Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठबिचारलोपोन्मुख कछुवा जोगाउनै गाह्रो

लोपोन्मुख कछुवा जोगाउनै गाह्रो


झापा । मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ ।

लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ । सामुदायिक स्तरमा नेपालमा कछुवा जोगाउन लागिपरेको यो एकमात्र संरक्षण केन्द्र हो । यहाँ लोपोन्मुख घोषित ठोटरी, तीनधर्के पहाडी कछुवा, थोप्ले पोखरी लगायतका प्रजातिको कछुवालाई संरक्षण गरिएको छ ।

मेची बहुमुखी क्याम्पसमा जीव विज्ञान पढाउने प्राध्यापक तपिलप्रकाश राई कछुवा संरक्षण केन्द्रमा प्रमुख संरक्षणकर्ताको जिम्मेवारीमा हुनुहुन्छ । कछुवाले के खाए ? आज कता डुल्दैछन् ? अण्डा कोरलेका छन् कि छैनन् ? रोगाए कि स्वस्थ नै छन् ? कछुवाहरुको चालचलन कस्तो छ ? यस्तै प्रश्नहरु दिमागमा बोकेर उनी कछुवाका विषयमा विद्यावारिधि तहको अध्ययन पनि गर्दै छन् ।

एघार वर्षअघि सरीसृप वैज्ञानिक प्राडा केआर खम्बुको पहलमा सुखानी सहिद स्मृति प्रतिष्ठानको सहिद स्मृति उद्यानभित्र कछुवा पाल्न पोखरी खनिएको थियो । झापाका सुक्दै गएका सिमसार क्षेत्रबाहिर बासस्थान खोज्दै निस्कने कछुवाहरुलाई उद्धार गरेर त्यही पोखरीमा ल्याएर राख्न थालिएपछि यो उद्यान कछुवा पालन केन्द्रका रुपमा समेत विकसित भयो । एउटा दुईवटा गर्दागर्दै दर्जनौँ कछुवा पाल्न थालिएपछि उभयचर तथा सरीसृप संरक्षण समाज नेपाल (आर्को नेपाल) को सहकार्यमा कछुवा उद्धार तथा संरक्षण केन्द्रको विधिवत् स्थापना भयो ।

कछुवाको अध्ययनमा रुचि राख्ने हजारौँ अनुसन्धानकर्ता, विद्यार्थी र पर्यटकहरु यो केन्द्रमा आउने गरेको मुख्य संरक्षणकर्ता एवम् शोधकर्ता राई बताउँछन् । केन्द्रमा दुर्लभ आठ प्रजातिका ४० वटा कछुवाको संरक्षण भइरहेको छ भने करिब सय वटा अरू कछुवा नजिकैको पोखरीमा संरक्षित छन् । उनका अनुसार झापा ध्वाँसे–कडे–पाते कछुवा, रातो काने, ठोटरी, नरम खवटे, पहेँलो धुरे लगायतका दुर्लभ एवम् लोपोन्मुख कछुवा संरक्षण भइरहेको छ ।

ठोटरी विश्वमा नै अति सङ्कटापन्न घोषित कछुवाको एउटा प्रजाति हो । सालको जङ्गल आसपासमा यसको बासस्थान रहेको छ । यो कछुवा मध्य पहाड र तराईमा पाइन्छ । मासु खानका लागि मानिसले यसलाई घरपालुवासमेत बनाउने गरेका छन् । ध्वाँसे–कडे–पाते कछुवा झापाको टाङटिङ र बिरिङ खोला आसपासमा पाइएको दुर्लभ प्रजातिको अर्को कछुवा हो । मानव बस्ती विस्तार र खोला उत्खननका कारण यसको बासस्थान नै लोप भइसकेको छ । नरम खवटे कछुवा असारदेखि भदौसम्म पानी परेका बेला खोला र खोल्साहरुमा पनि देख्न पाइन्छ । गाउँघरमा यसलाई टिकटिके कछुवा भन्ने गर्छन् ।

प्रतिष्ठानले तीन बिघा क्षेत्रमा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा ल्याएको छ । जहाँ विश्वमा दुर्लभ मानिएका कछुवालाई संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षणका लागि प्रतिष्ठानले सानाठूला पोखरी र खुल्ला ठाउँलाई सुरक्षित घेराबारा गरेर र बोटबिरुवा रोपेर हराभरा बनाएको छ । कछुवाको आयु दुई सय वर्षसम्म हुन्छ भने यो जल तथा स्थल दुवैमा बाँच्न सक्छ । नेपालमा जलवायु परिवर्तनका कारण पुराना सिमसार र दलदले जग्गा सुकेर जाँदा कछुवाको मुख्य बासस्थान मासिएको छ । अर्कातिर मासु खानका लागि सिकार गरिनाले बल्लतल्ल बाँचेका कछुवा पनि सिद्धिदैछन् ।

अर्जुनधारा नगरपालिका–८ की ४० वर्षीया नीलु फुँयाल दैनिक नौ घण्टा कछुवाको हेरचाहमै बिताउँछन् । उनले आफ्ना बालबच्चालाई झैँ जल र जमिनमा बस्ने कछुवालाई स्याहार्ने गरेको बताए । “बालबालिका जस्तै लजालु हुँदारहेछन् कछुवाहरु”, उनले कछुवाको आनीबानी बताउँदै भने, “अलिकति होहल्ला भयो कि पानी र घाँसभित्र लुकिहाल्छन् ।” कछुवाले जङ्गल र पोखरीको शान्त वातावरण मन पराउँछ । केन्द्रमा कछुवाका लागि प्राकृतिक रुपमै उपयुक्त बासस्थान र वातावरण निर्माण गरिएको छ ।

कछुवा उद्धार तथा संरक्षण केन्द्रमा पाँच वर्षदेखि हेरालुका रुपमा कार्यरत उनको मुख्य काम भनेको कछुवालाई आहार खुवाउनु र वयस्क पोथी कछुवाले कोरलेका अण्डाको संरक्षण गर्नु हो । प्रकृतिको महत्वपूर्ण सम्पत्तिका रुपमा जीवित यो प्राणीको संरक्षणका लागि कछुवाका प्रजाति अनुसारको बासस्थान र पौष्टिक आहारको बन्दोबस्त मिलाउनु चुनौतीपूर्ण छ ।

पच्चिस हेक्टर क्षेत्रफलको नमूना सामुदायिक वनभित्र तीन हेक्टरको विशाल पोखरी छ । वरिपरि सालका रूखले घेरिएको सो स्थानमा साना साना सुरक्षित पोखरी बनाएर कछुवालाई संरक्षण गरिएका छन् । “लोपोन्मुख अवस्थामा पुगिसकेका कछुवाको संरक्षण गर्नु भनेको तिनको प्रजनन गराएर सङ्ख्या बढाउनु पनि हो”, संरक्षणकर्ता राई भन्छन्, “तर, यो कार्य निकै चुनौतीपूर्ण छ । स्रोत र साधनको कमी हुँदाहुँदै केन्द्रले गरिरहेको प्रयास उपलब्धिपूर्ण मान्नुपर्छ ।” कछुवाले पोखरीको किनारमा अण्डा कोरल्ने गर्दछ । भर्खर कोरलिएका अण्डा न्याउरी मुसा, कमिला र सर्पले खाइदिने हुँदा जोगाउनै धौधौ पर्छ ।

केन्द्रमा ५० ग्रामको बच्चादेखि ६ केजीसम्मको कछुवा रहेका छन् । मनसुन सुरु भएसँगै कछुवाको प्रजनन बेला सुरु हुन्छ । राईका अनुसार एउटा कछुवाले दुईदेखि १० वटासम्म अण्डा कोरल्ने गर्दछ । राम्रो खानेकुरा र वातावरण पाएमा कछुवाले वर्षमा दुईपटकसम्म अण्डा कोरल्ने गर्दछ । अण्डा पारेको एक सय ७० दिनको हाराहारीमा उपयुक्त वातावरण हुँदा बच्चा निस्कने गरेका छन् ।

कछुवाको सङ्कलन, बिक्री वितरण तथा ओसारपसार कानुनी रुपमा दण्डनीय भए पनि जनचेतनाको अभाव रहेको कारण यसको चोरी सिकारी भइरहेको छ । चार महिनाअघि केन्द्रका संरक्षित कछुवा हराएपछि हाल संरक्षण क्षेत्र वरिपरि सिसी क्यामेरा जडान गरिएको राईले जानकारी दिए । प्रविधियुक्त सुरक्षामा धेरै ध्यान दिनुपर्ने हुँदा सिसी क्यामेरा जडान गरिएको उनले बताए ।

केन्द्रमा संरक्षित ४० वटा कछुवा मानिसले दैनिक रुपमा दिने चारोमा निर्भर छन् । उता पोखरीमा विचरण गर्दै आएका अन्य सय वटा कछुवा भने प्राकृतिक आहारमै रमाउँछन् । केन्द्रमा साना आठ र ठूला दुई गरी १० वटा पोखरीमा कछुवा राखिएको छ । कछुवालाई दैनिक एकपटक पौष्टिक आहार खुवाउने गरेको सुखानी सहिद स्मृति पार्कका व्यवस्थापक रुद्रमणि सुवेदीले बताए । उनले कछुवालाई महिनामा चारपटक माछा र दैनिक केरा, बन्दाकोपी, स्याउ लगायतका खानेकुराको व्यवस्था गरिएको बताए ।

कछुवा सर्वभोगी हुने हुँदा माछा, घुँगीसँगै फलफूल खाने गर्दछ । केन्द्रलाई सरकारले उल्लेखनीय सहयोग गरेको पाइएको छैन । उनले उद्यानमा घुमघाम र मनोरञ्जनका लागि आउने पर्यटकहरु कछुवा उद्धार तथा संरक्षण केन्द्रको अवलोकनमा समेत आउने गरेको उनले जानकारी दिए । केन्द्रको वरिपरि आगन्तुकहरुलाई कछुवा संरक्षणबारे जानकारी गराउने बोर्डहरु राखिएको छ । कछुवाको ठूलो मूर्ति बनाएर राखिएको स्थानमा पर्यटकहरु तस्बिर खिच्न रुचाउँछन् ।

अहिलेसम्म कछुवाको चारोको सम्पूर्ण खर्च प्रतिष्ठानले नै व्यहोर्दै आएको व्यवस्थापक सुवेदीको भनाइ छ । कछुवालाई खुवाउन र संरक्षणमा मासिक रु ५० देखि ७० हजार जति खर्च हुने गरेको केन्द्रले जनाएको छ । लोपोन्मुख कछुवा प्रजातिको संरक्षण गर्ने, प्राकृतिक वातावरणमा प्रजनन गरी वृद्धि गराउने, मानव गतिविधिका कारण जोखिममा परेका कछुवाहरुको उद्धार गर्ने तथा कछुवासम्बन्धी अध्ययन अनुसन्धानका लागि सहजीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।

कछुवा लजालु प्रकृतिको जीव भएको कारण उद्यानभित्र वनभोज खान हालै रोक लगाइएको व्यवस्थापक सुवेदीले बताए । “माइक बजाएर होहल्ला हुँदा कछुवाको प्रजनन प्रक्रियामै अवरोध भयो,” उनले भने, “त्यसैले पार्क क्षेत्रभित्र वनभोज खान रोक लगाएका हौँ ।” उनका अनुसार कछुवालाई तस्कर र न्याउरी मुसाबाट जोगाउन गाह्रो भइरहेको छ ।

झापाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकसित भएका कारण सुखानी स्मृति उद्यान र स्थानीयवासीको सुरक्षामा प्रहरी परिचालित हुने गरेका छन् । तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले आफ्नो नगरलाई कछुवा संरक्षित नगरपालिका भनेर घोषणा गरेको थियो । तर, अपनत्व नलिएपछि नगरको घोषणा कागजमै सीमित बनेको छ ।

नेपालमा अस्तित्वमा रहेका ५८ प्रतिशत कछुवा लोपोन्मुख अवस्थामा रहेका छन् । सन् १९९८ मा जर्मन प्राध्यापक डा हर्मन स्लेकले नेपालमा कछुवाको पहिलोपटक अध्ययन सुरु गरेका थिए । उनले चितवनको राष्ट्रिय निकुञ्जमा कछुवाको संरक्षण सुरु गरे भने सामुदायिक स्तरमा सबैभन्दा ठूलो र पहिलो संरक्षण झापाको सुखानी स्मृति प्रतिष्ठानमा भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं’

आदरणीय केन्द्रीय समिति सदस्यहरू, प्रिय सभापति ज्यू, पार्टी सचिवालयको निर्णयपश्चात, देशको ३८ वटा जिल्लाको माटो छोई, समीक्षा यात्रा गरी पार्टी

तालाबन्दी आवरणमा नेता पत्रकारको पद लोलुपता र स्वार्थको रोइलो

नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा

उद्योगी राज्यलाई कर छल्ने, राजनीतिक दलहरु सहयोग गर्ने अनि सरकार…

काठमाडाैँ । विद्युत प्रयोग गर्ने तर महसुस भुक्तानी नगर्ने उद्योगीहरुको संख्या बढ्दो छ । सरकारले पटक—पटक महसुस भुक्तानी गर्न आग्रह

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’

राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र

घरभाडा निर्धारण गर्ने काम कसको ?

काठमाडौँ । मुलुकमा तीन वटा सरकार छ, स्थानीय, प्रदेश र संघीय । तर, तीन वटै सरकारले घर भाडा निर्धारण गरेको

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै

Techie IT