Techie IT
२०८१ असार ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनप्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर

प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर


अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ।

ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ।

विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ।

धार्मिक महत्व बोकेको उक्त मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय यसको मर्मत तथा प्रचारप्रसारमा लागेका छन्।

मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन्। यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठूलो मेला लाग्छ। मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेयले मन्दिरको प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताउँदै दसैँसम्म विभिन्न प्रचारप्रसारका कार्यक्रम गर्दै जाने बताए।

मन्दिरको धार्मिक र ऐतिहासिक महत्वलाई बाहिर ल्याउनका लागि स्थानीय युवाको सहयोगमा काम थालिएको उनले जानकारी दिए।

‘जिल्लामै १३ तले मन्दिर बन्दा पनि धेरैलाई थाहा नहुनु अनौठो कुरा ह। मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यसको प्रचारप्रसार गर्न सके जिल्लाका साथै अन्य जिल्लाबाट पनि धार्मिक पर्यटक यहाँ आउने वातावरण बन्छ,’ मन्दिरका पुजारी विष्णुप्रसाद मरासिनीले भने।

उनले आकाशदेवी मन्दिरमार्फत यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे।

सीमित स्रोत र साधनका बीचमा पनि ऐतिहासिक र धार्मिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा काम थालिएको छत्रदेव गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले उक्त मन्दिर छत्रदेवको मात्रै नभई सिङ्गो अर्घाखाँचीकै पहिचान भएकाले यसको व्यवस्थापन थप प्रभावकारी रुपमा गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले पालिकाभित्रका सबैजसो धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्ने बताए।

यस्तो छ धार्मिक महत्व

मन्दिर परिसरमा किंवदन्तीअनुसार परापूर्वकालमा उल्का पात हुँदा उक्त स्थानमा एक प्राकृतिक पोखरीको स्थापना भएको थियो।

सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामकरण गरिएको जनविश्वास रहिआएको मन्दिरका पुजारी मरासिनीले बताए।

‘अहिले उक्त पोखरी यहाँ भेटिँदैन । यति ठूलो महत्व बोकेको पोखरी पुरिएको छ । ताराखसे पोखरीको उत्तर पूर्वमा परापूर्वकालदेखिको एउटा गाज रहेको छ, जहाँ नाग भगवानको स्थापना भएको छ,’ उनले भने, ‘नागदेवताले रगतको बलि नखाने हुँदा उक्त पोखरीमा बलिको रगत पारिँदैन । यो गाजमा ठूलो दैविक शक्ति रहेको जनविश्वास छ।’

पुजारी मरासिनीका अनुसार विशेषगरी दुर्गापूजाको समयमा नाग भएको स्थानमा धिपधिप बत्ती बलेको देखिएपछि धर्मागत न्यौपाने, देउदत्त न्यौपाने, टीका न्यौपानेका सन्तानले पूजा गर्ने, नयाँ अन्नबाली भित्र्याउँदा उक्त स्थानमा चढाउने प्रचलन बसालेर पूजाको सुरुआत गरेका थिए।

पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाइमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरी पूजाको सुरुआत भएको स्थानीयहरू बताउँछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

काठमाडौँ । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै

काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

पोखरा । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा

चिनियाँ पर्यटक भित्र्याउन छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल

पोखरालाई हरित सहरमा विकास गरिँदै

कास्की । पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो

Techie IT