्रष्टाचारको आरोपका कारण विवादमा तानिएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ । तर राजनीतिमा त्यति अनुभव नभएका पूर्व सैनिक प्रमुखलाई बेन्जामिन नेतान्याहूलाई परास्त गर्न निकै कठिन हुने प्रक्षेपणहरु पनि आएका छन् ।

 

मतदान निकै प्रतिस्पर्धी हुने भएकाले एकलौटी सरकार गठन गर्न कठिन हुने जनमत सर्वेक्षणहरुले देखाएका छन् । तर प्रधानमन्त्री नेतान्याहूले नै गठबन्धन सरकार बनाउन सक्ने सम्भावना रहेको देखाएका छन् । 

 

चुनावको अन्तिम नतिजा भने बुधबार बिहान प्राप्त हुनेछ ।

 

पूर्व सैनिक प्रमुख गान्जले प्रधानमन्त्री नेतान्याहूले मुलुकमा विभाजनकारी राजनीति गरेको आरोप लगाउँदै प्रधानमन्त्री नेतान्याहूको सुरक्षा सेवाप्रतिको धारणा नै गलत रहेको बताएका छन् । 

 

यो चुनाव ६९ वर्षीय वरिष्ठ नेता नेतान्याहूका निम्ति धेरै किसिमबाट जनमतसङ्ग्रह सरह रहेको छ । नेतान्याहूले इजरायलको सुरक्षा र आर्थिक वृद्धिका निम्ति विशिष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान दिने गरिएको छ । तर नेतान्याहूको बढ्दो प्रचारबाजी र भ्रष्टाचारको आरोपका कारण कतिपय जनता परिवर्तनको पक्षमा उभिएका छन् ।

 

यसपटकको चुनावी अभियानका क्रममा प्रधानमन्त्री नेतान्याहूले विपक्षीहरुमाथि कटुतापूर्ण चुनावी नारा प्रयोग गरेका छन् । चुनावी अभियानलाई नजिकबाट हेरिरहेका टिप्पणीकारहरुले अरब इजरायली र अरुमाथि प्रधानमन्त्री नेतान्याहूले चरम दुश्मनका रुपमा व्यवहार गरेकामा पनि आलोचना गरेका छन् । 

 

नेतान्याहूले चुनाव हुनु तीन दिनअघि मात्र एउटा विवादास्पद प्रतिज्ञा गर्नुभएको छ । आफू विजयी भएमा पश्चिमी किनारामा रहेका इजरायली बस्तीलाई इजरायलमै गाभ्ने नेतान्याहूले घोषणा गरेका छन् । 

 

इजरायलको सीमालाई पश्चिमी किनारामा विस्तार गर्ने प्रधानमन्त्री नेतान्याहूको विवादास्पद भनाईले प्यालेस्टिनीसँग यसअघि भएको दुई– देश समाधानको आशालाई समाप्त गर्ने स्पष्ट छ । दुई–देशको मान्यता दिने, इजरायल, राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको यसअघिको प्रतिबद्धतालाई यो घोषणाले अबमूल्यन गरेको छ ।

 

इजरायलका अति दक्षिणपन्थीहरुको यो लामो समयदेखिको चाहना र कदम हो ।

 

परिवर्तनको आवश्यकता

नेतान्याहूले आफूलाई इजरायलको अत्यावश्यकीय राजनेताका रुपमा चित्रण गर्ने प्रयत्न गर्नुभएको छ । चुनावी दौड अन्तिम चरणमा पुगेकै अवस्थामा पनि उनले आफ्ना निकटतम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोसँग भेटवार्ता गरेका छन् । 

 

चुनावी प्रचारका क्रममा उनले अमेरिकी राष्ट्रपति ट्रम्पबाट जेरुसेलमलाई इजरायलको राजधानी र गोलान हाइट्सको सार्वभौमसत्ता इजरायलकै भएको मान्यता दिलाउन सफल भएको बताएका थिए । उनले पश्चिमी किनाराका इजरायली बस्तीलाई इजरायली सार्वभौमसत्ताभित्र समायोजन गर्ने योजना बारेमा अमेरिकी नेतृत्वलाई जानकारी गराइसकेको पनि बताए ।

 

“कसले यो कार्य गर्न सक्छ रु साँच्चिकै भन्नुपर्छ, अरु कसैले यो कार्य गर्न सक्दैन,” नेतान्याहूले आइतबार स्थानीय समाचार पोर्टल आरुज् शेभालाई दिएको अन्तर्वार्तामा बताएका छन् ।  “विश्वका अघिल्तिर को उभिन सक्छ ? अमेरिकी कङ्ग्रेसलाई कसले सामना गर्न सक्छ ? कसले जनताको विचारलाई त्यसतर्फ लैजान सक्छ ?”

 

यसैबीच, उनले ट्रम्पकै शैली अपनाउँदै भने – भ्रष्टाचारको अनुसन्धान केबल मलाई कमजोर देखाउन मात्र गरिएको हो, त्यसमा कतै सत्यता छैन । 

 

सोमबार राति प्रधानमन्त्री नेतान्याहू प्रार्थनाका निम्ति जेरुसेलमको पश्चिमी पर्खाल पुगे । 

 

पूर्व सैनिक ५९ वर्षीय गान्जले पनि पार्टी गठन गरी नेतान्याहूलाई चुनौती दिन कम्मर कसेका छ । उनले प्रधानमन्त्री नेतान्याहू भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै अब आमजनताले नेतान्याहूलाई बिदा गर्ने समय आइसकेको छ भने ।

 

उनले पश्चिम किनारालाई इजरायलमा गाभ्ने नेतान्याहूको योजना दक्षिणपन्थी मतदातालाई आफूतिर आकर्षित गर्ने “गैरजिम्मेवार” प्रयास मात्र रहेको आरोप लगाए ।

 

गान्जले विश्वव्यापी रुपमा स्वीकार्य शान्ति सम्झौतालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पश्चिम किनाराका बस्ती र त्यहाँको सुरक्षा जिम्मा इजरायलले गर्नुपर्ने धारणा उनको छ ।

 

उनले कुनै पनि किसिमको एकपक्षीय कदम नचाल्ने स्पष्ट गरेका छन् ।

 

“अहिले परिवर्तनको आवश्यकता छ र परिवर्तनको अवसर पनि प्राप्त भएको छ,” गान्जले इजरायली सेनाको रेडियोमा बोल्दै भने । “इजरायलले एकता, सम्बन्ध र आशा जगाउनुपर्ने आवश्यकता छ, पराकाष्ठाको राजनीति अहिलेको आवश्यकता होइन ।”

 

गान्जले दुई जना पूर्व सैनिक प्रमुखहरु र पूर्व अर्थमन्त्री याइर लापिडलाई पनि साथमा लिनुभएको छ । उनीहरु राज्य सञ्चालन र प्रशासनमा निकै अनुभवी मानिन्छन्। 

 

जनमत सर्वेंक्षणले नेतान्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले बराबर स्थान प्राप्त गर्नसक्ने देखाएका छन् । इजरायली संसदमा १२० स्थान रहेको छ ।

 

सर्वेक्षणमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ । दुबैले ३०–३० स्थान प्राप्त गर्न सक्ने सम्भावना रहेकाले दुबै पार्टीले सरकार गठनका निम्ति अरु साना दल र स्वतन्त्र उम्मेदवारको सहयोग लिनु पर्नेछ । 

 

साना दक्षिणपन्थी पार्टीहरुले नेतान्याहूलाई समर्थन गर्ने सम्भावना रहेकाले पनि अबको प्रधानमन्त्री पनि उनी नै हुने सम्भावना छ । तर विगतमा भएका जनमत सर्वेक्षणका नतिजाहरु नमिलेकाले अहिल्यै चुनावी अडकल गर्न कठिन छ । 

 

चुनावका दिनसम्म पनि निर्णयमा नपुगेका मतदाताहरुको संख्या ठूलो रहेको मानिन्छ । 

 

नेतान्याहूले विजय हासिल गरेमा इजरायलका संस्थापक डेभिड बेन–गुरिअनकै समकक्षमा उनले इजरायलको सबैभन्दा बढी समय नेतृत्व गर्ने अवसर प्राप्त गर्नु हुनेछ । नेतान्याहू १३ वर्ष प्रधानमन्त्री रहिसक्नुभएको छ, र कतिपयले उनलाई “राजा बिबी” भन्न थालेका छन् ।

 

तर चुनावमा विजयी भए पनि उनीमाथि भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा पर्ने सम्भावना छ । महान्यायाधीवक्ताले नेतान्याहूमाथि ठगी, धोखाधडी र विश्वासघातको नाममा अदालतमा मुद्दा दायर गर्ने बताइसकेका छन् ।

 

अदालतमा मुद्दा दायर भए पनि उनले राजीनामा गर्नु पर्नेछैन । संविधान अनुसार अदालतबाट दोषी प्रमाणित भएमा मात्र प्रधानमन्त्रीको पद रिक्त हुन सक्दछ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।