माओवादी जनयुद्धका अखिरी दिनहरु...

भारतको लखनउबाट भूमिगत रुपमै रेल चढेर हामी अर्को सहर गोरखपुरतिर लाग्यौँ । रातको त्यो रेल यात्रामा सहकर्मी ओम शर्मा र म सँग लोकबहादुर बोहरा पनि जोडिए । ओमजी र मेरो लागि नयाँ नभए पनि लोकबहादुरका लागि भने पहिलो रेलयात्रा थियो त्यो  । 

 

भोलिपल्ट बिहान गोरखपुर उत्रियौँ र नेपाल पुग्न उत्तरतर्फ लाग्यौँ । तीन घण्टाको बस यात्रापछि नेपाल–भारत सीमावर्ती शहर सुनौली आइपुग्यौँ । रुपन्देहीबाट हामीलाई लिन एउटा गाडी पठाइएको थियो र त्यसको नम्बर पहिले नै टिपाइएको थियो । उपेक्षित थारु समुदायका चालकले हामीलाई स्वागत गर्दै भने, ‘संवेदनशील वस्तु भए गाडीमा लुकाएर राखिदिन्छु ।’ उनले हामीसँग कुनै हातहतियार छ कि भन्ने तर्फ संकेत गरेका थिए तर हामी हतियारधारी होइन कलमधारी हो भनेपछि उनी ढुक्क भए । 

 

सुनौली नाकाको बायाँतिर सुरक्षाकर्मीहरू यात्रुहरूलाई लाइनमा राखेर खानतलासी लिँदै थिए । सुरक्षाकर्मीको स्वभाव बुझेका हाम्रा चालकले दायाँ हात उठाएर उनीहरूलाई सलाम गरे र गाडी अगाडि बढाए । सम्भवतः युद्वकालमा यति संवेदनशील सिमाबाट सुरक्षित प्रवेश गर्ने हामी पहिलो थियौँ । 

 

अगाडि अर्को ठाउँमा पनि चालकले सुरक्षाकर्मीलाई त्यसरी नै सलाम ठोकेर गाडी हुइँक्याए । बुटवलबाट पूर्व लागेपछि ‘यात्राका लागि धन्यवाद’ लेखिएको होर्डिङ बोर्ड देखियो, अनि हामी मुक्त इलाकामा आइपुगेको महशुस ग¥यौँ । 

 

हामीलाई सुरक्षित इलाकामा पुर्याउने त्यो गाडी र ति चालक रुपन्देहीतिरका एक व्यापारीले पठाएका रहेछन । अचम्मको कुरा हाल अवकाश प्राप्त र सिड्नीमा बसोबास गरिरहेका तत्कालिन शाही नेपाली सेनाका एक अधिकारीका अनुसार त्यो गाडी र ति चालकले सरकारी फौजका मानिसलाई पनि गैरफौजी पोशाकमा ओसार–पसार गर्थे । 

 

सिड्नीको एक सुक्रबारे रमाइलो बसाईमा सन् २०१७ को अन्ततिर यो कुरा थाहा भयो । उनलाई सहयोग गर्ने व्यवसायी, गाडी नम्बर, थारु समुदायका चालक र हामीलाई त्यो बेला सिमावर्ती सहरबाट सुरक्षित गाउँसम्म पुर्याउनेको हुलिया एउटै थियो । 

 

कालीगण्डकी पारी पुगियो 

 

सुनौली नाकाबाट मध्यमवर्गीय ठाँटमा नेपाल छिरेर एकैदिनमा पाल्पाको हात्तीलुङ्गका निम्नवर्गीय किसानको गुन्द्रीमा सुत्न पुग्यौँ । नवलपरासीको सीमावर्ती जुरेमा जनमुक्ति सेनाको पाचौँ डिभिजनलाई भेटेपछि जनमुक्ति सेनालाई पछ्याउँदै पूर्वी पाल्पाको गरिब बस्ती चहा¥र्यौं । यही इलाकाको सार्कीडाँडामा डेपुटी कमाण्डर कमरेड प्रभाकर (जनार्दन शर्मा) लाई भेट्यौँ । 

 

छैठौँ डिभिजनका साथमा नेपालको तातु नदी (लङमार्चको क्रममा माओले तरेको चिनिया नदी) को संज्ञा दिइएको कालीगण्डकी तरेर प्रभाकर पाल्पा आइपुगेका रहेछन् । स्याङ्जामा  शाही सेनाको घेराबन्दी तोडेर पार्टीको कार्यनीति अनुसार जनमुक्ति सेनाले गण्डकमा पाइला टेकिसकेको थियो । 

 

राजा ज्ञानेन्द्रले शाही शासन शुरु गरेको करिब ६ महिनापछि २०६२ भदौमा चुनवाङमा बसेको नेकपा माओवादीको ‘विजय र एकता’को केन्द्रीय समिति बैठकले रणनीतिक प्रत्याक्रमणको दोस्रो योजना पारित गरेको थियो  । यसलाई सफल पार्न जनमुक्ति सेनाको फर्मेशन विस्तार गरी सात डिभिजन र एक्काईस ब्रिगेड बनाइयो । जसमध्ये दुई डिभिजन पूर्वमा र एक काठमाडौं उपत्यकामा केन्द्रीत भए भने चार डिभिजन गण्डक अभियान सफल पार्न जुटे ।

 

‘ढाडमा टेकेर टाउकोमा हान्ने’ (गण्डकलाई ढाड मानेर यसको टाउको पोखरामा हमला गर्ने) फौजी रणनीति कार्यान्वयन गर्न गण्डक खटाइएको चार डिभिजन फौजको कमाण्डर थिए पश्चिम सैन्य कमाण्डका कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ । 

 

पश्चिम क्षेत्रीय कमाण्ड इन्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’को नेतृत्वमा गण्डक क्षेत्रका इन्चार्ज तथा केन्द्रीय सदस्य टोपबहादुर रायमाझी ‘अनिल’, केन्द्रीय सदस्यहरू पम्फा भूसाल ‘विद्युत’, शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’ र हेमन्तप्रकाश वली ‘सुदर्शन’ले गण्डक अभियानको राजनीतिक र फौजी कमाण्ड सम्हालेका थिए । 

 

गणेशमान पुन ‘रश्मी’को कमाण्डमा चौथो, सुकबहादुर मगर ‘शरद’को कमाण्डमा पाँचौ, तेजबहादुर वली ‘प्रतीक’को कमाण्डमा छैठौँ र महेन्द्रबहादुर शाही ‘प्रज्ज्वल’को कमाण्डमा सातौँ डिभिजिन गण्डकमा परिचालन भएका थिए । पश्चिम क्षेत्रमा सक्रिय जनमुक्ति सेनाको करिब सबै शक्ति केन्द्रीत भएकाले गण्डकको तराई र चुरेका काखहरू माओवादी नियन्त्रणमा आएका थिए ।

 

जनमुक्ति सेनाको डेपूटी कार्यालयका प्रवक्ता रमेश कोइरालाले गण्डक आइपुग्दाको रोचक अनुभवसहित फौजी योजनाबारे हामीलाई जानकारी दिँदै भने, ‘गण्डक जाँदैछौँ भनेर घोषणा नै गरेर हामी यहाँ आइपुग्यौँ । बाटोमा ठूलो छेकबार होला भन्ने ठानेका थियौँ तर गुल्मी र स्याङजामा सामान्य भीडन्त बाहेक खासै अवरोध भएन । सार्वजनिक रुपमा घोषणा गरेर चार डिभिजन फौज यहाँ आइपुग्नु नै एक प्रकारको विजय हो ।’ 

 

गण्डकको समाज 

 

गण्डकको समाज बुझेका कमरेड विश्वजीतले पाल्पाको चुरे इलाकाका वस्तीहरूको बारेमा हामीलाई विस्तृत जानकारी गराए । न्यून उत्पादनले गर्दा यहाँको गरिब परिवारको गुजारा निकै कठिन छ । जन्मदर बढी छ । कतिपय परिवारमा हजुरआमा, आमा र बुहारीले सँगसँगै बच्चा जन्माइरहेका हुन्छन् । अनौठो कुरा तर ती बच्चाहरू बलिया र निरोगी हुन्छन् । 

 

सानैदेखि शिकार खेल्न सिक्छन्, निगालाको ‘बन्दुक’ र गुर्ता बनाउन थाल्छन् । प्रायः आमाहरू बच्चा जन्माएको २४ घण्टापछि नै काममा फर्कन बाध्य हुन्छन् । मकैको ढिँडो यहाँको प्रचलित खाना हो तर त्यो पनि पेटभरी खान नपाउने चेपाङ समुदाय गिठ्ठाबाट गुजारा गर्छन् । 

 

आदिवासी जनजातिको प्रसंग चलिरहेको बेला कमरेड विद्युत् (पम्फा भुसाल) ले राउटेहरूको बारेमा माओवादीको केन्द्रीय समितिमा बहस भएको स्मरण गरिन्, ‘जनयुद्धका प्रारम्भिक वर्षहरूमा प्रहरी कारवाहीमा राउटेहरू समेत मारिएको खबर आएपछि उनीहरूको सुरक्षाको बारेमा पार्टी बैठकमा छलफल हुँदा अध्यक्ष प्रचण्डले संरक्षणका लागि योजना बनाउनुपर्ने बताएका थिए । अहिलेका गृहमन्त्री कमरेड बादलले चाहिँ राउटेहरूको सुरक्षाका लागि एक बटालियन सेना खटाइदिने प्रस्ताव गरेका थिए ।’ 

 

यहिनेर अर्को रमाइलो प्रसंग फेरी सिड्नीको जोड्छु । हालै अर्को शुक्रबारको बैठकमा भेटिएका नेपाल प्रहरीका अवकाश प्राप्त निरीक्षकले रोचक पाराले सुनाए – जनयुद्दको सुरु–सुरुको चरण थियो । म जाजरकोट थिए । चकमन्न एउटा रात, मेरो चौकी नजिकै हातमा अगुल्टो बोकेको लस्कर नजिकै आयो । त्यो लस्कर निडर भएर लगातार मेरैतर्फ आयो । मैले सबै मेरो फौजलाई तयारी हालतमा राखे । आवश्यक पर्दा हमला गर्न । तर त्यो टोली अझैं आगाडी बढ्यो । हामी सबै हमला गर्ने अन्तिम चरणमा थियौ । 

 

बालबालिका, पाका पुस्ता र युवा सबै छन् । हो न हो माओवादी पल्टन जस्तै । मैले कान ठाडा पारेर उनीहरुको भाषा  सुने । त्यो त बसाई सर्दै गरेको राउटे टोली  रहेछ । हामीले होस गुमाएर हमला गरेको भए त्यो दिन के हुन्थ्यो होला ? उनले त्यो दिन राउटे पल्टनमाथि हमला नगरे पनि दैलेख र जाजरकोटमा त्यो बेला माओवादी आरोपमा राउटेहरु मारिएको खबर आएको थियो । 

 

पाल्पाको दक्षिण पूर्वी इलाका र नवलपरासीको चुरे क्षेत्रका मगरहरू कुचो बेचेर जीविका चलाउँछन् । एउटा कुचो पाँच रुपैयाँमा बेचेर वार्षिक पाँच हजार भन्दा बढी आम्दानी गर्ने परिवार धेरै छन् । हामीले कुम्भी गाउँमा कुचो बेचेर जीविका चलाउने दुई मगर परिवारसँग कुराकानी ग¥यौँ । उनीहरू रुपन्देहीको खैरेनीबजार गएर  कुचो बेच्छन् र खाद्यान्न किनेर घर फर्किन्छन् । 

 

मगर बाहुल्य क्षेत्र हुनुको नाताले गण्डकको यो पहाडी क्षेत्र क्रान्तिको प्रमुख सहयोगी इलाका हो । नवलपरासीदेखि पश्चिम डोटीसम्मको चुरे भेगमा यात्रा गर्दा मैले मगर वस्तीहरूमा धेरै सेल्टर लिएको छु । नेपाली जनयुद्दका पछिल्ला दिनहरूमा क्रान्तिको मुख्य आधार चुरे क्षेत्र भएको थियो र यहाँका मगर वस्तीहरू कार्यकर्ताका सेल्टर बनेका थिए । पार्टी सम्पर्कमा हिँड्दा संसारै पार्टीमय लाग्छ र विरोधी मत बुक्र्न सकिँदैन । मगरात वस्तीहरूमा बस्दा अन्य समुदायको बारेमा त्यत्ति थाहा हुँदैन । पाल्पामा पनि त्यही कुरा दोहोरियो । हामी धेरै समय मगरात वस्तीमै बस्यौँ । 

 

(यो अनुभूतिजन्य लेखन पत्रकार धितालको अंग्रेजी भाषामा प्रकाशित पुस्तक  ‘द फाइनल डेज अफ द पिपल्स वार’ को उनैद्वारा सम्पादित अंश हो) 

 


थप समाचार

राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

  • 47 minutes ago
राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ ।

बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

  • 1 hour ago
बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

  • 1 hour ago
सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।