Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनयात्रा संस्मरण: हिमालको फेदैफेद कोरी पहाड

यात्रा संस्मरण: हिमालको फेदैफेद कोरी पहाड


काठमाडौँ । ‘पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो । सिक्लेसमा भर्खरै तात्तातो खाना खाएका थियौँ र समयको घडी पनि १२ बजाउने तरखरमै थियो । मनमनमा त्यही गालीकै हालत हुने होकि भन्ने लाग्यो । आँखै अगाडि झरुवापाटाको उकालो याद आयो । कहिलेकाहीँ खाना खाँदाखाँदै हाम्रो घरमाथिको झरुवापाटाको उकालो हिँड्नुपर्थ्यो, असिनपसिन हुन्थ्यो । ऊ बेला आमाले औडाहा उठ्यो भन्नुभएजस्तै हुने हो कि भन्ने त्रासले छोयो ।

पहिलेपहिले सिक्लेसका बुढापाकाहरू कसैलाई गाली दिनुपर्‍यो भने तातो ढिँडो खाएर १२ बजेको घाममा ओरालो उकालो चढ्नुपरोस् भन्थे रे । सिक्लेस परको मत्क्युँ खोला तरेपछि आउँछ त्यो उकालो । धेरै भयो नहिँडेर काठमाडौँमै कुजिएर बसेको । सहरको प्राविधिक व्यस्ततामा भौतिक शरीर प्रायः चलमल नगर्दा पनि हुने । त्यसकारण कुजिएको छ शरीर । खाना खाएर हिँड्ने तयारीका लागि जुत्ताका तुना कस्दै थिएँ । सबै साथीहरू ठमठम हिँडेर पहाडको टुप्पोमा पुग्दासम्म पनि म फेदमै लत्रिएँ भने के होला रु अब खुट्टा दह्रो बनाउने समय छैन, मन चाहिँ बलियो बनाउन थालेँ ।

कास्की–१ का सांसद मनबहादुर गुरुङको यात्राभरिको नाम ‘माननीय’ ज्यू हो । हामीले भनेको सुनेर यात्राका अरू पर्यटकले पनि उहाँलाई माननीयज्यू नै भने । मलाई लाग्छ ‘टिन एजर’ सबैले यो शब्दको अर्थ बुझेका भने छैनन् । यो पुस्ताले राजनीतिमा खासै चासो दिन छोडिसकेको छ । उनीहरूको धेरै चासो अहिले विदेश र सामाजिक सञ्जालतिरै छ ।

सिक्लेसबाट सुरु भयो हाम्रो यात्रा । यात्राका ११ जनाको समूहले यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा मनबहादुर दाइले हामीलाई ‘गाइड’ गर्नुभयो । सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयमा उहाँले हामीलाई जानकारी पनि गराउनुभयो । यात्रामा उहाँलाई पाउँदा हामी निकै लाभान्वित भयौँ । छ दशक अघि नै ‘सिक्लेस–तसा–कोरी रुट’ टोनी ह्यागनले पत्ता लगाएका रहेछन् । त्यसो त उनले नचिनाएको नेपाल र उनी नपुगेका यहाँका कुनाकाप्चा कमै होलान् । हामी ऐतिहासिक बाटो हिँड्दछौँ भन्ने लाग्यो । त्यस्तै आधाघन्टा हिँडेपछि ओरालो सुरु भयो खोलासम्म । खोला तरेपछिको उकालोले हामीलाई लगभग भोलिपल्ट साँझसम्म नै पछ्याउने पक्कापक्की थियो ।

