Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनपर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’

पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’


दाङ । माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ ।

तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् ।

उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका पार्क व्यवस्थापन समितिले जनाएको छ । समितिका कर्मचारी सेतुप्रसाद भण्डारीले पार्कमा दिनहुँ भिड हुने गरेको भन्दै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या बढिरहेको जानकारी दिए ।

पार्क अवलोकन गर्न आउनेबाट प्रतिव्यक्ति रू. ३० शुल्क निर्धारण गरिएको जानकारी दिँदै भण्डारीले वनभोज खान आउने समूहबाट रू. तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको बताए । उनका अनुसार अहिले पार्कमा सात जनाले रोजगारी पाएका छन् ।

सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक रू. ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिनुभयो । “पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ”, उनले भने “राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडकखण्डको तीन किलोमिटर उत्तरमा श्रीगै गाउँबाट डेढ किमी पूर्वमा पर्ने उक्त पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्दछ ।”

भण्डारीका अनुसार पार्कभित्रको उत्तरतर्फ बालबालिकाका लागि बालउद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निर्माण गरिएको छ । पार्क वरपर चराचुरुङ्गीको मधुर स्वर सुन्न पाउनुका साथै प्राकृतिक तथा जैविक विविधताले भरिएको रमणीय वातावरण रहेको उनको भनाइ थियो ।

त्यस्तै, उत्तरतर्फ मिनि चिडियाखाना निर्माण गरिएको छ । यहाँ चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर र पशुपक्षी राखिएका छन् । “पार्कभित्रको मुख्य आकर्षण भनेको भगवान गौतमबुद्धको मूर्ति हो”, भण्डारीले भने, “मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकको सङ्ख्यामा बढेको हो ।” उनका अनुसार पार्कसँगै जोडिएको जङ्गलमा वनभोज खानका लागि एक दर्जनबढी वनभोज स्थल निर्माण गरिएका छन् ।

खानेपानी, शौचालयदेखि वनभोज खान आउनेलाई आवश्यकपर्ने भाँडाकुँडा, दाउरा तथा ग्यासको सुविधा पनि पार्कमा रहेको समितिका कर्मचारी भण्डारीले जानकारी दिए । पछिल्लो समयमा मगर संस्कृति झल्कने गुन्यो, चोलोलगायतका पोशाकको पनि व्यवस्था गरिएको जनाउँदै उनले यहाँ आउने पर्यटकले ती पोशाक लगाएर फोटो खिच्ने, टिकटक बनाउन गर्ने गरेको बताए ।

द्वन्द्वका समयमा शान्तिको सन्देश दिनका लागि भन्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यहाँका नागरिक अगुवा तथा बुद्धिजीवी, व्यापारी, सरकारी निकायलगायतको पहलमा उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो ।

पार्क निमार्णका लागि आवश्यकपर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको समितिले जनाएको छ । विसं २०५९ माघ ८ गतेदेखि यहाँ पार्क निर्माण सुरु गरिएको थियो । सुरुको दिनमा यहाँ धेरै झाँडी तथा बुट्यान रहेकाले उक्त झाँडी तथा बुट्यानको फँडानी गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय, तथा नागरिक अगुवाले योगदान गरेका समितिका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिए ।

सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रू. साढे ३७ लाख अनुदान प्राप्त भएपछि पार्क निर्माण थालिएको व्यवस्थापन समितिले जनाएको छ । पछि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगर नगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायतबाट रू. पाँच करोड सङ्कलन भई सीमितको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोज स्थललगायतका चिडिया खाना, गौतमबुद्धको मूर्तिलगायतका पूर्वाधार निर्माणमा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा पनि विभिन्न निकायबाट पार्कका लागि रकम विनियोजन भएको छ ।

उद्यानको अवलोकन गर्न बर्दियाको गेरुवा गाउँपालिकाबाट शनिबार यहाँ आएका शिवनारायण चौधरीले भन्नुभयो, “पार्क देख्दा आनन्द आयो, पार्कका बारेमा धेरैबाट सुनेकी थिए । आज प्रत्यक्ष घुम्न पाउँदा यहाँको सुन्दरताले आनन्दित बनाएको छ ।”

विगतका वर्षमा नागरिक तथा वन समूहका उपभोक्ताको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले उक्त पार्क जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित रहेको व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको भनाइ थियो । “झाँडी र निलकाटा मात्र रहेको ठाउँ अहिले यहाँका वन समूहका उपभोक्ता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, नागरिक अगुवा, सरकारी निकायलगायतको सहयोगले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने केन्द्र बन्दै गएको छ”, उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-६ मा अवस्थित कुमसोत

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छः प्रधानमन्त्री…

कैलाश मानसरोवर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत

कैलाश पर्वत

तिब्बत। तिब्बतस्थित प्रख्यात धार्मिक तिर्थस्थल कैलाश पर्वत। तस्बिरः प्रदीपराज वन्त/रासस

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

म्याग्दी । करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो

Techie IT