Techie IT
२०८२ भदौ ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठपर्यटननेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने

नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने


काठमाडौँ। नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ। ‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ आगामी माघ ४ र ५ (जनवरी १८ र १९ तारिख) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपाल, पहिचान फाउन्डेसन र गोर्खा इन्टरनेशन रेन्बोले बोर्डमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन प्रवर्द्धनका लागि सम्मेलन गर्न लागेको जानकारी दिए।

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन लागेको जानकारी दिइन्। सम्मेलनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिने उनले बताइन्।

दक्षिण एसियामा पहिलो इन्द्रेणी विवाह दर्ता गरेका मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डेले पर्यटन सम्मेलनले समुदायका सदस्यलाई रोजगारी सिर्जना गर्ने आशा व्यक्त गरे। माया र सुरेन्द्र १३ मङ्सिर २०८० मा लामो कानुनी लडाइँको प्रक्रिया पछि आफ्नो विवाहलाई आधिकारिक रूपमा मान्यता दिने नेपालको पहिलो समलिङ्गी जोडी बनेका छन्।

उनीहरूको विवाहले कानुनी रूपमा मान्यता प्राप्त गर्दा नेपाल समलिङ्गी विवाहमा दक्षिण एसियामा पहिलो देश बनेको छ। अहिले नेपालको नाम विश्वभर फैलिएको छ। यही मौकामा नेपालमा एलजीबीटीआई अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन लागेको हो।

कानुनी रूपमा विवाह दर्ता हुनुलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकको अधिकारमा कोसे ढुङ्गाकै रूपमा लिइएको छ। २१ औँ शताब्दीमा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारमा उल्लेखनीय विकास भएको छ। नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको अधिकारलाई मौलिक अधिकारका रूपमा मान्यता दिएको छ।

अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनको अवधारण एसियाका पहिलो समलिङ्गी सांसद सुनिलबाबु पन्तले ल्याएका हुन्। पन्त जकार्ता सिद्धान्तलाई एकीकरण गर्ने बैठकमा २७ विज्ञहरू मध्ये एक थिए।

पहिलो विवाह दर्ता पछि नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि च्याम्पियन मानिन्छ। समावेशिता र विविधतालाई प्रवर्द्धन गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन कार्यक्रमहरूले विविध यौन झुकाव र लैङ्गिक पहिचान भएका व्यक्तिहरूका लागि सुरक्षित र स्वागत योग्य ठाउँ सिर्जना गर्ने पन्तले बताए।

यी कार्यक्रमहरूले पर्यटन, स्थानीय प्रतिष्ठानहरूको लागि व्यापार वृद्धि, र रोजगारीका अवसरहरू मार्फत स्थानीय अर्थतन्त्रलाई बढवा दिने पन्तले बताए। ‘यो सकारात्मक परिवर्तन सिर्जना गर्ने र थप समावेशी र स्वीकार्य समाज निर्माण गर्ने अवसर हो’ पन्तले भने।

सम्मेलनलाई भव्यताका साथ सफल बनाउन सबै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई आफ्नो समर्थन र ऐक्यबद्धता देखाउन पन्तले अनुरोध गरेका छन्। पन्तले सम्मेलनले यो समुदायको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए।

नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकार प्राप्त भएको भन्दै अब आर्थिक र पर्यटकीय रूपमा अघि बढ्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने पन्तले बताए।

छिमेकी देशहरू भारत र चीनमा अधिकार नपाएको अवस्थामा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विवाह दर्ता समेत भएको अवस्थामा नेपालले फाइदा लिन सक्ने पन्तले बताए। यो समुदायका व्यक्तिहरूलाई पर्यटनसँग जोडेर अघि बढ्न सके अर्थतन्त्रमा नै ठुलो परिवर्तन आउने उनको भनाइ छ।

युरोपियन मुलुक स्पेनमा यो समुदायलाई लक्षित गरेर काम गर्दा अर्थतन्त्रमा २० प्रतिशत सम्मको सहयोग पुगेको अध्ययनले देखाएको पन्तले जानकारी दिए। यो सम्मेलनमा विदेशीले पनि सहयोग गर्ने बताएको उनले जानकारी दिए। कार्यक्रममा विदेशका ५० जना र नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सहभागिता रहने उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोलाले यो समुदायलाई पर्यटन क्षेत्रसँग जोड्न सकिए बेरोजगार भएर सडकमा उभिनु पर्ने अवस्था नआउने बताए। गोर्खा ट्राभलका सिइओ सुशील पन्तले नेपालमा यसको सम्भावना निकै उच्च रहेको बताए।

‘खुसीको यात्रा’ नारा सहित हुन लागेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन प्रवर्द्धन सम्मेलनले नेपालमा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। पर्यटन सम्मेलनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा आशाको सञ्चार गर्ने अभियन्ता सनरोज मास्केको भनाई थियो।

पर्यटन सम्मेलनको एसोसिएट पार्टनर पर्यटन बोर्ड रहेको छ। मिडिया पार्टनर पहिचान डटकम, अन्तर्राष्ट्रिय विकास साझेदारमा विश्व बैङ्क र लजिष्टिक पार्टनरमा गोर्खा इन्टरनेशनल ट्राभल रहेको छ।

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले पर्यटन सम्मेलन मार्फत समुदायका सदस्यको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग विविध सीप रहेको र त्यसलाई सदुपयोग गर्न पर्यटन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

Techie IT