बिस्तारै अघि बढ्यौँ ट्रेकिङका लागि । स्पोर्टस् जुत्ता कस्यौँ, हातमा लौरो । झोला बोक्न भने दुई जना भाइको प्रबन्ध गरेका थियौँ । वास्तवमा बँधुवा भैँसीका खुर पलाएझैँ पलाएको छ हामी सहरियाको पेट । खानपिन धेरै तर उठबस र हिँडडुल कम । त्यसैले सहरमा पुट्ट पेट ननिस्किएको मान्छे भेट्न मुस्किल पर्छ । ठुलो पेटलाई डाक्टर रोगको घर भनिरहेका छन्, थाहा छ । तर हामीहरू रोगको घरै बोकेर हिँड्ने धेरै छौँ । कम खान मान्दैनौँ अनि गाडी सुविधा पाए पनि कहिलेकाहीँ हिँड्नु पनि पर्छ भन्ने ठान्दैनौँ । आज पनि सिक्लेसको स्थानीय मासको दाल र स्थानीय चामलको स्वाद जिब्रोले छोड्न मानेन । सागको स्वादको त झन् कुरै भएन । टन्न खाएरै उकालो ताक्ने तयारीमा छौँ । तात्तातो घाममा तातो भातसँगै उकालो ।

तल ओर्लिएर मत्क्युँ खोला तरेपछि सुरु भयो तसाको उकालो । अब साथीहरूले ज्यानमा भएका कपडा खोल्न मिल्ने जति खोल्न थाले । समय १२ बजेकै आसपास, खोलाको खोँचमा अनि चौतर्फी पहाडकै पर्खाल । हावा खेल्ने ठाउँ छैन । जति आँखा च्यातेर हेर्‍यो, माथिसम्मै देखिन्छ नाकमै ठोक्किन आउने उकालो । यो कोरी पहाडको फेद हो । अब यहाँबाट करिब चार हजार मिटरको उकालो यात्रा तय गर्नुछ । आजको बास हो तसा । तसासम्मै उकालो पुग्नुपर्नेछ । माननीयलाई सोधेँ–दाइ कतै तेर्पायँ पनि छ कि यस्तै उकालो हो रु हाँस्नुभयो । लौ, उकालो सुरु भएकै छैन के को तेर्पायँ खोजेको रु एक लर्कन उकालोपछि नसानसाबाट बग्न थाले पसिनाका खोला । अब एक हातमा ज्याकेट र अर्को हातमा लौरो भयो । स्थानीय ङच खोलाबाट सिक्लेस हाइड्रोको पावर हाउसका लागि ल्याइएका पाइपको कहिले मुनि र कहिले माथि हुँदै उक्लियौँ । त्यस्तै साँझ साढे ५ बजेतिर पुग्यौँ तसा ।

तसामा बास

तसामा फोनबाटै होटल बुक गरेका थियौँ । त्यसैले बेलुका खाना र ओत पाइयो । सुत्न त उही हो सिङ्गल बेडका दुई खाटमा पाँच जना । सबै उत्तानो अटाउन गाह्रो, कोही कोल्टे पर्नुपर्ने । दालभात भने मिठै पाइयो । हामी त्यस्तै ४० जनजातिले रात बितायौँ । कोही टेन्ट त कोही छाप्रोमा । यहाँको होटल भनेको छाप्रो रहेछ । यसो ओत लाग्ने मेसोमात्र । धेरै त टेन्टमै रात बिताएका थिए आफैँले लगेको स्लिपिङ ब्यागमा । हामीले भने ओत पाएका थियौँ एउटा छाप्रोमा ।

ज्यान थाकेको थियो अनि ढिला भयो भने त्यही छाप्रो पनि नपाउने भएकाले साँझै त्यस्तै ७ बजेतिरै सुत्यौँ । सुतेदेखि नै एउटा कुराले बडो पिरोलिएको थियो भोलि बिहान चर्पी कसरी गर्ने भनेर । हामी त्यस्तै ४० जनाजति थियौँ तर चर्पी एउटै थियो । टसामा दुई वटा होटल रहेछन् अर्कोमा पनि हालत त्यस्तै । बिहान ३ः४५ बजेदेखि हामी उठ्न थाल्यौँ चर्पीका पिरले । बाहिर हिउँपर्ने तरखर छ, पानी जमेको छ । बल्लतल्ल ५ बजेसम्म काम सक्यौँ तर हिउँ पगालेको पानीले हात आफ्नै हो कि अर्काको छुट्याउन गाह्रो थियो । त्यहाँ सुतेका अरु निद्रामै थिए । कति त इन्तु न चिन्तु थिए हिजोको हिँडाइले । होटल नामको छाप्रोका वरपर, सिँढी, पिँडी, आँगन, बलेसी सबैतिरका टेन्टमा सुतिरहेका छन् ।

होटलवाला भाइलाई उठ्न र हाम्रो पैसा लिइदिन आग्रह गर्‍यो । भित्रैबाट आवाज आयो “राति १ बजेमात्र सुतेको एकछिन सुत्न दिनुस् न ।” हुन पनि सिक्लेसबाट बाटो लागेका तर हिँड्न नसकेकाहरु राति ११र१२ बजेसम्म नै होटल छिर्दै थिए । तिनलाई पनि खाना पकाएर त खुवाउनै पर्यो । फेरि हामीले भन्यौँ, भाइ उठ्नु न हामी चाँडै हिँड्नुपर्‍यो के पैसा लिइदिनुस् । फेरि भित्रबाटै आवाज आयो “दाइहरु अहिल्यै नजानोस् के अँध्यारो छ, माथि जङ्गलमा भालुले आक्रमण गर्छ ।”

त्यस्तै ५ः३० जति बजेको थियो । हिमाल उदाउँदै थियो । घामले रङ्ग्याएर रातो हुन भने बाँकी नै छ । यसोमाथि तिर हेर्दा अँध्यारै छ । जङ्गल हो, होइन छुट्याउन गाह्रै छ । तर हामी ११ जना भएकाले भालुले केही गर्दैन र मोबाइलको टर्च बालेर पनि जान्छौँ भन्नैमै छौँ । भाइ उठेर पैसा लिइदिएपछि हामी आजको आन्तिम गन्तव्य कोरी पहाडका लागि बाटो लाग्यौँ ।

बिहान सबेरैको समय, सफा मौसम । अनि प्रायः जङ्गलको बीचबाट कोरिएको नागबेली बाटो । उकालोको त कुरै भएन नाकमै ठोक्किन आउलाजस्तै । एकछिन हिँडेपछि विस्तारै उज्यालो भयो । अब माथि पहाडको उकालो आँखाले ठम्याउन सक्ने भयो । पारिबाट भर्खरै उदाएको घामले हिमाललाई चुम्न थालेको थियो । हामी जतिजति माथि चढ्दै थियौँ त्यति रातो घाम हिमाल चुचुरोबाट विस्तारै तल ओर्लंदै थियो । घामले बडो शिल्पी कालीगढले जस्तै रातो पोत्दै थियो हिमालमा । पहिला माछापुच्छ्रे र त्यसपछि अन्नपूर्ण हिमशृङ्खलाका चुचुरासँगै विस्तारै रङ्गिँदै थिए हिमाल ।

अब घामका राता किरण रुखका कापबाट तँछाडमछाड गर्दै छिरेर सडकमा पोखिने तरखर गर्दै थिए । आँखाले यो दृश्यको बडो रोमाञ्चक स्वाद लिइरहेको थियो । कतै चिरबिर चरा न्याउलीजस्तै बोल्दै थिए, ढुकुरको जोडीका आवाज सुनिँदै थियो । सायद गएरातिको समीक्षासँगै आज साँझसम्मको योजनाको सञ्चार उनीहरु गर्दै थिए । हामी पनि त्यसैमा थियौँ । हिजोको सुताइको समीक्षा गर्दै थियौँ र आज आज कोरी पहाडको टुप्पोमा पुगिएला भन्ने अनुमान लगाउँदै थियौँ ।

लाग्थ्यो, हामी कतै धर्तीकै स्वर्गमा छौँ । त्यसो त स्वर्ग कस्तो हुन्छ कसलाई के थाहा रु स्वर्ग देख्ने यहाँ कोही छैन । यदि छ भने त्यो देखेको फर्किएको छैन, यहाँ हुनेले देखेकै छैन । यत्ति हो, वातावरण निकै रमणीय र अहिलेसम्म देख्नै नदेखेको । यसैगरी जारी रह्यो यात्रा । हिजोको हिँडाइले कैँडा लागेका खुट्टा विस्तारै तङ्गिँदै थिए । जति अगाडि बढ्यो नयाँनयाँ दृश्यले मन तान्दै थियो । अब सडक छेउछाउतिरै आइपुगे घामका पाइला । अघि आँखाले लिएको घामको रसस्वादन अब शरीरले पनि गर्न थाल्यो ।

यतिञ्जेल हामी त्यस्तै दुई हजार पाँच सय मिटरबाट माथिको उकालोमा थियौँ । बिहानको समय, सेक्दै छ सिरेटो । तर विस्तारै शरीरमा छाएका घामका किरणले न्यानो अनुभव हुँदैछ । देब्रेपट्टी लमतन्न हिमाल र यसको छेल पार्दै खेल्ने रुखको लुकामारी । बडो रोमाञ्चक देखिँदैछ । कहिले हिमालले रुख त कहिले रुखले हिमाललाई छेक्दै थियो । लाग्छ हिमाल नयाँ बेहुलीझैँ लजाएर रुखको छेलमा लुक्न जान्छ, तर हामीले हिमाल चुचुरो चियाउन छोडेका छैनौँ ।

खुट्टालाई थकाइ लाग्थ्यो तर हासेको हिमाल देख्दा मन भित्रैदेखि हाँस्थ्यो । बडो प्रफुल्ल हुन्थ्यो आङ । त्यसपछि त थाकेर पछि लत्रिएका खुट्टामा ऊर्जा भरिन्थ्यो अनि अघिअघि सथ्र्यौं । सबैलाई त्यस्तै भएको अनुभव सुनाउँथे यात्राका साथीहरु । मलाई लाग्छ आफ्नै घरआँगनबाट हिमाल हासेको देख्न पाउने विश्वका धेरै कम भाग्यमानीमा पर्छौं हामी नेपाली ।

यतिखेर मैले मेरो बाल्यकाल सम्झिएँ । म सुत्ने बार्दलीतिरै फर्किएर सधैँ हाँस्थ्यो माछापुच्छ्रे र धौलागिरि हिमाल । झुल्के घामसँगै उठाउँथ्यो मलाई पनि सुनको हिमालले । सबेरैको रातो घामले सबैभन्दा पहिला माछापुच्छ्रे हिमालको माछाको पुच्छरलाई चुम्थ्यो र विस्तारै धौलागिरि हुँदै अरु हिमशृङ्खलातर्फ सर्दै जान्थ्यो । त्यसपछि सबै हिमाललाई राताम्मे पाथ्र्यो । घाम र हिमालको यो लुकामारी आँखासम्मको मुन्टोमात्र सिरकबाट बाहिर निकालेर चियाउथेँ मैले । त्यसैले दिनभर यही हिमालजस्तै स्वर्णमयी बन्थे मेरो बाल्यकालका हरेक बिहानी । मलाई यही हरेक बिहानीले दिउँसो देखाउँथे र दिनभरका लागि ऊर्जा भर्थे ।

त्यहीे हिमालको साइनो आज गाँस्दै थिएँ म । किनकी नाक ठोक्किने उकालो काट्ने ऊर्जा आज यही हिमाल पस्किँदै छ । ती दिनजस्तै आज पनि हिमालले हाँसेर तान्दै छ र उसको फेदफेदबाटै शिरतिर सर्ने साहस दिएको छ । हिमाल छुने आशाले अघि बढ्दैछन् पाइला । माछापुच्छ«े र अन्नपूर्ण हिमशृङ्खलाको फेदबाट आफ्नो यात्रा तय गरिरहेका छौँ हामी । एकाध पाइला चालेपछि हिमालतर्फ फर्किहाल्छौँ र हेर्छौं कतै हिमालको स्वरुप फेरियो कि भनेर ।

