कुमारी आमाको सङ्घर्षको कथा समेटिएकाे ‘परी’

नेपाली समाजमा कुनै पुरुषले कुमारी केटीसँग शारीरिक सम्बन्ध राखेर शिशु जन्मियो भने त्यसको भागीदार महिलालाई मात्र मान्ने गरिन्छ । उक्त केटीलार्ई समाजबाट पनि बहिष्कारसमेत गरिन्छ । यो कुरा कहिल्यै सोचिन्न कि महिला स्वयंको इच्छाले मात्र शिशु जन्मिँदैन । एउटै जातका केटा र केटी भए उक्त सम्बन्धले विवाहको रुप लिन सक्छ तर पुरुषभन्दा महिलाको जात कथित तल्लो छ भने उनले झनै ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

 

एक कुमारी आमाले आफ्नो सन्तानलाई हुर्काउन कस्ता खाले समाजका लान्छनालाई पार गर्दै जान्छिन् भन्ने कथालाई समेटेर उपन्यासकार सीमा पुरीले ‘परी’ उपन्यासमार्फत चित्रण गर्न खोज्नुभएको छ । पुरीले उपन्यासमार्फत नेपाली समाजमा विद्यमान जातीय छुवाछुतलाई समेत उजागर गर्न खोज्नुभएको छ । उहाँले उपन्यासमा एक कुमारी आमाले विकट ठाउँबाट काठमाडौँ आइपुगेर आफ्नी छोरीलाई कस्तो सङ्घर्षबाट वकिल बनाउँछिन् भन्ने कथा समेट्नु भएको छ । 

 

कथानुसार कुमारी आमा सरस्वतीबाट छोरी परीको जन्म हुन्छ । परी कुमारी आमाको सन्तान भएकै कारण समाजबाट अपहेलनाको पात्र बन्न पुग्छिन् । उनलाई सरस्वतीले समाजले जेजस्तो भने पनि बलियो भएर उभिन प्रेरणा दिन्छिन् । उनको एउटै मात्र सपना ‘आफ्नी छोरीले कालो कोट लगाएको हेर्ने’  हुन्छ । छोरीलाई आफ्नो पहिचान दिलाउन उनले थुप्रै चुनौतीको सामना गर्नुपरेको हुन्छ । परीको एउटै मात्र सपना सरस्वतीलाई कुमारी आमाको दर्जाबाट विवाहित नारी भएको हेर्ने र आमालाई धोका दिने धोकेबाजलाई सजायँ दिने हुन्छ ।  

 

आमाले परीलाई कलेजको क्यान्टिनमा काम गरेर उनको लालनपालन गरेकी हुन्छिन् । एकदिन  परीले वकिल भएर आमाको सपना पूरा गर्न सक्छिन् । परीको आफ्नो कमाइको आमालाई पहिलो उपहार ‘पछ्यौरा’ हुन्छ । छोरीको पहिलो कमाइबाट पाएको उपहारलाई आमा अमूल्य ठान्छिन् । आफ्नो वेदना कहिल्यै छोरीलाई नसुनाएकी आमाले उक्त दिन आफू कसरी कुमारी आमा बन्न पुगेको भन्ने सुनाउने निधो गर्छिन् ।  सानैमा सरस्वतीकी आमाको मृत्यु भएकाले क्षेत्री जातका बुवाले अर्कै आमा ल्याएका हुन्छन् । उनलाई पढ्न मन लागे पनि सौतेनी आमाका छोराछोरी हेर्नुपर्ने बाध्यताका कारण पढाइलाई अधूरै छाड्न बाध्य भएकी हुन्छिन् । सरस्वतीका बुवा गाउँका जान्नेबुझ्ने व्यक्ति हुन्छन् । उनलाई गाउँमा सबैले मान्ने गर्छन् । 

 

खानलाउन दिएर छोरीको आवश्यकता पूरा हुन्छ भन्ने उनका बुवाको सोचाइ हुन्छ  तर उनी भने कसैको माया पाउनका लागि सधैंँ तड्पिरहेकी हुन्छिन् ।  एक दिन उनका बुवाले गाउँको विद्यालयका लागि आएका शिक्षक पीताम्बर उपाध्यायलाई आफ्नै घरमा लिएर आउँछन् । उनी त्यस गाउँको विद्यालयमा पढाउञ्जेल उनकै घरमा बस्नका लागि आएका हुन्छन् । उक्त शिक्षकले सरस्वतीलाई पनि धेरै कुरा सिकाउँदै जान्छन् । विस्तारै उक्त शिक्षक र सरस्वती एकार्काको मायामा पर्न थाल्छन् ।  उनै पीताम्बरसँग मायामा परेपछि सरस्वती गर्भवती बन्न पुग्छिन् । सरस्वतीलाई उनको परिवारले पनि विनाविवाह गर्भवती भएकाले स्वीकार गर्न सक्दैन । 

 

पीताम्बर उनलाई आफ्नो नामको सिन्दुर पोते लगाइदिएर समाजमा आफ्नी श्रीमतीको दर्जा दिन धेरै सङ्घर्ष गर्छन्  तर पीताम्बरको परिवारले पनि उनलाई स्वीकार गर्दैन । परिवारकै आग्रहमा पीताम्बरको अर्कै केटीसँग विवाह हुने पक्का हुन्छ । अन्ततः पीताम्बरले उनलाई आफन्त पर्ने दिदीको घरमा लगेर राख्छन् । पीताम्बरको विवाह भएकै दिन सरस्वतीले परीलाई जन्म दिएकी हुन्छिन् । पीताम्बरको विवाह भइसकेपछि उक्त गाउँमा बसेर आफ्नी छोरीलाई पहिचान दिन नसक्ने कारणले गर्दा उनी काठमाडौँ आइपुगेकी हुन्छिन् । सरस्वतीले आफ्नी छोरीलाई सम्झाउँदै भन्छिन्, “छोरी, तिम्रो शरीरभरि रातो रगत सल्बलाएको छ । तिम्रो बाबा पानी थियो, उसको अस्तित्व सब मभित्र घोलिएर रातो रगत बन्यो । ऊ मभित्र मिसिएर मलाई पानी बनाउन सकेन । ऊ आफै मभित्र मिसिएर रगत बनेर रह्यो । तिमीभित्र मेरो रगत छ भन्ने मात्र सोच तिमी ।”

 

सानैदेखि  समाजमा घृणाको पात्र बनेकी परी आमाले आफ्नो कथा सुनाइसकेपछि मामाघर र आफ्नो पिताप्रति उनको मनमा थप घृणाको भावना पैदा हुन्छ ।  उनी अधिवक्ता बन्छिन् । एक दिन उनको मामाको मुद्दा आइपुग्छ । आफ्नी आमा घृणाको पात्र बनेर सबैबाट चरित्रहीन भनिएको पीडालाई सम्झिएर उनले मामाको मुद्दा नहेरौं कि भनी सोच्छिन् । उनले मामाको मुद्दा हेरेरै छाड्छिन् र जिताउँछिन् पनि । मुद्दा जितेर छुट्टिने बेलामा मामाले उनलाई मुद्दावापतको रकम दिन सोध्छन्  तर परीले रकम आफूले अहिले नै नलिने, आफूले दिएको ठेगानामा ल्याएर छाडिदिन आग्रह गर्छिन् र ठेगाना छाडेर  जान्छिन् । परीको उद्देश्य आमा र मामाको भेट गराउने उद्देश्य हुन्छ ।   

 

मामाकै ठेगानाका आधारमा उनी शिविरको बहाना पारेर आफ्ना हजुरबुवा र बुवाको घरमा समेत पुग्छिन् । आफ्नो बुवा र हजुरबुवाले आफ्नी आमालाई घृणा गर्छन् भन्ने छवि दिमागमा बनाए पनि  परी आमालाई बुवा र हजुरबुवाले धेरै माया गर्नुहुन्छ भन्ने थाहा पाउँछिन् । पहिले आफ्नो मनभित्र बदलाको भावना पालेकी परीले पछि आफ्नो बुवा र आमाको विवाह गराएरै छाड्ने निधो गर्छिन्  तर  यो काम सहज हुँदैन । धेरै सोचिसकेपछि आफ्नो अमेरिकामा रहेका भाइ प्रकाशको मद्दतबाट उनी आफ्ना आमा र बुवाको मिलन गराउन सफल हुन्छिन् । जातीय छुवाछुतका कारण ब्राह्मण र क्षेत्रीको मिलन हुन नपाएको समाजमा गुरुङ थरको केटासँग परीको विवाह हुन्छ ।  

 

चलचित्रको दृश्यजस्तै उपन्यासकारले थुप्रै प्रसङ्गलाई रचनात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । महिलाले चाहे भने कसैको सहाराविना नै आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश उपन्यासमा पाइन्छ । उपन्यासकारले आफ्नो कृतिमार्फत समाजमा विद्यमान जातीय छुवाछुतलाई उजागर गर्न खोज्नुभएको छ भने एकै आमाबाट जन्मिएका सन्तानभन्दा फरक आमाबाट जन्मिएका सन्तानको सम्बन्ध मजबुत हुन्छ भन्ने कुरालाई पनि उजागर गर्न खोज्नुभएको छ ।


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 7 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।