Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्वार्ताअन्तर्वार्ता : राजनीति र कला जोडिएका हुन्छन्: कुलपति हार्तम्छाली

अन्तर्वार्ता : राजनीति र कला जोडिएका हुन्छन्: कुलपति हार्तम्छाली


यही जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागेको छ । हरेक वर्ष वैशाख २ गतेदेखि आयोजना हुने प्रदर्शनी यस वर्षदेखि गणतन्त्र दिवसका दिन सञ्चालन गरिनेछ ।

जेठ १५ देखि ३० गतेसम्म हुने कला प्रदर्शनी प्रतिष्ठानको कार्यालय नक्साल र बबरमहलस्थित नेपाल कला परिषद्मा हुनेछ । प्रदर्शनीमा ६ सय १० कलाकारका ६ सय ९७ कलाकृति राखिनेछ । ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर आयोजना हुन लागेको प्रदर्शनी र मुलुकको समग्र कला क्षेत्रका बारेमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसँग राससकर्मी नारायण ढुङ्गानाले गर्नुभएको कुराकानीको सम्पादित अंश ः

यहाँले गणतन्त्र दिवसलाई कसरी सम्झनुहुन्छ ?

–नेपालको राजनीतिक इतिहासमा एउटा परम्पराको सामन्त, व्यक्तिवादी परिवेशमा चल्ने राजनीतिक परम्परालाई क्रस गरेर सामूहिक जीवन प्रणाली, समता र समानतालाई पनि ध्यान दिँदै एक खालको मुलुकको वर्गीय मुक्ति र सामाजिक लैङ्गिक विभेदलगायत अन्यायलाई चिरेर आएको राजनीतिक रुपान्तरण हो गणतन्त्र । गणतन्त्रसँगै सकारात्मक पक्षतर्फ उन्मुक्त हुने गरी समाज परिवर्तन भएको छ । समाजवादोन्मुख मुलुक स्थापना भएकाले यो एउटा सरकारात्मक  रुपमा अघि बढिरहेको चरणगत अवस्था हो ।

तपाइँ ललितकला क्षेत्रको सबैभन्दा ठूलो प्रतिष्ठानको कुलपति हुनुहुन्छ, गणतन्त्रसँग कलालाई कसरी जोड्न सकिन्छ ?

–यसलाई हेर्दा गणतन्त्र अघि र पछिको कुरा जोडिएर हेर्नुपर्छ । गणतन्त्र राजनीतिक विषय हो । कला राजनीति होइन । विधागत रुपमा विषयहरु छ तर देश समाज र मानवीय चेतना विकासका सन्दर्भमा समपूरकका रुपमा जोड्नुपर्ने हुन्छ । राजनीति समाजको ‘सफ्टपावर’ हो र कला पनि ‘सफ्टपावर’ हो । यी दुई कुरा चाहिँ परिपूरक नै छभन्दा हुन्छ । सामाजिक रुपान्तरण, समानता, विभेदका सन्दर्भमा राजनीतिमा गरेको नीति र कलाकारले पनि त्यो रुपान्तरणसँग जोडेर सिर्जनशील कुरा पस्कने कुरा कला हो । भावनात्मक, संवेदशशील पक्षलाई जोड्दा कलाको सामाजिक रुपान्तरणमा सहभागिता हुन्छ । राजनीति गणतन्त्रको धारमा नयाँखाले विचार अघि बढाएकाले त्यसलाई उपयोग गर्दै कलाकै भाषाबाट अभिव्यक्ति गर्ने गरी लान सकिन्छ । ‘प्लेटफर्म’ मात्रै फरक हो । कलामा पनि वाद हुन्छ भने राजनीतिमा पनि वाद हुन्छ ।

गणतन्त्रले कला क्षेत्रलाई के दियो ? 

–कलाको प्रयोजन र सदुपयोग कहाँ गरियो भन्ने सन्दर्भमा रजानीतिको इजमसँग जोड्छौँ । तर कलाको आफ्नै शैली, प्रस्तुति आफ्नै विधागत हुन्छ । चित्र, चित्रकै भएरै तथा मूर्ति, मूर्तिकै र कविता, कविताकै स्वरुपमा जानुप¥यो । त्यसैले गणतन्त्रले तल्लोस्तरमा रहेका रैथाने समुदाय, लोकसंस्कृति र जनजीवनलाई बढाउनका लागि गणतन्त्रले धेरै सहजीकरण गरेको छ । त्यसैले गणतन्त्रकै कारण संस्कृतिकर्मी, कलाकारका लागि अब चाहिँ विधामा पनि फराकिलो भएको छ । गणतन्त्रले त्यो अवसर मिलाइदिएको छ । पहिले कतै राजाले, सत्ताले केही भन्छ कि, पुलिसले केही गर्छ कि भन्ने थियो । तर अहिले स्वतन्त्र रुपले सिर्जनामा विचार व्यक्त गर्न सक्ने भएका छौँ । गणतन्त्रले सिर्जना, विधा र विचारका क्षेत्रमा स्वतन्त्रता दिएको छ ।

गणतन्त्र आउनुअघि साँच्चै कला सिर्जना गर्न खुला थिएन हो ?

–गणतन्त्र आउनुभन्दा अघि कलाकारलाई एउटा स्वतन्त्रता थियो, जुन सत्ताको स्तुतिगानमा चित्र बनाउनका लागि स्वतन्त्रता थियो । त्यो व्यक्तिका लागि होइन सत्ताको स्वार्थका लागि थियो । उनीहरुको अधीनस्थको गुणगानको अर्थमा स्वायत्तता थियो । यो कुरा बना, योभन्दा अरू कुरा गरिस् भने कारबाही गर्छु भन्ने थियो । अहिले गणतन्त्र आइसकेपछि भने हामीलाई त्यस्तो कठोर नीति केही छैन । पहिले राजा महाराजको चित्र बनायो भने पुरस्कार पाउने अवस्था थियो । अहिले प्रधानमन्त्रीको चित्र बनाएर पुरस्कार पाउँछु भन्ने छैन, हुन पनि हुन्न । त्यसकारण यो खालको स्वतन्त्रता छ । अहिले विषय महत्वपूर्ण हुन्छ ।

गणतन्त्रपछि कला क्षेत्रको विकास कसरी भइरहेको छ ? 

–राजनीति, साहित्य र सङ्गीतको सापेक्षतामा त ललितकला धेरै पछि नै छौँ । अरू विषय विधाका दृष्टिकोणले त प्रचुर मात्रामा सिर्जना भएको छ । तर प्रगतिवादसँग जोडेर आएका सिर्जना निकै कम छ । कलामा प्रगतिवाद जन्मिन सकेन । जुन सोचेअनुसार प्रगति हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । गणतान्त्रिक मुलुकमा राज्यले निधारण गरेको समाजवाद उन्मुख राज्य व्यवस्थाको सारमा अडिएर सिर्जना अघि बढाउन आफ्नो तर्फबाट संस्थागत नेतृत्वदायी भूमिका खेल्न जरुरी छ ।

अब प्रदर्शनीको कुरा गरौँ, यसपालि गणतन्त्र दिवसकै दिन पारेर राष्ट्रिय ललितकला प्रदर्शनी २०८० आयोजना गर्नाको कारण के रह्यो ?
–हाम्रो राज्यको राजनीतिक संरचनाले देशको सांस्कृतिक, सामाजिकलगायत अन्य अवयवहरुको निर्धारण गर्छ । राज्य संरचनामा लोकतान्त्रिक गणतन्त्रका रुपमा परिवर्तन भएसँगै साहित्य, संस्कृति परिवर्तनसँगै सामाजिक रुपान्तरण पनि हुनुपर्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान पनि त्यसैको प्रभावले गठन भएको हो । यदि गणतन्त्र आउँदैनथ्यो भने ललितकला प्रतिष्ठान स्थापना पनि हुने थिएन होला । त्यसैले त्यो ऐतिहासिक महत्त्वको दिन र त्यो बेलाको इतिहासलाई पनि सम्झिनुपर्छ र कला पनि त्यसमा समाहित हुनुपर्छ भनेर कार्यक्रमलाई गणतन्त्र दिवसका दिनमा उद्घाटन गर्ने योजना बनाइएको हो । सामाजिक रुपान्तरण मान्छेको स्वतन्त्रता र कला, संस्कृतिको चेतना परिवर्तनका लागि प्रदर्शनी पनि त्यस दिनलाई सम्झना गरौँ भन्ने हो । यस वर्षदेखि गणतन्त्र दिवसलाई महोत्सव बनाउन प्रदर्शनीलाई पनि त्यही दिन पारेर सुरु गर्न थालिएको हो । पछिल्लो पुस्ताले गणतन्त्र नभुलोस् र त्यो विषयको धारलाई सामाजिक रुपान्तरण गर्न र गणतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गरोस् भनेर साङ्केतिक आत्मसात् गर्न खोजिएको हो । यसपटक सन्दर्भलाई पछ्याएका छौँ, आगामी वर्षदेखि गणतन्त्रको भावना समेटेर सिर्जनाहरु पनि समावेश हुनेछन् ।

प्रदर्शनीमा के–के विधाहरु समेट्नु भएको छ  ?

–ललितकला प्रदर्शनीमा सबैभन्दा धेरै चित्रकला विधा छ । त्यसमा पनि आधुनिक चित्रकलाको सिर्जना छ । शैलीगत रुपमा आधुनिक छन् तर विचारका हिसाबले आधुनिक छैन । त्यसपछि परम्परागत चित्रकलाहरु पनि छन् । थाङ्का, पौभा मण्डला लगायतका छन् । यस्तै, हस्तकलाका पनि छन् । लोककलामा मिथिला, थारू, थिमाल, नेवारी कलाहरुलगायत समावेश छ । वास्तुकलाका मोडेल खास आएन । अन्य भिजुअल आर्ट, मूर्तिहरु छन् । विशेषगरी आधुनिक मूर्तिहरु धेरै छन् । परम्परागत पनि छ । प्रविधि, शैली र सीपका दृष्टिकोणले धेरै छ । त्यसमा युवा पुस्ताका कलाकृतिको ठूलो सहभागिता छ । तर वैचारिक रुपमा हेर्दा पुरानै शैलीका मिश्रित छ । राष्ट्रिय, लैङ्गिक, सांस्कृतिक वर्गीय पर्यावरणका समस्याका विषयहरु धेरै आएका छैनन् । आगामी प्रदर्शनीमा त्यसलाई पनि समेट्ने प्रयोस हुनेछ ।

यसपटक सिर्जनाहरु कति सहभागी हुँदैछ ? 

–विगतको वर्ष तीन÷चार सय सिर्जनाहरु थियो । अहिले त्यसको दोब्बर सिर्जनाहरु आएका छन् । विगत एक वर्ष २०७२ मा एक पटक मात्रै ६ सय पुगेको थियो । यसपटक ६ सय १० कलाकारका ६ सय ९७ कलाकृति सहभागी हुनेछ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी सिर्जना यसपालि आएको हो । यसपालि सङ्ख्याको दृष्टिकोणले धेरै राम्रो सहभागिता हो । अझ बीचमा त्यसलाई हामीले रोकेका हौँ । नत्र हलमा नअटाउने चित्रहरु आउने थियो । आह्वान गरेका भए धेरै आउँथ्यो । मोफसलका धेरै कलाहरु छुटेका छन्, ढुवानी गर्न आर्थिक व्यवस्थापन गर्न सकिएन । यसपालि दुई स्थानमा प्रदर्शनी गर्दैछौँ । नेपाल कला परिषद् बबरमहलमा लोक र परम्परागत कलाको प्रदर्शनी हुन्छ । अरू चित्र, मूति, हस्तकलाको ओसारपसारमा समस्या हुने भएकाले प्रतिष्ठानमै प्रदर्शनी हुनेछ ।

यसपालिको प्रदर्शनीमा विगतभन्दा फरक के पाउन सकिन्छ ?

–‘क’ र ‘ख’ श्रेणीमा राखेर कलामा पिएचडी एमए, विएफए गर्ने कलाकारमध्ये आठ जनालाई प्रदर्शनी हेरेर अनुभूतिका साथ सिर्जना गर्न भनिएको छ । अर्काे कुरा सिर्जना गर्नेलाई मात्रै होइन कलाको प्रवर्द्धन गर्नेलाई पनि सम्मान गर्नुपर्छ भनेर केही व्यक्तिलाई सम्मान पनि थपेका छौँ । कलाकारहरु एक पटक पुरस्कार लिएर कता जान्छन्, प्रतिभाहरु हराउँछन् । अब त्यस्तो नहोस् भनेर राष्ट्रिय ललितकला पुरस्कार  प्राप्त गरेका कलाकारलाई कलावृत्तिका लागि थप ६० हजार प्रोत्साहन पनि दिन लागेका छौँ । यसका साथै प्रदर्शनीको उत्कृष्ट समाचार लेख्ने पाँचजना पत्रकारलाई पुरस्कृत गरिँदैछ । यसका साथै कला क्षेत्रका व्यक्तिहरु सहभागी गराएर कला सम्मेलन गर्दैछौँ ।

प्रदर्शनीबारे कला पारखीहरुलाई के भन्नुहुन्छ ?

–वास्तवमा ललितकला प्रदर्शनी एउटा अवसर पनि हो । जेठ १५ देखि ३० सम्म सञ्चालन हुने यो कलाको महोत्सव पनि हो । त्यसैले यसले अर्थतन्त्रमा पनि पर्यटकीय उद्यमशीलताका रुपले भूमिका निभाएको हुन्छ । अर्काे कुरा देशको राष्ट्रिय पहिचानसँग जोडिने परिपूरक क्षेत्र पनि हो कला । त्यसको पहिचानले पनि राष्ट्रलाई चिनिन्छ । त्यसकारणले विभिन्न मोडलका प्रदर्शनीहरु छन् । चित्रकला, हस्तकला, लोक कलालगायत आ–आफ्नो क्षेत्र, समुदाय र सम्प्रदायको प्रतिनिधित्व गरेर आएका छन् । यो साँच्चै भन्ने हो भने पहिचान, सांस्कृतिक महत्व र त्यसको बिक्री–वितरण र विनिमयको अर्थतन्त्रले पनि महत्व राखेको हुन्छ । एउटा थाङ्काले हजारौँ रुपैयाँ लिनसक्छ । आर्थिक उपार्जनका लागि पहिचान विश्व्यापी जाने भएकाले पनि सहभागिता र प्रचारप्रसारका लागि सबैमा अनुरोध गर्दछु ।  सामाजिक सद्भाव, भेटघाट, अनभुभव आदानप्रदान, कलाको व्यापार, व्यवसायका लागि पनि प्रदर्शनी सेतु बन्नसक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना

‘चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन’

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी

मेलम्चीको पूर्णरुपमा निर्माण कार्य नहुँदासम्म काठमाडौँबासीले धैर्य राख्नुपर्छ: मन्त्री यादव…

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी

१६औँ योजना कार्यान्वयन योग्य बनाउँछौँ: उपाध्यक्ष डा. श्रेष्ठ

वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गदैं यो अवधिमा सुशासन, समृद्धि र

प्रमोद अग्रहरिको प्रश्नः म रोजाइको अभिनेतामा किन पर्दिन ?

प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन् । प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परिक्षण नेपाली सिनेमाले गरेको

‘छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ’

‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार

Techie IT