माननीय अघिअघि र त्यसपछि हुनुहुन्छ चन्द्र ढकाल दाइ । उहाँहरु हिँड्नेमा पर्नुहुन्छ, हामी पछ्याउनेमा । चन्द्र दाइको हिँडाइ देखेर अरुजस्तै म पनि छक्क पर्दैछु । काठमाडौँको व्यस्त जीवन, सुविधा आदि । यी सबका बाबजुद पनि उहाँले हिँड्ने अभ्यासलाई कसरी कायम राख्न सकेको रु मनबहादुर दाइ त यहीँको माननीय, सहरभन्दा गाउँबस्ती बढी चाहार्ने । तर चन्द्र दाइले उहाँलाई पछ्याउँदै हुनुहुन्छ । त्यसपछि गोकुलजी, रुद्रजी, दिवाकरजी र होमजी । भीमदाइ छवि जी र म पछाडि छौँ, उहाँहरुलाई पछ्याइरहेकै छौँ । प्रस्तावित अन्नपूर्ण सिक्लेस केबलकारको ‘अलाइन्मेन्ट’ पनि यही पदमार्गको माथिपट्टि पर्दोरहेछ । यो हेर्ने र भित्रभित्रै ‘बिजनेस मोडल’ बनाउने काम पनि छ चन्द्र दाइको । यो काम भ्याएर पनि हिँड्न उछिन्नुभएको छ हामीलाई । तर प्रस्तावित बटम स्टेसनमा पुगेर केही मिनेट अवलोकनबाहेक यसपालि उहाँको पनि हिँड्ने नै छ योजना ।

यो टे«किङ त्यस्तै ६० वर्षअघि टोनी ह्यागनले नै हिँड्नुभएको रहेछ । सिक्लेस, मत्क्युँ, टँरा, रबरो, तसा, च्योबिने, चिगा, तिँजे, तासा हुँदै कोरी पहाड र यो हुँदै मनाङसम्मै । कोरी पहाडभन्दा पारिपट्टि अझै रमाइलो छ रे । त्यसपछि आउने मिजे, फुलुँ, ठूल्ने, थुर्पु, दूधपोखरी, नामुने भञ्ज्याङ अनि डाँफेखर्क हुँदै मनाङ पुगिने रहेछ । नामुने भञ्ज्याङ अहिलेको नक्साअनुसार कास्की, लमजुङ र मनाङको सिमानामा पर्दछ । डाँफेखर्क चाहिँ मनाङमै पर्छ । तर यसपालि भने हामी कोरीसम्म मात्रै पुग्यौँ ।

कोरीको थाप्लैमा हिमाल

त्यस्तै दिउँसो ४ बजेतिर पुग्यौँ कोरी । बिहान साढे ५ बजेदेखिको हिँडाइ र पहाडसम्म पुग्ने नपुग्ने त्रासका बीच यहाँ पुग्दा सगरमाथामै पुगेको अनुभूति भयो । यस्तै भन्दैथिए साथीहरु । मलाई पनि माइला दाइको नमस्ते गेष्ट हाउस पुगेपछि युद्ध जितेकै अनुभव भयो । भोकप्यास त छँदैछ । बिहान बोकेको पानी सक्कियो, बाटोमा पानीको स्रोत छैन । प्याकप्याकी परेको ज्यानले अब आराम पाउने भयो । बिहान तसाबाट बाटो लागेकाहरु अब विस्तारै होटल प्रवेश गर्दैछन् । फोन त प्रायः लाग्दैन तर तसा कोरीका व्यवसायीको सम्पर्क भयो होला ठूलो डेक्चीमा भात र दाल पाकेको थियो । त्यो देखेर झन भोक जाग्यो, खान तयार भयौँ ।

अब झण्डै माइनस तापक्रममा आइपुगेका छौँ । थालमा मुछेको भात मुखसम्म लैजाँदै कठ्याङ्ग्रिइहाल्ने, कस्तो अचम्म १ तात्तातौ भात खाने लाइनमा बस्यौँ । तरकारी त उही हो– न्युट्रेला । न्युट्रेलाले टारेको केही छाक भयो । मैले सोधेँ– किन हो जहाँ पनि यही तरकारी छ त भाइ रु हामी बसेको होटलका कुकले भने “हरियो परियो त कहाँ पाउनु दाइ रु बाटो छैन । न गाडी न घोडा–खच्चड । हेलीमा ल्याउनुपर्ने तरकारी किलोकै सयौँ रुपैयाँ भाडा पर्छ । हलुका र सस्तो यही पर्छ । केही बोरा ल्यायो राख्यो । सधैँ यही हो ।”

खाइसकेपछि अब सुत्ने समस्या । बेलैमा ओछ्याउन नओगटे पछि पाइँदैन । नत्र आज पनि तसाबाट बाटो लागेका कैयौँ मानिसले यही छाप्रो पनि भरिनेवाला छ । खाट त के ओत पाउनै गाह्रो छ । साँझको रातो हिमाल यसो हेर्यौँ र बिहान झुल्के घामको हिमाल हेर्ने आशामा सुत्यौँ । रातिसम्म त्यस्तै ५० जना पुगे होटलमा । सबैका हिँडाइ अनुभव अलिअलि सुन्दासुन्दै राति नै भएछ ।

स्लिपिङ ब्यागभित्र लुट्पुटिएका थियौँ । आज पनि उही साना दुई खाटमा पाँच जना । राति त्यस्तै १२ बजेतिर होटलको एकजना भाइ आएर भन्यो, “दाइहरु यसरी उत्तानो परेर सुतेर कहाँ हुन्छ रु यहाँ अरु दुई जना अटाउनु छ, सुत्न नपाएर मान्छे बाहिर बसिराछन् ।” कस्तो रमाइलो रु निकै हास्यौँ । भाइको आसयले कोल्टे परेर सुत्नु भन्यो । उसको व्यवस्थापन अनुसार हामी सबैजना कोल्टे परेर सुते त्यहाँ उसले थप दुई जना अटाउन सक्थ्यो । चन्द्र दाइले पनि सुन्नुभएछ, स्लिपिङ ब्यागभित्रैबाट हास्नुभयो । मलाई भने दुई पटक हासो उठ्यो । पहिलो उसको व्यवस्थापन सुनेर अनि अर्को कारण थियो त्यो भाइले अरबपतिलाई पनि आज कोल्टे पारेर सुताउने भयो ।

सुत्न त्यस्तै भए पनि बडो रोमाञ्चक रह्यो राति । हाम्रो टिमका ११ जना एउटै केठामा सुतेका थियौँ । भूइँ र सबैतिर स्लिपिङ ब्यागमा मानिसहरु पल्टिएका छन् । राति चर्पी लागे बाहिर निस्कने बाटो छैन । तर यतिका धेरै मानिस एउटै हलमा सुत्दा पनि मोजा, सास, शरीर केही गन्हाएको थाहा छैन । सायद चिसोकै करामत होला ।

एकाबिहानै सुनको हिमालले सबैलाई स्वागत गरेपछि भने रातिको सबै गाह्रोसाँगुरो सबैले बिर्सिए । होटलवाला उठेकै थिएनन् । हिउँ जमेको पानीले मुख धुन सकिने कुरा भएन । तातोपानी खानमात्र दिन्छ, मुख धुन दिँदैन । रातो हिमालसँग वार्तालाप सुरुभयो । सबै झुम्मिन थाल्यौँ । विभिन्न कोणका तस्बिर लिन सबैका मोबाइल व्यस्त थिए । कोही अझ माथि पहाड चढ्दै र कोही होटल वरपरको चौरबाट हिमाललाई मोबाइलमा कैद गर्न थाले । माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खलाका विभिन्न हिमाल र लमजुङ हिमाल यहाँबाट आकर्षक र नजिक देखिने । लमजुङ हिमालको नामकरण त्यस्तै २०३० सालतिर हर्क गुरुङले गर्नुभएको रे ।

तिहारको टीका लगाएर त्यसैदिन काठमाडौँबाट बाटो लागेका हामी त्यस दिन पोखरा बास बस्यौँ । त्यसको भोलिपल्ट सिक्लेसहुँदै तसा र पर्सिपल्ट कोरि पहाड पुग्यौँ । कोरि पहाड करिब तीन हजार नौ सय मिटर उचाइ हो । वास्तवमा हिमाल फेदैमा पुग्ने यो अत्यन्त छोटो र सजिलो रुट रहेछ । तर अब यहाँ बन्ने केबुलकारपछि कोरीमा स्तरीय होटल भयो भने यहाँबाट यो रुट भएर मनाङसम्म पुग्न सक्छन् । अहिले यहाँ होटल छैनन् अनि कोरी बास बसेर मनाङ पुग्नसक्ने अवस्था पनि छैन ।

पोखराबाट ३५ किलोमिटर सिक्लेस अहिले पनि मोटरमा जान सकिन्छ । भोलि त प्रस्तावित अन्नपूर्ण सिक्लेस केबलकार ९६।५ किमी० कोरी पहाडसम्मै पुग्दा भने हिमालको फेदैमा पुगिन्छ । यति छोटो बाटोबाट हिमाल पुग्ने सायदै अर्को कुनै रुट भेटिएला नेपालमा । त्यसपछि कोरी त छँदैछ, कोरीपारिको पर्यटनमा पनि थप टेवा पुग्नेछ । मानिसहरु भोलि यही बाटो मनाङ जान सहज हुनेछ । टोनी ह्यागनले आफ्नो संस्मरणमा यो रुटलाई एक अलौकिक नेपाल भनेर व्याख्या गरेको भए पनि बीचमा पर्यटकीय पूर्वाधार र विशेष गरी बस्ने होटलको अभावमा यो रुट त्यति प्रचलनमा आउन सकेन । अहिले कोरी र तसामा लाग्ने भिड पनि आन्तरिक पर्यटकहरुको हो । व्यवस्थित होटल नभएकाले विदेशी पर्यटक यहाँ जान चाहेर पनि सकेका छैनन् । तसा हुँदै कोरी पुगेर बास बस्ने अनि फर्किंदा अर्को रुट भएर क्याफुचे ताल हेर्दै फर्किने गर्दा ट्रेकिङको खास आनन्द आउँछ । तर त्यसका लागि कोरीमै पर्यटकीय पूर्वाधारहरु बन्नु आवश्यक छ । कोरीमा होटल बन्न सक्यो भने यो नयाँ रुटमा जान स्वदेशी र विदेशी पर्यटक लालायित हुनेछन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१४४ वर्षपछि अछामको वैद्यनाथ धाममा कोटिहोम लाग्दै

काठमाडौँ । अछामको साफेबगर नगरपालिका९१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन्

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर…

चितवन । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ

१८औँ सौराहा फुड फेस्टिबल शुरु

काठमाडौँ । चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर १८औँ सौराहा फुड फेस्टिबल शुरु भएको छ । महोत्सवमा विविध परिकारसँगै मनोरञ्जनलगायत

टानले संयुक्तरूपमा ल्होसार पर्व मनाउने

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले संयुक्तरूपमा ल्होसार पर्व मनाउने भएको छ। पर्वतीय

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा

आन्तरिक पर्यटकको गन्तव्य बन्दै रत्नेचौर

गलेश्वर (म्याग्दी) । म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि

Techie IT