Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँः सांसद डाँगी

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँः सांसद डाँगी


काठमाडौँ । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकारिन् ।

उनले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गरिन्, “म आफैँलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो । मेरो व्यक्तिगत प्रयासका बाबजुद समग्र सदनको अभ्यास ‘प्यासिभ’ भएकै हो । सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ।”

विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उनको बुझाइ छ । “सदनदेखि संसदीय समितिमा राम्रो ‘पर्फमेन्स’ दिन्छु, अध्ययनशील बन्छु, राम्रो गर्छु, नेतृत्व गर्छु भन्ने हिसाबले लागिपरेको छु । तर न समिति सक्रिय भइदिन्छ, न सदनमा जनताको आवाज बोल्ने पर्याप्त समय पाइन्छ”, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनासँगै राजनीतिक यात्रा सुरुआत गरेकी २६ वर्षीय डाँगी प्रतिनिधिसभासदस्य मध्ये कम उमेरकी सदस्य हुन् । उनी पार्टीको खस आर्य समूहमा समानुपातिक तर्फ निर्वाचित भएकी थिइन् । उनी रास्वपाको संसदीय दलको सचेतक पनि हुन् । सत्र वर्षको उमेरदेखि नै प्रत्यक्षरूपमा सामाजिककार्यमा संलग्न उनी अपाङ्ग सङ्घसंस्था, महिला पुनःस्थापना केन्द्र, सरसफाइ कार्यक्रम अभियान र वृद्ध तथा बालबालिकाको हकहित जगाउने गतिविधिमा संलग्न भइन् ।

कम उमेरमा संसदीय अभ्यासको पहिलो अनुभव बटुल्दै गरेकी उनले आफ्नो भूमिका ओजपूर्ण बनाउन प्रयत्नशील रहेको कुराकानीका क्रममा बताइन् । “मेरो राजनीतिक पृष्ठभूमि छैन । तर मभित्र समाजमा कुनै पनि हिसाबले योगदान पुर्याउनुपर्छ भन्ने सोच पहिल्यैदेखि थियो । अब विधायिकाको जिम्मेवारी प्राप्त गरेसँगै मलाई अल्मलिने न समय छ न छुट ।”

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको सदस्यसमेत रहेकी डाँगीले समितिको बैठक नियमितरूपमा बस्न नसक्दा विधेयकमाथिको छलफलले तीव्रता पाउन नसकेको गुनासो गरिन् । “धेरै बजेट खर्च हुने र धेरै मन्त्रालय सम्बन्धित हुने समिति पूर्वाधार विकास समिति हो । तर समितिको सभापति चयन हुनुभएको एक महिना बित्दा पनि कुनै विधेयकमाथि दफावार छलफल सुरुआत हुनसकेको छैन”, उनले भनिन्, “यस समितिअन्तर्गतका सम्बन्धित सातवटा विधेयकमध्ये कुनैमा पनि छलफल सुरु भएको छैन । मैले समिति सचिवालयमा लिखितरूपमा ‘एजेण्डा’ पेस गर्दा पनि चासो व्यक्त भएन ।” यस्तै उनले समितिमार्फत नै विधेयकलाई राम्रोसँग छलफल गरेर लग्नुपर्नेमा जोेड दिइन् ।

सदनमा युवा सांसदको प्रतिनिधित्व कम नै छ । ऊर्जाशील युवा सांसदको प्रतिनिधित्व गरिरहेकी उनले भनिन्, “मलाई लाग्दथ्यो, राजनीतिक नेतृत्वले सबै कुरा गर्न सक्छन्, इच्छाशक्तिको अभाव हो । तर एक–दुई जनाले मात्र चाहेर हुने कुरा होइन रहेछ । बहुमतले चाहेको खण्डमा मात्र सबै सम्भव हुने रहेछ ।”

उनका अनुसार सदनलाई सरकारले ‘बिजनेस’ नदिने र सांसदहरूले सकारात्मक दबाब सिर्जना गर्न नसक्दा पनि सदन क्रियाशील नदेखिएको हो । “हामी कति पुराना कानुनमा चलिरहेका छौँ तर सरकारले ‘बिजनेस’ दिँदैन । स्वयं हामीले घच्घच्याउन सकेनौँ । त्यसमा सिङ्गो सदनसँगै म पनि सांसदको रूपमा चुकेको हुँ कि जस्तो लाग्छ ”, उनले भनिन् ।

संसदीय अभ्यासको अनुभव सुनाउने क्रममा उनले सदनमा हुने जनताका मुद्दा बाहिरका तथ्यहीन आरोप–प्रत्यारोपले सफल संसदीय अभ्यासबारे नै प्रश्न उठ्नु चिन्ताजनक भएको बताइन् । लामो समय राजनीति र संसदीय अभ्यासको अनुभव प्राप्त जनप्रतिनिधिले समेत संसदीय मर्यादाविपरीत बोलेको देख्दा सांसद डाँगीलाई आश्चर्य लाग्ने गरेको छ ।

“कति कुरा देखाउनका लागि मात्र हुँदोरहेछ । उहाँहरू सदन बाहिर मिलेजस्तो गर्नुहुन्छ तर जनतालाई देखाउन आरोप–प्रत्यारोप गर्ने गरेको देख्छु”, उनले भनिन्, “नियमावलीमा के बोल्न हुन्छ/हुँदैन भन्ने स्पष्ट लेखिएको छ । अझ अनौठो लाग्ने कुरा नियमावली लेख्दा छलफलमा बस्नुभएका सांसदहरू नै सदनमा संसदीय मर्यादाविपरीत बोल्नुहुन्छ ।”

उनले पार्टीले ‘ह्वीप’ जारी गर्दा सांसदको स्वतन्त्र भूमिका खुम्चिने कुरामा सहमत हुँदै भनिन्, “हाम्रो पार्टीमा हुँदैन म भन्दिनँ तर अन्य राजनीतिक पार्टीको तुलनामा हामी धेरै हदसँग स्वतन्त्र छौँ । पार्टीभन्दा पहिले सांसद जनप्रतिनिधि हो, जनताप्रति बढी उत्तरदायी हुनुपर्छ भन्ने सोचलाई कार्यान्वयन गर्न सकेमात्र पनि संसद्को भूमिका अझ बढी प्रभावकारी हुने थियो ।”

उनले जनतामा मत माग्दा दिएको आश्वासनलाई पूरा गर्न सके जनप्रतिनिधि आफ्नो भूमिकामा धेरै हदसम्म सफल हुने बताइन्, “तर एउटा नमीठो सत्य के हो भने आफ्नो मुख्य भूमिका, कानुन निर्माणभन्दा विकास निर्माणको आश्वासन बाँडेर मत माग्ने र त्यही पूरा गर्नमा अल्झियौँ । सांसदको भूमिकाबारे सांसद आफैँ सचेत हुनुपर्छ भन्ने जनतालाई पनि यसबारे जानकारी हुनुपर्छ”, उनले भनिन् ।

उनले जनताको मुद्दा सदनमा प्रस्तुत गर्न एथेष्ट समय नपाएको बताइन् । “पछिल्लो समय दोस्रो अधिवेशनमा बोल्न पर्याप्त समय दिइँदैन । जनताका धेरै मुद्दा हुन्छन्, सदन दुई घण्टा सञ्चालन हुँदा हाम्रो पार्टीले आठ मिनेट पाउँछ, त्यो आठ मिनेटमा कति कुरा राख्ने ?”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

Techie IT