Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुग्लिन पोखरा सडकखण्डः जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

मुग्लिन पोखरा सडकखण्डः जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी


दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए ।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए । उनले भने, “पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ । त्यही अनुसार अहिले काम भइरहेको ।” उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।

सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

पूर्वी खण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वी खण्डमा १२।५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रुपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म ३।५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५।५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१।४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT