Techie IT
२०८२ असोज २६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालपढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह

पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह


मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्दछन् ।

विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेकी छन् । “सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो तर फरक सीप सिक्दा नयाँ सीप र पढाइ दुवै राम्रो भइरहेको छ”, उनले भनिन् ।

गत दुई महिनादेखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गतको सिलाइकटाइ तालिममा सरुखाजस्तै सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भई पढाइसँगसँगै सीप पनि सिकिरहेका छन् । कक्षाका छात्र–छात्रा सबै जना सिलाइकटाइ तालिममा सहभागी हुने गरेका छन् ।

क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाइकटाइ तालिम लिन पाउँदा खुसी लागेको बताइन् । “विद्यालयमा पढाइमात्र हुने गरेको थियो तर यो वर्षदेखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ, हामीलाई धेरै प्रभावकारी भइरहेको छ”, उनले भनिन् ।

हुप्सेकोट गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको छ । सोहीअन्तर्गत सूर्यज्योति माविमा सिलाइकटाइ तालिम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक निमु गिरीले बताइन् । “हाम्रो विद्यालयमा एक सय ८० घण्टे सिलाइकटाइ तालिम सञ्चालन गरेका छौँ”, उनले भनिन्, “कक्षा ९ का विद्यार्थी हेरक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइमा सहभागी हुन्छन् ।”

विद्यालयले १५ सिलाइ मेसिन स्थानीय अभिभावकसँग सहयोग मागेर तालिम सञ्चालन गरेको छ । “गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा उपलब्ध गराउने रु ६२ हजार पाँच सयबाट एक जना प्रशिक्षक र आवश्यक सामग्री व्यवस्थापन गरेका छौँ”, उनले भनिन् ।

विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने कार्यक्रमले विद्यालय तह उत्तीर्ण गर्दा विद्यार्थीमा व्यावसायिक सीपको पनि विकास हुने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने प्रअ गिरीले बताइन् । हुप्सेकोट गाउँपालिकाले गत शैक्षिकसत्रमा चारवटा विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अहिले १२ विद्यालयमा सञ्चालन गरेको छ ।

कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीलाई एक सय ८० घण्टे सीपमूलक तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । “प्राविधिक तालिमकै लागि पालिकाले १२ विद्यालयलाई रु ६२ हजार पाँच सयका दरले रु सात लाख ५० हजार बजेट विनियोजन गरेको छ”, उनले भनिन् “यो वर्ष चार सय ५० विद्यार्थीले तालिम लिइरहेका छन् ।”

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटीसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन् । “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सीप बोकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको हो”, उनले भनिन् । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सञ्चालन भएको तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को तह दुई बराबरको रहेको अध्यक्ष पाण्डेले बताइन् । “तालिम सकिएपछि विद्यार्थीलाई सिटीइभिटीकै प्रमाणपत्र पनि उपलब्ध गराइने छ”, उनले भनिन्।

हुप्सेकोट गाउँपालिकाको शिक्षा ऐनमा नै विद्यार्थीलाई प्राविधिक सीप सिकाउने बुँदा समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ”, उनले भने । सीपमूलक तालिम नियमित कक्षालाई असर नपर्ने गरी बिहान र साँझको समयमा सञ्चालन गर्न विद्यालयलाई समन्वय गरिएको घिमिरेले बताए ।

आर्थिकरूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत माधवराज गौतमले बताए । “यस क्षेत्रमा धेरै विद्यार्थी आर्थिकरूपले कमजोर छन्”, उनले भने “यस्ता व्यावसायिक सीपले वैकल्पिक आयआर्जनमा सहयोग पुग्ने छ ।”

पढ्दै कमाउँदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट–३ बेलाहानीका प्रधानाध्याक सूर्य भण्डारीले बताए । “हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालिममा सहभागी भएका छन्”, उनले भने, “यही तालिमले गर्दा बीचमा पढाइ छाड्ने सङ्ख्या यो वर्ष छैन ।”

तालिम लिन पाउँदा विद्यार्थी खुसी देखिएका छन् । सीपमूलक तालिममा सहभागी भएपछि विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको शिक्षकहरूको अनुभव रहेको छ । हुप्सेकोट गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु ५१ करोड ७८ लाख ८४ हजार रहेको छ । उक्त बजेटमध्ये शिक्षामा मात्रै रु २० करोड नौ लाख ५४ हजार विनियोजन गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT