Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोखरामा विद्युतीय शवदाह गृह निर्माण

पोखरामा विद्युतीय शवदाह गृह निर्माण


कास्की । पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । काठमाडौँबाहिर निर्माण भएको यो पहिलो विद्युतीय शवदाह गृह हो ।

सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा निर्माण गरेको शवदाह गृहको गत भदौ दोस्रो सातामा निर्माण सकिएको थियो । शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको थियो । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर सुरज पौडेलले शव दहनमा खटिने जनशक्तिलाई तालिम दिनुपर्ने बताउँदै छिटै हस्तान्तरण गरिने जानकारी दिनुभयो । “शवदाह गृह बनेको जग्गा महानगरको हो । निर्माण सकिएको छ । परीक्षण सकिनेबित्तिकै हस्तान्तरण गर्छौं ,” उहाँले भन्नुभयो।

अहिले रामघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइलाघाट जस्ता सेती किनारका घाटमा शव दहन गर्ने गरिएको छ । शान्तिघाटमा बिजुली र दाउरा दुवै प्रयोग हुने शवदाह गृह पोखरा महानगरपालिकाले बनाएको थियो । निजी बैङ्कसँगको सहकार्यमा निर्मित त्यो शवदाह गृहमा दाहसंस्कार गर्दा परम्परागत तरिकाभन्दा थोरै दाउरा प्रयोग हुन्थ्यो । अहिले त्यो शवदाह गृहसमेत बन्द छ ।

महानगर प्रमुख धनराज आचार्यले युगको आवश्यकता अनुरूप विद्युतीय शवदाह गृह बनेको बताउँदै महानगरलाई हस्तान्तरण भइसकेपछि जनशक्ति व्यवस्थापनसहित उचित तवरले यसको सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामघाटमा शव दहनलाई व्यवस्थित गर्ने उद्देश्यले १४ करोड १३ लाख ५० हजार रुपियाँको लागतमा आधुनिक शवदाह गृह निर्माण भएको हो । भवनभित्र शव दहन गर्ने तीन मेसिन राख्ने स्थान भए पनि अहिले दुई वटा मेसिन राखिएका छन् । शवदाह गृह १० रोपनीमा फैलिएको छ ।

शवदाह गृहभित्र अन्तिम श्रद्धाञ्जली दिने स्थानसमेत छ । शवदाह गृह परिसरभित्रै हिन्दु धर्मावलम्बीका लागि मन्दिर र बौद्ध धर्मावलम्बीका लागि गुम्बा निर्माण गरिएको छ । निर्माण कम्पनी सिनर्जी विल्डर्स प्रालिका प्रोजेक्ट म्यानेजर इन्द्र खनालले कम्तीमा ४५ मिनेटदेखि बढीमा एक घन्टाभित्र एउटा मेसिनले एउटा शव दहन गर्ने जानकारी दिनुभयो ।

शव दहनबाट उत्पादन हुने ताप र धुवाँलाई प्रशोधन गरी ३० मिटर अग्लो चिम्नीमार्फत बाहिर पठाउने व्यवस्था छ । शव दहन गर्दा शवदाह गृह र आसपासमा समेत गन्ध नआउने र धुवाँसमेत नदेखिने निर्माण कम्पनीको दाबी छ ।

पहिला आउने १० वटा शवमा लाग्ने खर्च हिसाब गरी दहनको शुल्कबारे सुझाव दिने निर्माण कम्पनीको तयारी छ । शवदाह गृह सञ्चालनका लागि एक सिफ्टमा चार जना जनशक्ति आवश्यक पर्छ । शव दहन गर्ने मेसिन भारतमा निर्माण गरिएको हो । उचित तवरले सञ्चालन गरे सात÷आठ वर्ष यी मेसिनले राम्ररी काम गर्ने बताइएको छ ।

२०७३ सालमा शवदाह गृह निर्माणका लागि ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कोभिड महामारीलगायतका कारणले काम अघि बढ्न सकेको थिएन । सर्वोच्च अदालतले निर्माण नरोक्न आदेश दिएपछि २०७८ साल असोजबाट काम सुरु भएको थियो । दुई वर्षमा काम सक्नुपर्ने सम्झौता भए पनि कानुनी झमेला र स्थानीयको अवरोधले सात वर्षमा निर्माण सकिएको हो । परम्परागत रूपमा एक जनाको दाहसंस्कार गर्दा तीन सय केजीभन्दा बढी दाउरा लाग्छ । गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT