Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठबिचारखरको छानो फाल्दै जस्ताः खुसी छन् रामपुरवासी आनन्दले बस्दा

खरको छानो फाल्दै जस्ताः खुसी छन् रामपुरवासी आनन्दले बस्दा


रामपुर (पाल्पा) । पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाएनन्।

खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा उडाउने गर्दा निकै दुःखसँग दैनिक जीवनयापन गर्न विवश भए । अहिले भने यी समस्याबाट मुक्त हुन पाउँदा जीवनकै ठूलो खुसी मिलेको उनी बताउँछन् । रामपुर नगरपालिका–१० स्वामीभन्ज्याङ बस्ने सुनारलाई नगरपालिकाले २२ पाता जस्तापाता उपलब्ध गराएपछि सुखसँग दिन बिताउन पाएको बताए ।

“खरको छानो भएको घर पानी पर्ने बित्तिकै चुहिएर बस्नै सकिँदैनथ्यो, हावाहुरी चलेका बेला डाँडाभाटा नै नराखेर उडाएर लैजान्थ्यो”, उनले भने, “रातको समयमा त घरको झ्याल, ढोकामुनि बसेर धेरै रात बिताइयो, अहिले नगरपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि आनन्दले घरमा बस्न पाइएको छ ।”

पानी परेका बखत तथा हावा चलेका बेला झ्याल, ढोकामुनि कहिलेकाहीँ छिमेकीका घरमा ओत लाग्दै आएकी सुनारलाई बलियो छानो भएपछि घामपानी, हावाहुरीका समय ढुक्कले बाँस बस्ने ठाउँ बनाउन नगरपालिकाले सहयोग गरेपछि उनी उत्साहित छन् । जस्तापाता किन्ने पैसा नहुँदा दुःखसँग जीवन गुजारा चलाउँदै आएकी सुनारले पानी आउँदा घरभित्रै मूल फुट्ने, छानो चुहेर बस्नै सकस रहेका बेला स्थानीय सरकारले विपन्नको दुःखमा मलम लगाउने काम गरेको बताए । उनलाई नगरपालिकाले चार वर्षअघि दुईतले घर छाउन २२ पाता जस्तापाता उपलब्ध गराएको हो । त्यस समययता सुनारलाई घरमा बसोबासको समस्या नभएको बताउँछन् ।

रामपुर–१० कै रानागाउँ बस्ने विनिता विकले नगरपालिकाको सहयोगमा जस्तापाता लगाएको दुई वर्ष भयो । भूकम्पले भत्किएको घरमा नगर सरकारले राहतस्वरुप तीनतले घर ढाक्ने गरी २४ पाता जस्तापाता उपलब्ध गराएको छ । घरमा जस्तापाता किनेर लगाउन समस्या भएको बेला रामपुर नगर सरकारले गरेको सहयोगमा परिवारमा धेरै खुसी ल्याएको उनी बताउँछन् । “भूकम्पले घर भत्किएपछि बसोबास गर्न समस्या परेका बेला निःशुल्क जस्तापाता पाउँदा हाम्रो परिवारमा ठूलो राहत भयो, हामी स्थानीयको दुःखमा सहयोगी भावनाले नगर सरकारले गरेको यस सहयोगले गाउँमा सिंहदरबारको झ–झल्को अनुभूति दिलाएको छ”, उनले भने ।

भूकम्पको पीडा छँदैछ तर घर छाउन जस्तापाता किन्ने पैसा अभावमा नगरको सहयोगमा जस्तापाता पाएपछि पुनःनिर्माण गरी ओत लागेर बसेको विकले बताए । यस कार्यक्रमले घर छाउन जस्तापाता किन्न नसकेर बसेका गरिब, विपन्न परिवारलाई ओत लाग्ने बलियो आधार स्थानीय सरकारले बनाइदिएको उनको भनाइ छ ।

कमला सुनार र विनिता विकजस्ता रामपुरका धेरैले नगरको सहयोगमा चुहिने छानो र हावाहुरी चलेका बखत घरको छानो उडाउने समस्याबाट मुक्त भएर बलियो ओत लागेर बस्ने वातावरण पाएका छन् । नगर सरकारले एकै प्रकृतिको हरियो रङमा जस्तापाता वितरण गर्ने गरेको छ ।

रामपुर नगरपालिकाले नगरभित्रका खरको छानो रहेका घरधुरी विस्थापित गर्न आर्थिक वर्ष २०७४/७५ देखि ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको हो । नगरभित्रका खरको छानो भएका सात सय १९ घरधुरी सर्वेक्षण गरी काम अगाडि बढाइयो । हालसम्म ६ सय १२ घरधुरीमा खरको छानो हटाएर जस्तापाता लगाउने काम सम्पन्न भएको छ भने एक सय सात घरधुरीमा जस्तापाता लगाउने काम बाँकी रहेको छ । बाँकी घरहरुमा पनि जस्तापाता लगाउने कार्य सकाएर रामपुर नगरलाई खररहितको घर घोषणा गर्ने नगर सरकारको तयारी छ ।

आव २०७४/७५ मा एक सय ५९, आव २०७५/७६ मा एक सय २०, आव २०७६/७७ मा एक सय ६०, आव २०७७/७८ मा ८७, आव २०७८/७९ मा ४०, २०७८/७९ मै विपद्बाट ११ र आव २०७९/८० मा ३५ वटा घरधुरीमा जस्तापाता लगाइएको नगरपालिकाका इन्जिनियर कृष्ण थापाले जानकारी दिए ।

कार्यक्रम सुरु भएदेखि हालसम्म खरको छानोरहित घर कार्यक्रमको लागि रामपुर नगरपालिकाबाट रु एक करोड ६७ लाख, प्रदेश सरकारबाट रु ५० लाख गरी खरको छानो हटाएर जस्तापाता लगाउँदा भएको कूल लागत रु दुई करोड १७ लाख बराबरको रकम खर्च भइसकेको छ । पहिलो वर्ष नगरपालिकाले आव २०७४/७५ रु ५० लाख रकम विनियोजन गरेर काम सुरु गरेको हो भने दोस्रो वर्ष आव २०७५/७६ मा नगरपालिकाबाट रु एक करोड र प्रदेश सरकारबाट रु ५० लाख रकम विनियोजन गरी काम गरियो ।

आव २०७६/७७ र आव २०७७/७८ मा अघिल्लो आर्थिक वर्षकै केही रकम बाँकी रहेकाले सोही रकमबाट जस्तापाता वितरण कार्य भयो । आव २०७८/७९ मा नगरपालिकाबाट रु पाँच लाख, आव २०७९/८० मा रु १२ लाख बराबरको रकम विनियोजन गरी काम गरेको नगरपालिकाले जनाएको छ । प्राविधिकले नाप नक्साङ्कन गरेर समितिको सिफारिसमा सिङ्गो घर छाउन पुग्ने जस्तापाता सम्बन्धित घरधनीलाई वितरण गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् ।

उनी भन्छन्, “खरको छानोमुनि बसोबास गरेका परिवार, भइपरि आउने आगलागी, भूकम्पलगायतका विभिन्न विपद्मा परेका नागरिकलाई पनि उनीहरुको अवस्था हेरेर बाँसस्थानका लागि नगर सरकारले घर छाउन पुग्ने गरी जस्तापाता उपलब्ध गराएको छ, यो कार्यक्रम रामपुरमा प्रभावकारी रुपमा अगाडि बढिरहेको छ ।”

सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहालभित्र विपन्नले जस्तापाता छाउने रकम नहुँदा त्यत्तिकै बस्नुपर्ने बाध्यता थियो । चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छोराछोरीको साथमा जीवन व्यतित गर्दै आएका अभिभावकहरु अहिले ढुक्कले बसोवास गरिरहेका छन् । घरको छानो व्यवस्थित र बलियो बनेपछि हावाहुरी, पानी परेका समय भय, डर हटेको लाभान्वितहरु बताउँछन् । विशेषगरी वर्षायाम सुरु भएपछि खरका छानोमुनि बसोबास गरिरहेका परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो ।

स्थानीयवासीले नगरपालिकामा पेस गरेको निवेदनका आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ । सङ्कलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ–गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण भइरहेको छ । मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप नयाँ संरचना कायम भएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको छ ।

सुरुका बेला नगरपालिका कार्यालयबाटै जस्तापाता वितरण गर्ने गरिएकामा लाभग्राहीको सहजताका लागि नगरपालिकाले तोकेको पसलबाट वितरण गर्ने काम भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधिले सुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् । निर्वाचनका बेला आफूले नागरिकसामु गरेका प्रतिबद्धताहरु पूरा गर्न ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको र यस कार्यक्रमलाई नगरका सबै घर खररहित सम्पन्न नहुँदासम्म हरेकवर्ष निरन्तर रुपमा वजेट विनियोजन गरी अगाडि बढाउँदै लैजाने नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

“सामान्य जस्तापाता किन्ने पैसा नभएर नागरिकले चुहिएको खरको छानोमुनि बसेर जीवन बिताउन बाध्य छन्”, नगर प्रमुख थापाले भने, “उनीहरुलाई घर छाउन नगर सरकारले आवश्यकताको आधारमा आफू निर्वाचित भएर आएदेखि नै ‘रामपुर नगर खरको छानोरहित घर’ सुरु गरेको कार्यक्रमबाट विपन्न, गरिब परिवारका नागरिकले पानी पर्दा, हावाहुरी चल्दा आनन्दले बसोवास गरिरहेका छन्” ।

रामपुर नगरपालिकामा उनको हाल नगर प्रमुख पद दोस्रो कार्यकाल हो । आफ्नो कार्यकालमा आफूले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरी कामहरु अगाडि बढाएको नगर प्रमुख थापाले बताए । सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’

राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र

घरभाडा निर्धारण गर्ने काम कसको ?

काठमाडौँ । मुलुकमा तीन वटा सरकार छ, स्थानीय, प्रदेश र संघीय । तर, तीन वटै सरकारले घर भाडा निर्धारण गरेको

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै

‘चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन’

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते

संविधानले सम्झिएका सुशील र सुवास

नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर

Techie IT