Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालविश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटका बेला उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको जानकारी दिए । त्यसका लागि संयुक्त राष्ट्रसङ्घबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरे ।

संयुक्त राष्ट्रसङ्घ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गरे । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदरस्वरुप संयुक्त राष्ट्रसङ्घको मुख्यालय तथा शान्ति मिशनहरूमा नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले निरन्तरको तापक्रम वृद्धिका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा नेपाल चिन्तित रहेको र दुबईमा जारी कोप–२८ मा त्यससम्बन्धमा जोडदार रूपमा नेपालले आवाज उठाएको बताए ।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गरे । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले कतिपय शान्ति ‘मिशन’मा घाना र नेपाली शान्ति सैनिकले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधै तत्पर रहेको बताए ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकामा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गरे । उनले घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न पर्यटन, कृषिलगायत क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताए ।

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो ।

त्यसअघि सोमबार साँझ उपप्रधानमन्त्री खड्काको स्वागतमा घानास्थित गैरआवासीय नेपाली सङ्घले एक कार्यक्रम आयोजना गरेको थियो । गैरआवासीय नेपाली सङ्घ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपाली विभिन्न पेसा–व्यवसायमा आबद्ध रहेका जानकारी दिए । उनले घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घाना आउन कठिनाइ भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समस्या भएको बताएका थिए ।

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदान–प्रदान गर्न र नेपालको कला, संस्कृति प्रवर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नमा प्रेरित गर्न आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT