'हाम्रो अर्थतन्त्र आत्महन्ता अर्थतन्त्र हो, यसले आफैलाई खान्छ'

Education Park

-घनश्याम भुसाल

 

म यो बजेटको समर्थन गर्न आएको हुँ । तर यो अकारण भने छैन । यसको पहिलो कारण के छ भने, यो धेरैले रुचाएको बजेट हो । करिब ८ लाख कर्मचारी तलब बढेकोमा खुशी छन् । तेह्र–चौध लाख वृद्धवृद्धाहरू भत्ता बढेकोमा खुशी छन् । हामी सांसद, त्यसमध्ये पनि प्रत्यक्ष निर्वाचितहरू यहाँ भनिएजस्तो गरी ६ करोडका कारण खुशी छौँ । धेरै मान्छे खुशी छन् ।

 

यसको प्रभाव निजी क्षेत्रमा पनि पर्नेछ र निजी क्षेत्रका कामदारहरूको पनि तलब बढ्नेछ । यसर्थ उनीहरू पनि आशाका साथ खुशी छन् । यसरी यो बजेटका बारेमा धेरै मान्छेहरू खुशी भएको कारणले गर्दा सत्ताधारी दल खुशी छ । विपक्ष पनि अहिले खुशी नै देख्छु । कमसेकम त्यसले एक–दुईवटा अंकमा भए पनि केही खोट लगाएर ठूलो उपलब्धि प्राप्त गरेको कुरा गरेको छ । त्यसरी प्रचार गरेको छ र ऊ खुशी छ । त्यसैले वस्तुतः यो एउटा लोकप्रिय बजेट हो भन्न सकिन्छ । यस हिसाबले मैले यसलाई समर्थन गरेको हुँ ।

 

दोस्रो, मेरा केही पूर्वाग्रहको तहसम्म भन्न मिल्नेगरी विकासका बारेमा कुरा गर्दा बेरोजगारहरूले रोजगारी पाउने कुरालाई मैले खासगरी हाम्रो परम्परागत कृषिमा थुप्रिएको जुन श्रम छ, त्यसलाई उद्यम र रोजगारीमा ल्याउने कुरा नै अहिलेको क्रान्तिको सर्वथा महत्वपूर्ण आर्थिक कार्यक्रमको केन्द्रविन्दू हुनुपर्छ भन्दै आएको छु । यस अर्थमा फेरि पनि हामीले यो संकल्प, यो दाबी, यो सपना बजेटबाट देखेका छौँ कि ५ लाख रोजगारी फेरि पनि सिर्जना हुनेछ । त्यो भनेको हाम्रो जुन विदेश जाने दर छ, त्योभन्दा बढी हो । यस अर्थमा श्रम बजारमा अहिले जति मान्छे आउँछन्, त्यो चैँ यसमा खपत हुन सक्छ भन्ने दाबी यसमा गरिएको छ । यस अर्थमा मैले यसलाई समर्थन गरेको हुँ । 

 

प्रश्न यहाँ एउटा बजेटको होइन । वास्तवमा यत्रो क्रान्ति पछाडी हामीले त्योभन्दा बढी सोचेका हौँ । यो सत्ताधारी दलको मात्रै कुरा होइन । आजको जुन व्यवस्था छ, यसलाई क्रान्तिपछि हामीले प्राप्त गरेको व्यवस्था भन्ने हो भने यो सबै क्रान्तिकारीहरूको, यो व्यवस्था ल्याउनका लागि लडेका, लागेका र योगदान गरेका ती सबै दल, राजनीतिक शक्ति, सामाजिक शक्तिहरूको समेत यो चासोको कुरा हो । त्यसैले यो बजेटको कुरा होइन, हाम्रा बजेटहरूको कुरा हो । अरू मात्रै छोडिदिने हो भने पनि गएका २० वर्ष जति भयो होला, हाम्रो साधारण खर्चभन्दा पूँजीगत खर्च कम हुँदै गयो । आज त यस्तो स्थिती भयो कि हामीले भन्न त ९ खर्ब ५७ अर्ब साधारण हुनेछ र ४ खर्ब ८ अर्ब पूँजीगत हुनेछ भनेका छौँ । 

 

वस्तुतः सैद्धान्तिक रुपमा भन्ने हो र पूँजीगत र साधारण खर्च मात्रै छुट्याउने हो भने १ खर्ब ६७ अर्बको जुन वित्तीय व्यवस्था छ, त्यो पनि साधारण नै मान्न सकिन्छ । किनभने त्यो उत्पादनमा लाग्ने पैसा होइन । यस हिसाबले हेर्ने हो भने बजेटको ७४ प्रतिशत हाम्रो साधारण भन्न मिल्ने खर्च छ, २६ प्रतिशत मात्रै हाम्रो पूँजीगत खर्च छ । यसको अर्थ के हो भने हाम्रो अर्थतन्त्र नै आत्महन्ता अर्थतन्त्र हो । यसले आफैलाई खान्छ र आफ्नो जीवनशक्तिलाई यसले मार्दै जान्छ । जहिलेसम्म छ खाइरहन्छ, हेर्दा मोटै देखिन्छ, ठिकै देखिन्छ, चलेकै देखिन्छ । यो मैले आजको मात्रै कुरा गरेको होइन । गएको २० वर्षदेखि यस्तो हुँदैछ । यसको प्रक्रिया त्योभन्दा धेरै अघिदेखि सुरू भएको थियो । आज हामी यो फेर्छौं कि फेर्दैनौं भन्ने प्रश्न कुनै अर्थमन्त्री, प्रधानमन्त्री वा सत्ताधारी दलको मात्रै प्रश्न नभएर आजको राष्ट्रिय प्रश्न हो । यो राष्ट्रिय विमर्शको प्रश्न हुनुपर्छ भन्ने मलाई लाग्छ । 

 

जसले ११ खर्ब खान्छ र जम्मा ४ खर्ब लगानी गर्छ, यहि स्थिती रहने हो ? यत्रो समय पछाडी हामीले क्रान्ति गर्‍यौं । त्यो क्रान्तिले यसलाई फेर्छ कि फेर्दैन ? यसको संरचनागत परिवर्तन गर्छ कि गर्दैन ? इतिहासबाट हामीलाई मुक्त पार्छ कि पार्दैन ? भन्ने प्रश्न चैँ आजको सबैभन्दा महत्वपूर्ण हो । तर राजनीतिक हिसाबले भन्ने हो भने यस्तो आधारभूत विषयहरूमा बहुत कम छलफल चल्ने गरेको छ ।

 

धेरै वर्षअगाडि एकचोटी राजेश्वर देवकोटाले भन्नुभएको थियो– हामी पञ्चायतमा किन लाग्यौँ भन्दा राजाले साँच्चै रामराज्य ल्याउँछ भनेर लाग्यौँ । हामी साँच्चिकै देश बनाउँछौ भनेर, त्यो न्यायपूर्ण र राम्रो समाज हुन्छ भनेर नै हामी लागेका थियौँ । पछि जब २६/२७ सालतिर राजा महेन्द्र रेजा शाह पहलवीको निम्तामा इरान गए, त्यहाँ गएपछि उनले राजाको जुन सान–शौकत देखे, त्यहाँबाट फर्केपछि उनले अब मनोमानी गर्न थाले । त्यसपछि सार्वजनिक संस्थानहरूमा जुकाझैँ टाँसिएर उनले त्यहाँबाट दोहन गर्न थाले । अरू प्राकृतिक स्रोत–साधनहरूमा पनि दरबारका नजरहरू यसरी लाग्न थाले । यसरी हिजोको राजनीति र अर्थतन्त्र एक ठाउँमा मिल्न थाल्यो । दरबार अब विस्तारै दलाल पूँजीवादको नेता भयो । हाम्रो अर्थतन्त्र त पराधीन छँदै थियो । पराधीन अर्थतन्त्रको दलाल पूँजीवादी नेता भएर, अर्थराजनीतिक एउटा गठबन्धन भएर पञ्चायतको अन्त्यसम्म आउँदा हाम्रो रामराज्य त करिब–करिब अपहरित नै भइसकेको थियो भनेर देवकोटाले भन्नुभएको थियो ।

 

दलाल पूँजीपतिहरू र राजनीतिक मान्छेहरूको यस्तो जालो (नेक्सस) यहाँको मात्रै कुरा होइन । सन् ६१ ताका आइजन आवरले अमेरिकाका राष्ट्रपति हिँड्दै गर्दाखेरि एउटा वक्तव्य दिएका थिए । तिनले मिलिटरी र इण्डस्ट्रीको नेक्सस हाम्रो लोकतन्त्रको लागि खतरा हो भन्ने एउटा महत्वपूर्ण भाषण गरेका थिए । त्यो भनेको युद्धका हतियारका उत्पादकहरूले त्यहाँको सत्ता, सांसद र राजनीतिकहरूलाई, मिडियालाई युद्धको त्रास देखाएर हतियार किन्न लगाउने र यसरी मिलिटरी र इण्डस्ट्रीको नेक्ससले त्यहाँको डेमोक्रेसीमाथि खतरा मडराइरहने कुरा गरेका थिए । अहिले तथ्याङ्कमा हेर्ने हो भने अमेरिका एक्लैको हतियारमा लाग्ने खर्च र त्यसपछिका पहिलो, दोस्रो, तेस्रो र चौथो गरेर ११–१२ वटा मुलुक सम्मको हतियारको खर्च अमेरिकाले व्यहोर्छ, जुन कुरा आइजन आवरले भनेका थिए । 

 

 

हाम्रो सन्दर्भमा पनि यो विषयमा छलफल गर्नुपर्छ कि पर्दैन ? बजेटको कुरा होइन । बजेट त हाम्रो अर्थतन्त्रको, अर्थव्यवस्थाको एउटा कुरा हो । हामीले यस्ता विषयमा छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न आज मैले यहाँबाट उठाउन चाहेको हुँ । यसरी हेर्दाखेरि मैले भनेँ, पराधीन अर्थतन्त्रको नेता दलाल पूँजीपति हो । यसले त्यहि युद्धका हतियार व्यापारीहरूले जस्तो सारा प्रपञ्चहरू गर्छ र राज्यलाई उसले डुलाइरहन्छ । यो कति हो हामीकहाँ ? यो हो कि होइन ? आजसम्मका भ्रष्टाचार र व्यथितीहरूले, अनि त्यो भ्रष्टाचार र व्यथितीमा माथिल्लो तहका राजनीतिक मान्छेहरूको पहुँचले, तिनको नियन्त्रण र निर्देशनले यो कुरा गाइड गर्छ कि गर्दैन ? यस बारेमा हाम्रो छलफल हुनुपर्छ । यसले मन्त्री र प्रधानमन्त्री भएका केही मान्छे मात्रै बिगारेको छैन । यसले पार्टीहरूलाई समेत एक ढंगले कब्जा गरिसकेको छ जस्तो लाग्छ मलाई । किनभने ती पार्टीहरूको मुल चरित्र हेर्दा नकमाएको सम्पत्ति र नकमाएको आयमा बाँच्ने मानिसहरूको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । 

 

दलाल पूँजीवादको स्तर विश्लेषण गर्दै जाने हो भने माथि निर्देशकहरू छन्, उनीहरूले राज्यलाई के गर्नुपर्छ ? बाहिर के गर्नुपर्छ ? जस्ता कुराहरूको खटनपटन गर्छ । तिनीहरूभन्दा तल व्यवस्थापकहरू छन्, जस्ले तलको उपभोक्ता समितिदेखि लिएर खोला, खानीजस्ता सबै चिजहरूमाथि नियन्त्रण गर्छ । तिनले कसैलाई अलिकति पैसा दिएर लेख्न लगाउँछन्, कसैलाई बोल्न लगाउँछन् र एउटा जनमत बनाइरहन्छन् । त्यसको वरिपरी ठ्याक्कै भन्ने हो भने अर्को एउटा समूह छ, त्यसलाई अलि लडाकु समूह भन्दा हुन्छ । बाउन्सर टाइपको हुन्छ । त्यसले त्यो व्यवस्थापकीय र निर्देशकीय वर्गको पक्षमा काम गर्छ । त्योभन्दा तलपट्टी त विचरा आसेपासेहरू नै भइहाले । यसरी राजनीतिक पार्टीहरू माथिदेखि तलसम्म दलाल पूँजीवादको प्रक्रियामा मिसिइसकेका छन् । तिनले हाम्रो समाजलाई निरन्तर पर पु¥याउँदैछ । तिनीहरू आफु भ्रष्ट छन् र अरूलाई भ्रष्ट बनाउँदै छन् । 

 

यसरी भ्रष्टाचार बलशाली हुँदैछ । बलशाली भ्रष्टाचारले समाजमा अरू बढी भ्रष्टाचार गर्ने चक्र चलिरहेको छ । यो दुश्चक्र नतोड्ने हो भने ऐतिहासिक रूपले राजाले, त्यसपछि सुरू भएको तर हामीले नियन्त्रण गर्न नसकेको, जानेर नजानेर हामी फँस्दै गइरहेको यो दुश्चक्रमा हामी निरन्तर बढिरहने देखिन्छ । प्रजातन्त्रमा आउने खतरा, विधिविधानमा हुने बलमिच्याँई जस्ता तमाम विकृतिहरू यसैबाट आउँछन् । खास बेलामा तिनीहरूको एकता पनि त्यसैले गराउँछ । किनभने ठूला भ्रष्टाचारहरू, मैले भन्ने गरेको छु– अर्बभन्दा माथिका भ्रष्टाचारहरू ब्युरोक्रेसीले मात्रै गर्दैन । यद्यपि कहिलेकाहिँ कारबाही हुँदा उनीहरू पर्छन् । तर ठूला घोटालाहरूमा निसन्देह भन्नुपर्दा राष्ट्रिय सहमति हुने गर्छ । त्यो एक्लै हुँदैन । यसपछाडी त्यो मिलिटरी–इण्डष्ट्री नेक्ससजस्तै हाम्रो सन्दर्भमा दलाल पूँजीवाद र परजिवी राजनीतिक जुन संरचना छ, त्यसको नेक्ससले निरन्तर हाम्रो विकासलाई, हाम्रो अधिकारलाई, हाम्रो लोकतन्त्रलाई, हाम्रो स्वतन्त्रतालाई त्यसले खुम्च्याराखेको छ । यसतर्फ हामीले सोच्नुपर्छ । बजेटलाई समर्थन गर्दै मैले बजेटहरूका बारेमा यिनै कुराहरूलाई राख्न खोजेको हुँ । यसर्थ राजनीतिक हिसाबले छलफल हुनुप¥यो ।

 

हेर्दाखेरि हामी सत्ताधारी हौं । शक्ति चलाउनु पर्नेछ । बजेट बनाउनु पर्नेछ । त्यसलाई लागु गर्नु पर्नेछ । अनेक काममा व्यस्त छौँ । त्यसैले प्रतिपक्षले केही गर्छ कि भनेको, प्रतिपक्ष त पराजयको पीडाले अझै बिउँझेको पनि छैन । त्यो यसरी घाइते भएको छ कि, प्रतिपक्ष उठेकै छैन । अस्ति प्रतिपक्षमा जनजागरणको कुरा भयो । तर उसले कहिँ यस्ता प्रश्नमा कुरा गर्दैन । प्रतिपक्षले एकदमै खुद्रा–मसिना विषयहरूमा कुरा गरिरहेको छ । यो मुलुकको मुल ऐतिहासिक र आधारभूत समस्याहरू के हुन् ? प्रष्ट भन्ने हो भने दलाल पूँजीवाद जस्ले हाम्रो सम्पूर्ण चिजलाई जकड्छ, त्यसको बारेमा प्रतिपक्ष कहिँ बोल्दैन । यसले गर्दा हामी खतरामुक्त छैनौं । हाम्रो क्रान्ति खतरामुक्त छैन । हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैन भन्ने मलाई लाग्छ ।

 

छलफलको क्रममा अलि अगाडि माननीय प्रदिप गिरीज्यूले एउटा कुरा भन्नुभएको थियो । विकास र सामाजिक न्याय सँगै जाँदैन भन्ने सुनेको हुँ मैले । गिरीज्यूले पनि यो जाँदैन भन्नुभएको छ । यो प्रश्न ठूलो प्रश्न थियो । तर वस्तुतः हामीले यसमा पनि कहिल्यै छलफल गरेनौं । हामी समृद्ध समाजवादको कुरा गर्दैछौं भने माननीय प्रदिप गिरीज्यूले उठाउनुभएको प्रश्न सैद्धान्तिक रूपमै समाधान गरेर जानुपर्छ । छलफल गर्दै जाने हो भने एकातिर समाजवाद भनेको बाँड्ने मात्रै हो भन्ने चेतना, अर्कोतिर समृद्धि भनेको विकास मात्रै हो भन्ने छ । एनसेलको जस्तो विकास, जस्ले दश अर्ब एफडिआई लिएर आउँछ र त्रिपन्न अर्ब घोटाला मात्रै गर्छ । यो खालको विकास र त्यो खालको समाजवादको बिचमा समाधान फेरि पनि मार्क्सवाद हो । मार्क्सवादले हामीलाई यहाँनेर गाइड गर्छ । मार्क्सवादले समाजवाद ऐतिहासिक हुन्छ भन्छ । 

 

मार्क्सवादले हरेक युगमा समाजवादतर्फको यात्रा त्यहि युगको उत्पादक शक्ति र उत्पादन सम्बन्धहरूले व्याख्या गर्छ । एक लाइनमा भन्नुपर्दा आगामी दश वा पन्ध्र वर्षमा काम गर्न सक्नेहरूले काम पाउने र काम गर्न नसक्नेहरूले संरक्षण पाउने राज्य हाम्रो समाजवाद हुनेछ भन्यौं भने त्यहि दौरानमा हामीले समृद्धि पनि प्राप्त गर्दै जान्छौँ । त्यो समृद्ध बन्दै जाँदा हामी दश वा पन्ध्र वर्षपछाडी समाजवादको अर्को ऐतिहासिक यात्रामा प्रवेश गर्छौ भन्ने मलाई लाग्छ । अन्ततः यो लोकप्रिय बजेटको समर्थन गर्छु तर, बजेटहरूको बारेमा छलफल गर्न आह्वान गर्छु । धन्यवाद !

 

(भुसालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथि भएको छलफलको क्रममा दिएको मन्तव्यको सम्पादित अंश)


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 5 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 10 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 21 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।