Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध


गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

“सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अवरुद्ध सडक अझै खुलाउने सुरसार देखिँदैन”, लाप्राकका स्थानीय वीरबल गुरुङले भने, “चाडबाडका बेलामा समेत भारी बोकेर खाद्य सामग्री लैजानुपर्ने बाध्यता लाप्राकवासीको छ ।” उनले अवरुद्ध सडक मर्मतसम्भारका लागि गाउँपालिकाले समेत आवश्यक पहल नगरेको गुनासो गरे ।

बारपाक–लाप्राक सडकखण्ड विसं २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नति सुरु भएको थियो । ठेक्का सम्झौता भएको झन्डै ४१ महिना भइसक्दासमेत स्तरोन्नति सकिएको छैन । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

कार्यालयले ठेकेदार कम्पनीसँग रु ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ मा ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको भौतिक प्रगति अहिलेसम्म ५२ प्रतिशतमात्र रहेको कार्यालयका प्रमुख गणेश सुवेदीले जानकारी दिए । कार्यालयले १३ दशमलव १४ किलोमिटर दूरीको वारपाक–लाप्राक सडक ग्राभेल गर्ने गरी ठेक्का सम्झौता गरिएको हो ।

तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने गरी म्याद थप गरेको थियो । थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र छ । ठेकेदार कम्पनीले सुस्तगतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको प्रमुख सुवेदीले बताए ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउनेलगायतको जिम्मेवारी पाएको छ । दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, बर्खामा बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ भएको बताएको छ ।

समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखमा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडकयात्र सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT