Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिंहदरबारभित्रको धारा खोलेर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी उद्घाटन

सिंहदरबारभित्रको धारा खोलेर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी उद्घाटन


काठमाडौँ । काठमाडौँवासीका घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिएको छ । मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो ।

मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन् । तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्‍याउन थालिएको हो । बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो ।

मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।

त्यसपछि ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले पानी पथान्तरणको काम २८ दिनभित्र सम्पन्न गरी उपत्यकाका घर–घरमा पानी पुर्‍याउने निर्णय गरेको थियो । त्यसका लागि ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु गरिएको थियो ।

पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिएको हो ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उदघाटन गरेका थिए ।

त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन् । तर पानी वितरण अघि गर्नुपर्ने थुप्रै काम बाँकी भएकाले धारामा पानी आउन केही दिनमै बन्द भएको थियो ।

सोही वर्षको जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो । त्यसको मर्मत गरी २०७९ मंसिर २३ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले पुनः महाँकाल केन्द्रबाट मेलम्चीको पानी वितरण शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आज चौथोपटक मेलम्चीको पानी वितरणको उदघाटन गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT