Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठबिचारमहानगरको निर्णय र सवारीसाधन व्यवस्थापनमा समस्या

महानगरको निर्णय र सवारीसाधन व्यवस्थापनमा समस्या


काठमाडौँ भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु गोँगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा काठमाडौँ महानगरपालिकाले निर्णय गरेको छ । २०८० साल वैशाख २९ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको उपस्थितिमा र जेठ १४ गते महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठको उपस्थितिमा भएका निर्णयअनुसार असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरेको छ ।

महानगरपालिकाको यस निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौँमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने जनाउँदै निर्णय र सूचना सच्याउन सरोकारवालाहरुले महानगरसँग अनुरोध पनि गरेका छन् । सार्वजनिक सवारीसाधनबाट दैनिक काठमाडौँ छाड्ने यात्रुहरुको सङ्ख्या करिब ७५ हजार हुन आउँछ र भित्रिनेको सङ्ख्या पनि सोही अनुपातमा हुने अनुमान गर्न सकिन्छ । निर्णयअनुसार ती यात्रु उपत्यका जुनसुकै स्थानको भए पनि टिकट काट्न बसपार्क पुग्नुपर्ने हुन्छ । सवारीसाधन चढ्न बसपार्क पुग्नुपर्ने हुन्छ । ओर्लिन बसपार्क नै पुग्नुपर्ने हुन्छ । यसले हजारौँ सर्वसाधारण जनतालाई समस्यामा पार्नेछ । सार्वजनिक सवारीसाधन गरिब जनताका साधन हुन् । यो निर्णयले यात्रुलाई हैरानी हुनेछ भने समयको बर्बादी र आर्थिक भार पनि बढाउने छ ।

बसपार्कको क्षमता र सवारीसाधन

सैद्धान्तिक रुपमा बसपार्कमा सवारीसाधनहरु जानुपर्छ, यात्रुहरु बसपार्कबाटै यात्रा गर्नुपर्छ भन्ने विषयलाई नराम्रो भन्न मिल्दैन । तर नयाँ बसपार्कको पार्किङ क्षमता सात सय सवारीसाधन मात्रै हो । महानगरको निर्णयअनुसार लामो, मध्यम र छोटो दूरीमा चल्ने सबै सवारीसाधनहरु बसपार्क भित्र्याउने हो भने पार्किङ गर्ने विषय परको कुरो, चढाउने र ओराल्ने मात्रै गर्न पनि नयाँ बसपार्कले धान्न सक्दैन ।

सामान्यतया विपी राजमार्ग भएर पूर्व चल्ने सवारीसाधनहरु करिब दुई हजार, पूर्वअरनिको यातायात प्रालिका करिब छ सय, पूर्व चल्ने रात्रि तथा दिवा सेवा करिब दुई सय बल्खुबाट तराई चल्ने सुमो करिब आठ सय, पनौती–धुलिखेलका करिब चार सय, पृथ्वी राजमार्ग चल्ने करिब चार सय, पश्चिम चल्ने करिब सात सय, पासाङ ल्हामु राजमार्गमा चल्ने करिब दुई सय गर्दा करिब करिब पाँच हजार सवारीसाधनहरु हुन आउँछ । बसपार्कको विस्तार र व्यवस्थापन नगरी यही अवस्थामा सबै सवारीसाधनहरु बसपार्क जानैपर्छ भन्नु व्यावहारिक हुँदैन ।

ट्राफिक समस्या र कोलाहलमय बसपार्क

कोटेश्वर, गौशाला, चावहिल, सुकेधारा, सातदोबाटोले धानिरहेको विपी राजमार्गबाट पूर्व जाने सवारीसाधनहरु, पूर्व अरनिको यातायात प्रालिका बस, पूर्व चल्ने रात्रि तथा दिवा सेवाका बस, बल्खुबाट तराई चल्ने सुमो, पनौती, धुलिखेलका बसहरु करिब १० देखि १४ किलोमिटर चक्रपथ घुमेर बसपार्क जानुपर्दा यसको असर उपत्यकाका सडकमा प्रत्यक्ष पर्ने निश्चित छ ।

महानगरको यो निर्णय गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि भनिएको छ । तर उल्टै यसले अस्तव्यस्त पार्नेछ । अहिले पनि सहरको कुनै क्षेत्रमा यातायात सञ्चालनमा कुनै समस्या आए दिनभर पूरै उपत्यका असर पर्ने गर्दछ । त्यसलै चक्रपथ मात्रै होइन, काठमाडौँ उपत्यकाका सबै सडक ट्राफिक समस्याले तहसनहस बन्ने देखिन्छ । हजारौँ यात्रु गन्तव्यका लागि सवारीसाधनको खोजीमा भौँतारिनुपर्ने हुन्छ भने ती सवारीसाधनका श्रमिक तथा सवारीसाधनहरु पनि असुरक्षित हुने अवस्था आउने निश्चित छ ।

टिकट काउन्टर व्यवस्थित गर्नुपर्छ, हटाउने होइन

बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने, कोटेश्वर, कलङ्की, गौशाला, चावहिल, बल्खु, जोरपाटी लगायतका स्थानका बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने निर्णय अव्यावहारिक छ । यो निर्णयले हवाईजहाज चढ्न विमानस्थलमै गएर टिकट काट्नुपर्छ बाहिरको ट्राभलमा काट्न पाइँदैन भने जस्तै हुन्छ । यसको असर सबैभन्दा धेरै सर्वसाधारण यात्रुलाई पर्छ । विभिन्न प्रालिद्वारा चक्रपथ आसपास रहेका तीन सय टिकट काउन्टर र त्यहाँ काम गर्ने करिब एक हजार पाँच सय श्रमिकको रोजीरोटी खोसिन्छ । हटाउने होइन काउन्टर सञ्चालनलाई व्यवस्थित गर्नुपर्छ ।

कानुनअनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउन्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउन्टर, एक काउन्टर एक टिकट नीति बनाउने, काउन्टरमा एउटै साइजको बोर्ड राख्ने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोसाक लगाएर मात्रै काउन्टरमा काम गराउन आवश्यक छ । त्यस्तै, यात्रुहरुले ठगिनु नपरोस् भनेर काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूची राख्ने, बस छुट्ने समय यात्रु आइपुग्नुपर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई मेसेज गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने गरी सञ्चालन गर्न सकिन्छ । यात्रुहरुको गुनासा तथा सुझावका लागि काउन्टरमा सुझाव पेटिका राख्ने, प्रशासनिक सहायताका लागि प्रहरीको टोल फ्री नं काउन्टरमा राख्ने र जनसरोकारका विषयमा प्रशासन तथा सरोकारवालाहरुसहित सबैको सहभागितामा समस्याहरुको समाधान गर्ने गरी काउन्टरहरुलाई व्यवस्थित गर्न सकिन्छ ।

वैकल्पिक बसपार्क निर्माणको तयारी

नयाँ बसपार्क अपायक स्थानमा छ । यो बसपार्क कुनै पनि दृष्टिकोणबाट उपयुक्त स्थानमा छैन । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका कोटेश्वर, कलङ्की, बल्खु हो । बसपार्कहरु सहर प्रवेश नाका आसपास हुनुपर्दछ । सहर भित्रिने र बाहिरिने सवारीसाधनहरु सकेसम्म सहर पार गर्नु नपरोस् । तर, नयाँ बसपार्क मुख्य नाकाको ठीक विपरीत दिशामा अवस्थित छ ।

कलङ्की नाकाबाट बसपार्क करिब आठ किलोमिटर दूरी, बल्खु नाकाबाट करिब १० किलोमिटर दूरी र कोटेश्वर नाकाबाट करिब १४ किलोमिटर दूरीमा रहेको छ । महानगरपालिकाले नयाँ बसपार्कको विकल्प तयार गर्दै जानु पर्दछ । पश्चिमबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनका लागि नागढुङ्गा नाका आसपासमा बसपार्क व्यवस्था गर्नुपर्दछ, पूर्वबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनहरुका लागि कोटेश्वरदेखि सल्लाघारी आसपासमा बसपार्क व्यवस्था गर्नुपर्छ । त्यस्तै, दक्षिणकाली नाकाबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनका लागि बल्खुदेखि चौभार आसपासमा बसपार्कको व्यवस्था गर्नु पर्दछ । साँखु, नाङ्लेभारे नाका लागि जोरपाटी आसपास बसपार्क बनाइनु पर्दछ । हाल रहेको नयाँ बसपार्कलाई नुवाकोट, रसुवा नाका तथा सिटी बसपार्कको रुपमा व्यवस्थित गर्न सकिन्छ ।

निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमा छ, स्वयम् महानगर र बसपार्क सञ्चालन गरिरहेको कम्पनीको पनि अहितमा छ भन्ने महानगरपालिकालाई पनि अवगत हुनुपर्छ । यस निर्णयले कुनै कम्पनीलाई पार्किङ शुल्क र काउन्टर भाडाको आयसँग जोडिएको अनुमान बजारमा धेरैले गरेकाले एउटा कम्पनीको स्वार्थसँग महानगरले यति गम्भीर निर्णय गर्न सक्दैन भन्ने भनाइ पनि रहेको छ । बसपार्कको क्षमता वृद्धि र थप संरचना निर्माण नगरी अहिलेकै अवस्थामा यति धेरै सवारीसाधनको व्यवस्थापन गर्न चुनौतीपूर्ण हुनेछ ।

अन्त्यमा

यी विषयहरु सार्वजनिक सरोकारका विषय हुन् । महानगरपालिका यो महत्वपूर्ण विषयमा गम्भीर र जिम्मेवार हुनु पर्दछ । वैकल्पिक बसपार्क सञ्चालन, टिकट काउन्टर व्यवस्थापन र यात्रुमैत्री बनाउने विषयमा महानगरले मापदण्ड बनाउन जरुरी छ । महानगरले बनाएका मापदण्डहरुलाई व्यवसायी र श्रमिकले इमान्दारीपूर्वक पालना गर्नुपर्छ । तर यात्रु र सवारीसाधन सबैलाई प्रभाव पार्ने निर्णय गर्दा त्यसको असरहरुबारे अध्ययन र सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी गरिएको निर्णय कार्यान्वयन गर्न कठिन हुन्छ । यसले अनावश्यक विवाद ल्याउँछ । सरकारले नागरिकको आवाज सुन्नुपर्छ । सरोकारवालाहरुलाई साथसाथै लिएर समृद्ध र सुन्दर शहर बनाउन लाग्नुपर्छ ।

(लेखक राई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष हुनुहुन्छ)




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै

‘चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन’

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते

संविधानले सम्झिएका सुशील र सुवास

नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर

चीन भ्रमणमा नेपालका एजेण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो साता गर्न लाग्नुभएको चीन भ्रमणमा नेपालले के एजेण्डा अघि सार्ने भन्ने विषयमा नेपालमा

सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताको रहरलाग्दो आकर्षण

नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र

Techie IT