Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा


भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।

पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उनले जानकारी दिए । हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए । “सौराहा आउने अधिकांश हात्तीको गतिविधि अवलोकन गर्न आउँथे । कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे”, उनले भने, “तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ ।” यहाँका व्यवसायीले हात्ती थपेका छैनन् । स्वदेशी पर्यटक पनि घट्दै छन् । अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको सङ्ख्या पनि घटाएको उनले बताए । उनले दुईवटा हात्ती घटाएर एउटा मात्र पालेका छन् ।

पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो । तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन् । चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन् । कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो ।

कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउँछन् । उनले पाल्न नसकेपछि दुईवटा हात्ती बेचेको बताए । उनका अनुसार एउटा हात्ती पाल्न मासिक रु डेढ लाखदेखि दुई लाखसम्म खर्च हुन्छ । एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्दछ । तर आम्दानी भने रु एक लाख पनि नहुने बताए ।

तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे । तर पछिल्लो समयमा सौराहामा विगतजस्तो हात्तीको चाप छैन । विसं २०७७ सम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको सङ्ख्या कम भइरहेको बताए । उनका अनुसार चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० वटा हात्ती छन् । त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेको उनले बताए । उनले भने “राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ ।”

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको जनाउँदै निजीस्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताए । मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको जनाउँदै उनले सरकारले निजीस्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिए । सरकारले निजीस्तरमा पालेको हात्तीको विवरण सङ्कलन गरिरहेको भन्दै नेपालमा एक सय ५० वटा हात्ती निजीस्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए । उनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए । तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ ।

हात्ती लोपोन्मुख जनावर हो । सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ । यद्यपि व्यवसायीले रु ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्दछन् । यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन् । नेपालमा जङ्गली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

झापामा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार ३ युवकको मृत्यु

काठमाडौँ । झापामा बुधबार बिहान बोलेरो र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिम

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच

महाभूकम्पको ९ वर्ष पूरा

काठमाडौँ । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

Techie IT