Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालराजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो


गण्डकी । देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे । गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ ।

नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेका हुन्। गणतन्त्र स्थापना पश्चात पूर्वराजपरिवारको सम्पत्तिका रुपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ । गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन ।

फेवातालको किनारमा रहेको यो ऐतिहासिकस्थल करिब एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा विसं २०१३ मा निर्माण सुरु गरी २०१५ सालमा यसको निर्माण सम्पन्न भएको थियो । विगतमा यसको प्रयोग राजारानी, दरबारका विशिष्ट पाहुना पोखरा आउँदा बस्नुका साथै राजकीय निमन्त्रणामा आएका अतिविशिष्ट पाहुना बस्ने स्थलका रुपमा यस दरबारलाई लिइन्थ्यो ।

यस दरबारमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत अन्य विशिष्ट विदेशी पाहुनाको आगमन भएको र बास बसेको पाइन्छ । यस परिसरभित्र रत्नमन्दिर दरबारलगायत तालघर, बाग बगैँचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन् ।

दरबारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ कक्षलगायत ११ कोठा छन् । यहाँबाट फेवाताल, तालपारीको रानिवन र माथि विश्वशान्ति स्तूप, पुम्दीकोटलगायतका सुन्दर दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । रत्नमन्दिरमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला पुगेको कुरा उनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारका नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टका नाममा ल्याउने सरकारी निर्णयपछि यो नेपाल ट्रष्टको स्वामित्वमा छ । तत्कालीन राजपरिवारका नारायणहिटीलगायतका दरबार गणतन्त्र आएपछि खुला भए पनि रत्नमन्दिर नखुल्दा पोखराका पर्यटन व्यवसायीले निरन्तर खुलाउन माग गर्दै आएका थिए ।

कार्यक्रममा मन्त्री किरातीले गणतन्त्रको उपहारस्वरुप रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको बताए । पर्यटकीय नगरी पोखरामा रहेको यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै प्रवद्र्धन गरी अधिकतम उपयोग गरिनुपर्नेमा उनले जोड दिए । विसं २०१३ मा निर्मित यो सम्पदालाई तत्कालीन समयको समाजसँग तुलना गरेर हेर्नुपर्ने उनको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराशा छाएको जनाउँदै उनले यसका लागि कूटनीतिकस्तरमा छलफल चलिरहेको बताए ।

चीनका सहरमा चाटर्ड उडान सुरु गर्ने तयारी भइरहेको जनाउँदै उनले पोखरामा चीन र भारतका सहरबाट सिधा उडान गरी विमानस्थलको सदुपयोग गर्नुपर्ने बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै व्यवस्थित सञ्चालनका लागि पोखरा महानगरपालिकालाई जिम्मा दिनुपर्ने आवश्यकता औँल्याए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रत्मन्दिर खुला गरिनुले पोखराको पर्यटनमा थप टेवा पुगेको बताए । हालका लागि रत्नमन्दिरका बाहिरी भाग खुला गरिएको उल्लेख गर्दै उनले भित्री भाग खुला गर्न कमजोर संरचनालगायतका कारण अझै केही समय लाग्ने बताए ।

रत्नमन्दिर परिसर अवलोकनका लागि प्रत्येक हप्ताको सोमबारबाहेक बिहान १० देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ ।

स्वदेशी नागरिकका लागि रु एक सय र विदेशीका लागि रु एक हजार टिकट शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्र तथा भिडियोग्राफी वापत प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफी वापत प्रतिघण्टा रु १० हजार शुल्क निर्धारण गरिएको छ ।

रत्नमन्दिर खुला हुनुले पोखरामा थप पर्यटकीय गतिविधि बढ्ने र उनीहरूको बसाइ लम्ब्याउन योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । “रत्नमन्दिर खुलेसँगै आगामी दिनमा यो ऐतिहासिक सम्पदा हेर्नका लागि पनि देशका विभिन्न स्थानबाट पर्यटक आउनेछन्, यसले पोखरामा पर्यटकको आगमन बढाउनसमेत महत्वपूर्ण योगदान गर्नेछ”, उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT