Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालखुवाको ‘हब’ बन्दै चुच्चेखोला

खुवाको ‘हब’ बन्दै चुच्चेखोला


मनहरी । हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् ।

उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोस अझै घटेको छैन । उनी अहिले पनि बिहान ५ देखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त छन् । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेसाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गा जमिन जोड्नसमेत सफल भएका छन् । इच्छा शक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रुपमा तिमल्सिनालाई लिन सकिन्छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्णप्रसादको बिँडो माहिला छोराबुहारीले थामेका छन् । “उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैँ अग्रसर हुन्छु”, तिमल्सिना भन्छन् ।

पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले सोही नाममा यसको शाखा हेटौँडा बजारमा खोलेको पनि २३ वर्ष भइसकेको उनी बताउँछन् । चुच्चेखोलाको व्यवसाय सुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूवाद्र्धमा दुःखकष्ट र उकाली ओरालीहरूसँग सङ्घर्ष गर्दागर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाए ।

चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजियामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा । तपाइँ जो कोही जतिबेला पनि चुच्चेखोला पुग्नुभयो भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रस्ट देख्न सकिन्छ ।

सुरुमा खुवाका बारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराइमा आगोले तताएर लगभग दुई घण्टा पन्यूँले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको तिमल्सिना बताउँछन् । यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ ।

गोरेटो बाटो रहेकाले उतिबेला हिँड्डुल गर्नेहरुको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिँदा तिमल्सिना भन्छन्, “त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।”

आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेसाप्रतिको इमान्दारीतालाई पनि मर्न दिएन भन्दै निरन्तर लागिरहे । मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उनले यही पेसालाई आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि निरन्तरता दिइरहेका छन् । पहिला प्रतिकेजी रु १५ सम्म खुवा बेचेको उनी सम्झिन्छन् । अहिले खुवाको मूल्य प्रतिकेजी रु सात सय पुगेको छ ।

पहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्छन् । खुवाको लागि भैँसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरु आकर्षित भएपछि खुवाका लागि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ ।

छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उनी बताउँछन् । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ । उनले पसलबाटै प्रतिकेजी रु सात सयमा खुवा बेच्छन् । यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेको उनको भनाइ छ ।

तिमल्सिनाको फरक पेसाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् तिमल्सिना । अहिले त हेटौँडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन् । तिमल्सिनामात्र होइन, यही पेसाबाट उनका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई खुवा व्यवसायीका रुपमा परिचित बनाएका छन् ।

विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आएका छन् । उनी पनि एक सफल खुवा व्यवसायीका रुपमा परिचित हुन्छन् । मानन्धरले सञ्चालन गरेको कृष्ण कन्हैया खुवा भण्डार पनि साढे दुई दशक पुग्न थाल्यो । उनको भण्डारमा ग्राहकहरुको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । विसं २०५६ तिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन् । दैनिक एक सय ५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताउँछन् ।

यस स्थानमा लहरै रहेका झन्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउँदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौँडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौँसम्म पुग्ने गरेको बताउनुहुन्छ । विसं २०५६ बाट खुवा बेच्दै आएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी गर्दै आएको बताउँछन् ।

खुवा सबैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्तिलोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्दछन् । चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो मानन्धरको पसलमा खुवा खाँदै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने औधेस चौधरीले बताए । चौधरीले आफू तराईकोे बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए । यस पेसाबाट आफूले घरव्यवहार चलाएको र जग्गा पनि किनेको बताउँदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताए ।

उनकोे २४ वर्षदेखिको पेसाप्रतिको मिहेनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीका रुपमा गनिन्छन् । मानन्धरसँगै रहेको लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा छन् । सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो । यही पेसाबाट सोमनाथले पनि आफ्नो परिवार धान्दै आयआर्जन गरिरहेका छन् ।

उनको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको बताउँछन् । सोमनाथकोे पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ । दैनिक रुपमा बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाई व्यवसायी र होटलहरुले चुच्चेखोलाको खुवा लैलाने गर्दछन् ।

अहिले भैँसी पाल्ने कृषकहरु घटेका छन् । भैँसीको दूध पाउन मुस्किल छ । पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यवसायीहरुले चनाखो हुन बाध्य हुनुपरेको छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकहरुले भैँसी पाल्न छाडेको खुवा व्यवसायीहरु बताउँछन् ।

एउटा भैँसीको लगभग लाख रुपैयाँसम्म पर्दछ । किसानले यति ठूलो खर्च गर्न सक्दैनन् । त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण लिएर त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्ने अनि भैँसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसलहरु पनि टिकिरहेको देख्न सकिन्छ । दूध खुवा पसलले प्रतिलिटर रु ९० मा भैँसीको दूध किन्ने गर्छन् ।

पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ । यो पेसामा आकर्षित हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीहरुका लागि उपमहानगरले खुवा घोट्ने मेसिन अनुदान दिएको बताए । खुवा घोट्न हात चलाइरहनुपर्ने भएकाले सहजताका लागि उपमहानगरले पछिल्लो प्रविधिको मेशिन दिएको उनले बताए ।

उनका अनुसार यो व्यवसायीलाई थप अनुदान कसरी के प्रक्रियाले दिन सकिन्छ कार्यपालिकाको बैठकबाट निर्णय गरी वार्षिक योजनामा लगेर अनुदान दिन आफूहरु लागिपर्ने बताए । उपमहानगरले चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ

काठमाडौँ । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ

पाल्पामा स्काेर्पियो दुर्घटना हुँदा नौ जना घाइते

काडमाडौँ । पाल्पामा स्कोर्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार

काठमाडौँका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ । विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका

चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट

चितवन । चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट भएको छ । कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा

पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका घरटहरा हटाउने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा

कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश

Techie IT