Techie IT
२०८१ वैशाख १, शनिबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यपुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा

पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा


काठमाडौँ । पत्रकार, प्राध्यापक, मानवाधिकारवादी र राजनीतिक विश्लेषकको उपाधि पाउनुभएका पुरुषोत्तम दाहाल नेपाली प्राज्ञिक क्षेत्रमा चर्चामा रहने नाम हो । उहाँको अर्काे परिचय समाजसेवा पनि हो, जो महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्छ । नेपाली साहित्यमा उहाँ कवि, निबन्धकार र उपन्यासकारका रूपमा पनि  चिनिनुहुन्छ । एकै व्यक्तिले यतिका परिचय बोक्नु भनेको कम भारी होइन । जे होस्, देश र जनताका लागि आफ्नो रुचि र योग्यताले काम गर्दै जाँदा व्यक्तिका विभिन्न परिचय थपिँदै जान्छन्, जुन अस्वाभाविक होइन ।

पत्रकारिता र मानवाधिकार सम्बन्धमा क्रियाशील हुँदै गर्दा दाहालका दुई कृति (संयुक्त लेखनसमेत) प्रकाशन भएका छन् । साहित्यको कुरा गर्दा भने उहाँका यसअघि ‘केही कवि केही कविता (संयुक्त, २०४३), ‘साँध’ (२०५९) र ‘अन्धकारको यात्री (२०७३) कवितासङ्ग्रह, ‘प्रक्षेपण’ (२०६१) निबन्धसङ्ग्रह र ‘शान्ता’ (नेपाली–अङ्ग्रेजी, २०७०) उपन्यास प्रकाशन भएका छन् । वाक्पटुतामा पनि चर्चित लेखकको ‘शान्ता’ अङ्गदानसम्बन्धी चर्चित पुस्तक हो ।

पत्रकार हुनाका नाताले लेखिरहने बानी पर्नुभएका उहाँ पछिल्लो समय  चौथो कवितासङ्ग्रह लिएर आउनुभएको छ –‘काला बादलमा उज्याला पाइला’ (शिखा बुक्स, २०७९) । गद्य र पद्य दुवै कविता रहेका सो सङ्ग्रहमा रहेका ४० कविताका विषयवस्तु विदेशभूमि, प्रकृति, कोरोना महामारी आदि छन् ।  छोराबुहारी भेट्न अमेरिका पुगिरहने उहाँका तीमध्ये २३ कविता त्यहाँ रहँदा र  बाँकी कोरोना महामारीका बेला मुलुकमै बसेर लेखिएका हुन् । राजनीतिमा संलग्न उहाँका बढीजसो कविता भने सोही विषयमै रुमलिएको छ जुन स्वाभाविक पनि हो ।

‘ऊ मुस्कुराउँदा’ अमेरिकी भूमिमा हुर्किरहेको नातिलाई लिएर लेखिएको कविता हो जसमा  कवि सिङ्गै  ब्रह्माण्ड एवं भूगोल अटेको कल्पना गर्नुुहुन्छ र उसलाई सारा सौन्दर्यको प्रतिनिधिका रूपमा वर्णन गर्नुहुन्छ । ‘समुद्रको किनारबाट’ कवितामा पनि उहाँ त्यसको सौन्दर्य र विशालपनको वर्णन गर्दै त्यसैमा हराउन चाहनुहुन्छ । ‘जेम्स नदीको प्रश्न’ मा कवि भर्जिनियाको त्यस लामो नदी छेउमा बसेर त्यहाँ रहेको ‘स्वतन्त्रता’ नामक सालिकसँग संवाद गर्दै सुन्दर मुलुक नेपाल छाडेर स्वदेशवासी अरूका बँधुवा हुन जानुपरेकामा दुःख व्यक्त गर्नुहुन्छ । त्यसैका पूरकका रूपमा कवि ‘किन फर्कने ?’ कवितामा  मुलुकको दुःख हेर्न तिनलाई फर्कनु नपर्ने जवाफ व्यङ्ग्यात्मक ढङ्गले दिनुहुन्छ  र राज्यलाई जनता बाहिर पठाउन पाए सङ्घर्ष–आन्दोलन थेग्नु नपर्ने र  शासन गर्न हाइसन्चो हुने झटारो हान्नुहुन्छ ।

कवि कोरोना महामारीमा मुलुकले खप्नुपरेको  पीडा र   दुःखलाई नयाँ ढङ्गले कोर्नुहुन्छ–‘मुर्दाहरू आफ्ना लाश आफैँ जलाऊ ।’ देशमा कोभिड–१९ को दर्दनाक अवस्थामा पनि सरकारले जनतासँग कर लिन गरेको बलजफ्तीको घटनाप्रति यसमा घोर व्यङ्ग्य गरिएको छ । महामारीग्रस्त हुँदा पनि उपचार खर्च आफैँले बेहोर्नुपरेको दैनिक काम गरी खानुपर्ने मानिसले खान नपाउने स्थिति रहेको तर आफू भने विलासितामा डुब्दै जनताप्रति विमुख  हुने गरेको तत्कालीन शासकको चरित्र यसमा राम्रोसँग पाइन्छ–

‘मुर्दाहरू !

आफ्ना लाश

आफैँ बोक

र घाट जाऊ

मेरो सरकारको आदेश छ

आफैँ मुखाग्नि देऊ

र आफ्ना लाश

आफैँ जलाऊ

तर

सरकारी कर तिर

तिरेनौ भने

जल्न पाउँदैनन् तिम्रा लाश !’

सोही परिस्थितिमा औषधि र उपकरण खरिद गर्दा भएको भ्रष्टाचारको खेललाई पनि उहाँले उदाङ्गो पार्नुभएको छ ।

हाम्रो राजनीति र राजनीतिकर्मीलाई ‘बूढो गोरु’ र ‘खोरभित्रका बाँदरहरू’को संज्ञा दिँदै कवि तिनबाट पीडित नेपालीको विवशता पोख्नुहुन्छ । यहाँ रहेका गद्य, पद्य दुवै कवितामा प्रायः देशको परिस्थितिप्रति निराशा नै व्यक्त गरिएको छ । यस्तो स्थितिमा उहाँ ‘एउटा रुद्र यहाँ आऊ’ भन्दै तारनहार बनिदिन इमान्दार राजनीतिकर्मी वा बुद्धिजीवीहरूलाई यसरी आह्वान गर्नुहुन्छ–

‘नयाँ हुन् कि पुराना हुन् वयको अर्थ हुन्न क्यै

समान पापका कुण्ड निशुम्भ शुम्भ हुन् सबै ।

दक्ष यज्ञ गरी होम राग बुद्धि यी हुन् सबै

यौटा रुद्र यहाँ आऊ, खरानी पार यी सबै ।।’

समग्रमा कवि यी र यस्तै ‘काला बादल’ रूपी विकृति चिर्न त्यही विदेशी भूमिमा मुस्कुराएको बालकहरूले नै ‘उज्याला पाइला’ ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ ।

सङ्ग्रहमा सापेक्षिक रूपमा धेरै कविता लामा र केही मात्र छोटा छन् । कृतिका वर्णविन्यासमा यति धेरै त्रुटि हुनु जाती हुन्न । कविले गद्य र पद्यलाई एकै ठाउँमा नमिसाएको भए हुन्थ्यो । कविताले ल्याएको  भाव र व्यक्त गर्ने शैली भने मिठासपूर्ण नै मान्नुपर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट छात्रवृत्ति प्रदान…

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक

काठमाडौँ । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौँ । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको

लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा

काशीनाथ न्यौपानेको ‘अशून्यम्’ लोकार्पित

काठमाडौँ । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको

Techie IT